खाना लिएर प्रहरी सडकमाः भाेकाएकाहरू भन्छन्- ‘प्रहरीको पनि मन हुँदोरहेछ’

  • सुजता निङ्लेकु

विराटनगर । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम गर्न लकडाउन कार्यान्वयनमा आएसँगै सडकमा नै जीवन व्यतित गर्नेहरुका लागि कष्टकर बन्दै आएको छ ।

मुलुक लकडाउनको ४४ औँ दिनमा आइपुग्दा दैनिक ज्याला मजदुरी गर्ने साथै सडकमा नै जीवन व्यतित गर्नेहरुको अवस्थालाई मध्यनजर गर्दै विराटनगरका युवाहरुले दैनिक बिहान र बेलुका निःशुल्क खाना खुवाउँदै आइरहेका छन् ।

निःशुल्क खाना खुवाउने अभियानको ३४ दिन आइपुग्दा मोरङ प्रहरीले पनि साथ दिएको छ । बिहान र बेलुका खाना खुवाउने युवाहरुको हौसला बढाउन साथै प्रोत्साहनका लागि मोरङ प्रहरी प्रमुख विश्व अधिकारी युवाहरुसँगै आइतबार बेलुका सडकमा पुगेका थिए ।

कुन बेला साँझ पर्छ र मोटरसाइकलको हर्न बजाउँदै खाना लिएर आउलान् भाइ भन्दै कुरिरहन्छौँ, ४१ वर्षिय प्रेम विश्वकर्मा भन्छन् । उनी सडकमा नै सुत्छन् । लकडाउन अगाडी कवाडी उठाएर दैनिकी चलिरहेको लकडाउनले त्यो पनि बन्द भएको उनले सुनाए ।

उर्लाबारीदेखि घर परिवार छोडेर विराटनगर आएको उनले बताए । उनी भन्छन्, ‘घर परिवार सधैँको किचलो भन्दा त सडक, सडकमा भेटिएका मान्छे अनि फोहोर नै राम्रो लाग्छ अनि यी खाना खुवाउने भाईहरु भगवान हुन् ।’

लकडाउनको कयौँ दिनसम्म भोकै बसेको नमिठो कथा पनि छ उनीसँग,  जब निःशुल्क खाना खुवाउने अभियान सुरु भयो उनी भन्छन् हाम्रा लागि त भगवान नै प्रकट भएको छ ।

प्रेमको जस्तै विष्णु भुजेलको पनि आफ्नै कथा छ काने पोखरीबाट ४ वर्षदेखि घरपरिवार छोडेर विराटनगर आएको उनले सुनाए । सडकमा नै उनी दिन रात बिताउँछन् । सडकको फोहोर उठाएर हातमुख जोड्ने मेलो पनि लकडाउनले बन्द भएर कति दिन भोकभोकै सुतेको अनुभव उनले सुनाए । उनले भने, ‘लकडाउनको बेला सडकको पेटीबाट नै प्रहरीले लखेट्ने गर्थे तर आज प्रहरीले खाना दिँदा प्रहरीको पनि मन हुँदोरहेछ भन्ने लागेको छ ।’

सडकमा नै जीवन व्यतित गर्ने कोही पनि मानिस भोकै नरहोस् भन्ने उद्देश्यले साँझको खाना खुवाउन सुरु गरेको ४४ दिन बितिसक्दा पनि प्रहरी प्रमुख विश्व अधिकारीको साथले थप हौसला बढेको कृशल आलेले बताए । उनका अनुसार सात जनाको युवाहरु मिलेर सडकमा बसेर ज्याला मजदुरी गर्नेहरुका लागि खाना खुवाउने गरेका छन् ।

उनीहरु कलेजमा अध्ययनरत विद्यार्थीहरु हुन् । खाली समय समाजको लागि केहि गर्नुपर्छ भन्ने उद्देश्यका साथ सामाजिक अभियान्ता ओसिम आलम, पेरिस सुवेदीको साथमा रहेर काम गरेको आलेले बताए । कृशल आले मगरको नेतृत्वमा रोनिश लामा, विवेक श्रेष्ठ, मनोज घिमिरे, सनिश गोपाली, विशान्त श्रेष्ठ लगायतका युवाहरुको सक्रियतामा साँझको खाना खुवाउँदै आइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *