यी व्यवसायीले आफ्ना ट्वीटर फलोअर्सलाई बाँड्दै छन् १ अर्ब

पुस २६, काठमाडौं । जापानका अर्बपती युसाकू मिजावा ट्वीटरमा उनलाई फलो गर्नेलाई ९० लाख डलर (करिब १ अर्ब रुपैयाँ) रकम बाँड्ने घोषणा गरेका छन् ।   

उनले यसलाई एक सामाजिक प्रयोग बताएका छन् । उनी भन्छन्, ‘म हेर्न चाहन्छु कि पैसाले खुशीमा कस्तो असर पुर्याउँछ ।’ 

यो रकम ती मानिसहरुलाई बाँडिनेछ जसले नयाँ वर्षको मौका पारेर युसाकूले गरेको ट्वीटलाई रिट्वीट गरेका थिए । यिनै फलोअर्समध्ये एक हजार प्रयोगकर्तालाई छानेर पैसा बाँडिनेछ ।   

मिजावाले आफ्नो पैसाले मानिसको जीवनमा कस्तो असर पार्छ भनेर जान्न चाहेको बताए । नियमित अन्तरालमा गरिने सर्वेक्षणको आधारमा आफूले यसबारे पत्ता लगाउने पनि उनले बताएका छन् । 

व्यापारी मिजावाले सन् २०१० मा ट्वीटर जोइन गरेका थिए । अहिले उनका ६.९ मिलियन फलोअर्स छन् । ४३ वर्षका यी व्यापारी केही समयअघि आफ्नी श्रीमती आयमे गोरिकासँग अलग्गिएका कारण चर्चामा आएका थिए । यसको जानकारी उनले ट्वीटरमा दिएका थिए । त्यतिबेला उनका ७० लाख फलोअर्स बढेका थिए । मिजावाको नीजि सम्पत्ति दुई अर्ब डलरको छ । 

मिजावा आफ्नो यो प्रयोगलाई न्यूनतम आधारभूत आम्दानीको रुपमा हेरिरहेका छन् । यो प्रयोगको उद्देश्य मानिसहरुलाई कुनै काम गरे बिना नै निश्चित रकम दिनु हो ।   

जर्मनीसमेत विश्वका केही देशमा यसको प्रयोग पनि गरिएको छ । उनी जापानमा यो मुद्दामा ठूलो बहस चाहन्छन् । मिजावाले आफूसँग पैसा भएको र पैसा बाँड्नका लागि खाली समय भएको बताएका छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *