आर्थिक शशक्तिकरणका अगुवा जसले १२ वर्ष अघि नै अहिलेकाे दृश्य देखेका थिए

  

 

थारु समुदायलाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा अगाडी बढाउने ब्यक्तित्वको रुपमा लिइन्छ स्वर्गिय दिनेश चौधरीलाई । 

null

२०२४ बैशाख २ गते दाङ जिल्लाको सोनपुरमा जन्मनु भएका स्व. दिनेश चौधरी सानै उमेरदेखि समाजसेवा, जातीय पहिचान र कला संस्कृति प्रति असाध्यै रुचि राख्ने गर्नुहुन्थ्यो । आर्थिक रुपमा उहाँको परिवारलाई खान लाउन दुखः थिएन भने, गाउँघरमा समेत दिनदुखीहरुको सेवाका लागि उहाँका परिवार चीरपरिचित थियो । त्यत्ति बेलाको समय उहाँको परिवार र बुबाले गाउँघरतिर विद्यालयलाई निःशुल्क जग्गा दान दिनेदेखि गरिब दुखीहरुको सेवामा ठूला काम गर्नुभएको थियो । दिनेश चौधरीमा पनि बुबाको छाप पर्यो । 

विद्यालय शिक्षा हासिल गर्दै जाँदा उहाँमा समाजसेवाको भावना अंकुराउँदै गयो । पछि उच्च शिक्षाका लागि राजधानी छिरेपछी शिक्षासँगै राजनीति र समाजसेवा प्रति अझ गरिहिएर लाग्नु भयो । 

जातिय पहिचान र थारु कला संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्नेमा उहाँको ठूलो चासो थियो । त्यसकै लागि साथीहरुसँग मिलेर उहाँले थारु सांस्कृतिक समाजको स्थापना गर्नुभयो । पूर्वमेची देखि पश्चिम महाकाली सम्म फैलिएर रहेका थारुहरुको कला संस्कृतिको संरक्षण र उत्थानमा सक्रिय हुनुभयो । गाउँगाउँ गएर थारु समुदायको आर्थिक, सामाजिक तथा साँस्कृतिक अवस्थाको अध्ययन र अनुसन्धान गर्नु भयो । बैवाहिक जिवनमा प्रवेश गरेपछि पनि उहाँले परिवारलाई भन्दा आफ्नो जाति, धर्म संस्कृति संरक्षण र आर्थिक शशक्तिकरणको मुद्दालाई प्राथमिकतामा राख्नुभयो । घरपरिवारलाई कुशल नेतृत्व प्रदान गर्दै समाज रुपान्तरणमा समर्पित गर्नुभयो । 

मुलुकमा शशष्त्र द्वन्द्वले जरो गाडेको थियो । तराईका क्षेत्रमा पनि जनयुद्धको राप थियो । राजनीतिक अधिकार र धर्म संस्कृति र परम्पराका नाममा सामाजिक विभेद थियो । यस्तो अवस्थामा स्व. दिनेश चौधरीले तराईमा विद्यमान कमैया प्रथा, हली प्रथाका विरुद्ध समेत चेतना फैलाउने कार्य गर्नुभयो । 

समाज रुपान्तरणमा महिलाहरुको भूमिका महत्वपूर्ण हुन्छ र, महिलालाई आर्थिक रुपमा बलियो बनाउन सके महिला हिंसाको अन्त्य हुन्छ नै, सामाजिक सुधार पनि हुन्छ भनेर उहाँले फरवार्ड नेपाल नामक संस्था स्थापना गरेर सामाजिक चेतना प्रवाह गर्न थाल्नु भयो । गाउँगाउँ गएर महिला शशक्तिकरणका कार्यक्रम मात्रै चलाउनु भएन, महिलालाई नेतृत्व तहमा लैजानु पर्छ भनेर अभियान चलाउनु भयो । उहाँले महिलाहरुमा निहित सीपलाई ब्यवसायीकरण गर्नका लागि महिलाहरुलाई तालिम दिने र लघुवित्त कार्यक्रम मार्फत ऋण समेत प्रवाह गर्ने सोचले फरवार्ड बचत तथा ऋण सहकारी संस्था स्थापना गर्नुभयो । 

यसले सुनसरी मोरङका ग्रामिण महिलालाई ऋण मात्र प्रवाह गरेर उनीहरुमा निहीत परम्परागत सीपलाई ब्यवसायीकरण गर्दै आर्थिक रुपमा सवल बनाउँदै लग्यो । फरवार्डमा आबद्ध हुन महिलाहरु संगठित हुँदै गए । अरुबेला चुल्हो चौकोमा सिमित महिलाहरु फरवार्डबाट ऋण लिएर कुनै न कुनै ब्यवसाय मार्फत सवल हुँदै गए । फरवार्डले सुनसरी मोरङका हज्जारौं महिलालाई आर्थिक रुपमा बलियो माब बनाएर महिला हिंसा, घरेलु हिंसाका विरुद्ध अभियान चलाउन फरवार्ड नै बनाइ दियो । दिनेश चौधरीले देखेको सपना साकार हुँदै गयो । दिनेश चौधरी पश्चिम नेपालको दाङमा जन्मिएपनि कर्मथलो भने पूर्वको सुनसरीलाई बनाउनु भएको थियो । तथापि, पुर्खौली घर र बाबाआमा दाजुभाई प्रति उहाँको कर्तब्य निर्वाहमा उहाँले कुनै कसर बाँकी राख्नु भएको थिएन । बाबा बिरामी हुनुहुन्थ्यो । उहाँलाई उपचार गर्न काठमाडौं लगिएको थियो । २०६४ असार १२ गते बाबाको उपचार पश्चात दाजु आमा र भतिज सहित दाङ फर्कने क्रममा नवलपरासीको रमवापुरमा सडक दुर्घटना भयो । 

 

आर्थिक शशक्तिकरणको नारा लिएर अघि बढ्नु भएका दिनेश चौधरीको उक्त दुर्घटनामा बाबासँगै असामयिक अकल्पनीय निधन भयो । यसले दिनेश चौधरीको परिवारलाई मात्र हैन फरवार्ड नेपालमा आबद्ध महिला जो उहाँकै कारण समाजमा खुलेर बोल्न सक्ने भएका थिए, हातमा दुई चार पैसा खेलाएर आफ्ना छोराछोरीलाई विद्यालयमा पढाउन सक्ने भएका थिए, उनीहरुमा समेत ठूलो बज्रपात भयो । 

काठमाडौंमा बुबाको उपचार सकाएर एम्बुलेन्समा घर दाङ फर्कने क्रममा नवलपरासीको रमवापुर गाउँपालिका स्थित महेन्द्रराज मार्गमा तिब्र गतीमा आएको ट्रकको ठक्करले उहाँलाई हामीहरुबाट कहिल्लै नफर्कने गरी लिएर गयो । यो घटनाले फरवार्ड नेपालमा आबद्ध हज्जारौं महिलादिदिबहिनीहरु मर्माहत मात्र हुनु भएन अब संस्थालाई कसरी अगाडी बढाउने चुनौति पनि थपियो । कतिले अब फरवार्ड बन्द हुन्छ । संस्था रहँदैन सम्म भन्न भ्याए । तर, दिनेश चौधरीले संस्था स्थापना गर्दा नै महिलाहरुलाई समेत नेतृत्वमा लैजानुपर्छ भन्दै गाउँगाउँमा अभियान चलाउनु भएको थियो । त्यसैको परिणाम संस्थालाई अफ्टेरो पर्दा फरवार्डमा आबद्ध महिलाहरु नै सक्रिय हुनुभयो र, संस्थालाई क्रियाशिल र अझ शशक्त बनाउने प्रण गरेर लाग्नु भयो । 

 

हामीलाई उहाँको निधनले ठूलो चोट परेको थियो भने, राष्ट्रलेपनि एउटा इमान्दार, मेहनती, कर्तब्यनिष्ट समाजसेवी गुमाएको थियो । थारु समुदायले आफ्नो जाति कर्म कला संस्कृतिको संरक्षक गुमाएको थियो । 

उहाँको निधनमा शोक गरेर बस्नुभन्दा शोकलाई शक्तिमा बदल्दै उहाँका कामलाई चिर स्थायी गर्नुपर्छ भन्ने सल्लाह सुझाब आयो । अनी उहाँको क्रियाकर्म सम्पन्न गरेपश्चात २०६४ श्रावण १६ गते पश्चात दिनेश स्मृति प्रतिष्ठान खोल्ने कार्यमा २०६५ साल कार्तिक २१ गते जिल्ला प्रशासन कार्यालय ईनरुवामा फरवार्ड सञ्चालकहरुको पहलमा दिनेश चौधरी स्मृति प्रतिष्ठान विधिवत दर्ता गरियो । 

संस्था स्थापना गर्नुको मुख्य उद्देश्य थियो उहाँले सामाजिक क्षेत्रमा गर्नुभएका कामहरुलाई निरन्तरता दिने । उहाँका विचार र भावनालाई पुस्तौपुस्ता जिवन्त बनाउने । 

यसले साझा बिचारमा विश्वास राख्ने पछाडी परेका समुदाय, गरिब, बिपन्न, सिमान्तकृत, दलित, आदिवासी जनजाति, मधेसी, महिला तथा अन्य पछाडी परेका जातजातिका वर्गहरुलाई शैक्षिक जनचेतना, साक्षरता अभियान सञ्चालन गर्दछ । साथै शैक्षिक क्षेत्रसँग सम्बन्धित अध्ययन अध्यापन, अनुसन्धान रिसर्च गर्दै बिभिन्न सामाजिक विकासका उद्देश्य बोकी सर्वपक्षिय सहयोगको आधारमा अधिकार बोध, जनचेतना, शैक्षिक कार्यक्रम, महिला तथा बालबालिकाहरुलाई विशेष रुपले क्षमता विकास गर्ने कार्यक्रमहरु सञ्चालन गर्दछ । 

संस्था स्थापनाको १२ वर्ष ब्यतित हुँदा संस्थाले सुनसरी मोरङका विभिन्न क्षेत्रका महिला बालबालिकाहरुलाई संवोधन गर्न सफल भएको छ । संस्थाले आर्थिक हिसाबले कमजोर रहेका बालबालिकालाई शिक्षाको ज्योति प्रदान गर्न छात्रबृत्ति प्रदान गर्दै आइरहेको छ । महिला शशक्तिकरण तथा महिला हिंसा दुब्र्यहार विरुद्ध जनचेतना प्रवाह गर्न अभियान चलाएको छ । स्थानीय युवा, क्लबहरुसँग सहकार्य गरेर खेलकुद क्षेत्र र कला क्षेत्रको संबद्र्धन र संरक्षणमा समेत योगदान पुर्याउँदै आइरहेको छ । 

संस्थाको यस प्रकारको कार्य र अभियानले स्वर्गिय दिनेश चौधरीलाई हामी माझ जिवन्त बनाउन ठूलो टेवा दिएको छ । यो अभियानलाई प्रतिष्ठानले अनन्तकाल सम्म सञ्चालन गर्ने अठोट लिएको छ । यसका लागि नयाँ पुस्तालाई संस्थामा आबद्ध गराउने तथा उनीहरु लक्षित कार्यक्रम तय गरिरहेको छ । 

 

स्थानिय साधन श्रोतको परिचालन गरी समाजमा रहेका बिपन्न वर्गको लागि शैक्षिक तथा सामाजिक स्थितिमा सुधार ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै बिभिन्न शैक्षिक तथा सामाजिक कार्यक्रम सँगसँगै अध्ययन अनुसन्धान गर्ने गराउने संस्थाले उद्देश्य लिएको छ । यसका लागि प्रतिष्ठानले स्थानिय साधन श्रोतको अधिकतम पचिालन गर्ने गराउने, समुदायमा शैक्षिक जनचेतना जगाउन सामुदायिक स्वयमसेवक तथा अगुवा पहलकर्ता तयार गर्ने, शैक्षिक तथा सामाजिक अवस्था स्थितिबारे अध्ययन अनुसन्धान, प्रकाशन र तथ्यांक व्यवस्थापन गर्ने तथा राष्ट्रिय अन्तराष्ट्रिय संघ–संस्था तथा बिभिन्न सरकारी, गैरसरकारी निकाय एवं सम्बन्धीत कार्य संजाल समूहसँग आवद्ध गर्ने गराउने लक्ष्य लिएको छ । 

 

संस्थाले विपन्न समुदायका जनसमुदायलाई शैक्षिक क्षेत्रमा नेतृत्ववान बनाउन सहयोग पुर्याउन काम गर्ने, फरवार्डसँग सम्बन्धीत स्थानिय जनसमुदायलाई प्राथमिकताको आधारमा शैक्षिक तथा सामाजिक चेतना अभिबृद्धी गर्ने काम गर्ने, मानविय विकासमा शैक्षिक तथा सामाजिक स्तरमाथी उठाउन अन्य संघ–संस्थासँग समन्वय कायम गरी क्षमता अभिबृद्धीको सहयोग गर्ने, समुदायमा व्याप्त गरिबी न्यूनीकरण गर्न शिक्षा, स्वास्थ्य, सरसफाई तथा चेतनामूलक अभियानहरु सञ्चालन गर्ने काम गर्ने काम गर्दै आइरहेको छ । 

संस्थाले बिपन्न वर्गको पूर्ण सहभागितामा शैक्षिक, सामाजिक जीवन स्तरमा गुणात्मक परिवर्र्तन ल्याउने, स्थानिय साधन श्रोतको अधिकतम परिचालन गरि शैक्षिक जनशक्ति तयार पार्ने, समुदायमा रहेका लक्षित वर्गको सेवा, सद्भाव, आपसी सहयोग, शान्ती सू–व्यवस्था र संगठित दिगो समाज बनाउन प्रतिबद्धता गराउने रणनीति लिएको छ । 

 

अन्तमा, 

मुलुक विकास र संमृद्धिको बाटोमा लम्कँदै गर्दा स्वर्गिय दिनेश चौधरी जस्ता समाजसेवाका भावना बोकेका युवाहरुको देशलाई खाँचो देखिएको छ । दक्ष जनशक्ति विदेशीइरहेको बर्तमान अवस्थामा स्व. दिनेश चौधरीले मुलुकमै रहेर यहाँको माटो, कला संस्कृतिको प्रयोग गर्दै आर्थिक रुपमा अघि बढ्नुपर्छ भन्ने अभियान चलाउनु भएको थियो । उहाँले १२ वर्ष अघि देखाउनु भएको भिजन अहिले आएर प्रष्ट हुँदै गएको छ । तर, उहाँ जस्तो सक्षम लिडर, समाजसेवी, कला संस्कृतिका संरक्षक, आर्थिक शशक्तिकरणका अगुवा हामीसँग नहुँदा हरेक क्षेत्र प्रभावित छ । अब हामीले दिनेश चौधरीले १२ वर्ष अघि देख्नुभएको सपना र भिजन साकार बनाउनु छ । यसका लागि संस्था सबैसँग सहकार्य गरेर अगाडी बढ्ने छ । 

चौधरी, स्व. दिनेश चाैधरीकी जिवन संगिनी तथा दिनेश स्मृति प्रतिष्ठानकी संरक्षक हुनुहुन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *