ग्रामीण पर्यटनः घरवास

 

ग्रामीण भेगलाई पर्यटनमा जोड्ने सर्वत्र प्रयास भइरहेको देखिन्छ । पर्यटनका लागि आधुनिक वातावरण मात्र नभएर, गाउले परिवेश पनि महत्वपूर्ण हुन्छ भन्ने भावनाको विकास भएको पाइन्छ । गाउले परिवेशमा रमाउने माध्यम घरवास बनेको छ । जहाँ पर्यटकहरुले गाउलेसँगै बसेर गाउको वातावरणमा रमाउने अवसर प्राप्त गर्दछन् । 

नेपालमा घरवास अर्थात् होमस्टेको सुरुवात वि.सं. २०५४ सालदेखि सिरुबारीबाट भएको हो । यसभन्दा पहिले पनि पाहुनालाई सःशुल्क राख्ने व्यवस्था गरिएतापनि होमस्टेको नामाकरण भने गरिएको थिएन । 

null

अहिले देशका विभिन्न स्थानहरुमा होमस्टेको सञ्चालन भइरहेका छन् । यस्तै सुनसरीमा खोर्सानेखाप, प्रकाशपुर एवम् पछिल्लो समय धरानमा यसको सञ्चालन भइरहेको छ । होमस्टे पर्यटनको एक अंङ्ग हो । 

स्थानीय व्यक्तिले आफ्नो घरमा पर्यटकका लागि आतिथ्यता गर्नु आफूजस्तै बस्न, खान एवम् संस्कृति बुझ्न चाँजो मिलाएर आफ्नै घरमा तयार पारिएर राखिएका कोठालाई होमस्टे भनिन्छ । होमस्टेको मुख्य मर्म ग्रामीण रहनसहन एवम् मौलिकतालाई जगेर्ना गर्न प्रेरित गर्नु हो । फरक स्थानबाट आगन्तुकहरु मौलिकताको स्वाद चाख्न गाउँमा आइ होमस्टेमा बस्छन् । होमस्टे आर्थिक उपार्जनको दरिलो माध्यम हो । जहाँ पाहुनालाई सःशूल्क सत्कार गरिन्छ । 

 

होमस्टे सञ्चालकलाई ‘होस्ट’ अर्थात् आयोजक भनिन्छ । जसले आफूकहाँ आएको पाहुनालाई खानपान, वसोवास, आफ्नो स्थानको बारेमा जानकारी दिने, सांस्कृतिक एवम् दैनिक क्रियाकलापको अवलोकन लगायतका प्रबन्ध मिलाउने कार्य गर्दछ । यसले सामाजिक, सांस्कृतिक र आर्थिक प्रभाव पारेको हुन्छ । 

होमस्टेमा आएर बस्ने पाहुनाले सुबिधाअनुसार शुल्क खर्च गर्दछ भने आयोजकले व्यवस्थापन गरी अर्थाेपार्जन गर्ने अवसर प्राप्त गर्छ । नयाँँ संस्कार संस्कृतिका विषयमा पाहुनालाई चासो हुन्छ । 

होमस्टेमा आएर बस्ने प्रायः जसो सामाजिक, सांस्कृतिक गतिविधि एवम् उक्त स्थानको विषयमा ज्ञानोपार्जन गर्ने अपेक्षाले आएका हुन्छन् । जसलाई जगेर्ना गर्न आयोजकलाई प्रेरित गर्दछ । 

भिन्न स्थान वा संस्कृतिबाट आएका पर्यटकलाई स्थानीय रहनसहन, व्यवहार, चालचलन, कला, संस्कृति, खानपान एवम् स्थानीय परिवेशको स्वाद दिन र बुझाउनका लागि होमस्टे आवश्यक छ । होमस्टे सामाजिक, सांस्कृतिक सिक्ने पाठशाला पनि हो । 

 

नेपालमा पर्यटनको आगमन सन् १८०० को दशकबाट भएको पाइन्छ । त्यस बेला पर्यटनको नामले भन्दा पनि तीर्थयात्रा वा व्यापारिक यात्राको नामले प्रचलित थियो । विभिन्न स्थानबाट मानिसहरु धर्म प्रचार गर्न वा व्यापारिक प्रयोजनका लागि आउने गरेको इतिहास भेटिन्छ । 

सन् १९५३ को दशकमा नेपाल सगरमाथाको देश भनेर चिनिन थाल्यो । त्यसपछि साहसिक पर्यटकको आवागमन हुने क्रम बढ्यो । पाहुनाहरु लामो समयका लागि आउन थालेपछि उनीहरुका लागि भनेर बसोवासको प्रबन्ध मिलाउन थालियो । साना–ठूला होटेल, लजको स्थापना भए । होटल नभएका स्थानमा घरमै वास दिने गरिन्थ्यो । त्यसबेलादेखि नै आगन्तुकलाई वसोवासको सेवा दिने चलन चलेको थियो । 

विं.सं. २०६७ सालमा सरकारले होमस्टे कार्यबिधि ल्याएपछि यसप्रति चासो जागेको देखिन्छ । त्यसबेलादेखि जनतालाई होमस्टे सञ्चालनमा आकर्षित गर्न चेतना फैलाउने कार्यहरु भए । पर्यटनमा ग्रामीण भेगलाई संलग्न गराउन कदमहरु चालिन थाले । यसले होमस्टेप्रतिको मोह जगायो । 

हरेक चिजको दुई वटा पाटाहरु हुन्छन् । सकारात्मक पक्ष र नकारात्मक पक्ष । सकारात्मक गुणलाई गुणा गर्दै जानुपर्छ भने नकारात्मक गुणलाई भागा गर्दै जानु उपयुक्त हुन्छ । होमस्टेका थुप्रै फाइदाहरु छन् । यसका बाबजुद पनि केही अध्यारा पाटाहरु छन् । यसको विषयमा छलफल गरिनु पर्दछ । 

सकारात्मक पक्षलाई मात्र आत्मसात् गरी नकारात्मक पक्षलाई वेवास्ता गरेको खण्डमा यसले दुर्घटना पनि निम्त्याउन सक्छ । यसैले नकारात्मक पक्षलाई न्यूनिकरण गर्दै अघि बढ्न सके दिगो पर्यटनको सपना साकार हुन्छ । बुँदागत रुपमा होमस्टेका दुइ पक्षका विषयमा चर्चा गरौं । 

 

रोजगारको सिर्जना गराउँछ । आर्थिक स्रोत बढ्छ । जीवनस्तर उस्किन्छ । संस्कृति जगेर्नामा चासो जाग्छ । संस्कृति फिजिने मौका हुन्छ । पलायन हुनबाट रोक्छ । स्थानीय चिजको प्रयोग हुन्छ । भाइचारा सम्बन्धको विकास हुन्छ । सूचना र प्रबिधिमा अद्यावधिक (अपडेट) हुने मौका मिल्छ । ग्रामीण भेगको संलग्नता बढ्छ । स्थानीय उत्पादनमा बढोत्तरी हुन्छ । स्थानीय चिजले बजार भाउ पाउछ । 

अपराधिक घटना घट्न सक्छ ।अप्रत्याशित महंङ्गी बढ्न सक्छ । लागुऔषधको सम्भावना हुन्छ । सांस्कृतिक विचलन आउन सक्छ । महिला वा बच्चाहरुमा श्रम शोषण हुनसक्छ । यौनजन्य क्रियाकलापले प्रश्रय पाउन सक्छ । 

यी माथिका बुँदा प्रतिनिधित्व मात्र हुन् । यसको विषयमा छलफल चलाएमा अन्य थुप्रै सकारात्मक र नकारात्मक बुँदा थपिन सक्छ । सकारात्मक पक्षले काम गर्ने हौसला प्राप्त हुन्छ । नकारात्मक पक्षले सच्चिने मौका दिन्छ । यसैले हामीले यी विषयमा चर्चा गर्नु भने हिच्किचाउनु हुँदैन । 

नकारात्मक पक्षहरु रहेछ भनेर हात बाँधेर बस्नु मुनासिव होइन । सकारात्मक पक्षलाई उजागर गर्दै नकारात्मक पक्षलाई न्यूनिकरण गर्न चाहि डगमगाउनु हुँदैन । यसलाई स्वस्थ्यकर बनाइ राख्नका लागि मौलिकतालाई जोगाइ राख्नुपर्छ । स्थानीय चिजको अधिकतम प्रयोग गर्नुपर्छ । बाह्य प्रभावलाई भित्र्न दिनु हुन्न । 

होमस्टेमा आउने पाहुनाको पाश्र्वचित्र बुझ्नुपर्छ । उनीहरुको मनोभावना बुझि कदम चाल्नुपर्छ । अनि मात्र होमस्टेको उद्देश्यअनुसारको सफलता प्राप्ति हुन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *