लमजुङको दुराडाँडामा आज हलो क्रान्ति दिवस मनाईंदै
“
लमजुङ, साउन ११ । आज ६८औं हलो क्रान्ति दिवस । ब्राम्हाणहरुले पहिलो पटक हलो जोतेको स्मरणमा लमजुङको दुराडाँडाको अर्चल्यानीमा अुगवा पंण्डित तोयानाथ अधिकारी स्मृति प्रतिष्ठानले विभिन्न कार्यक्रम गर्दैछ ।
वि.सं. २००६ साल साउन ११ गतेका दिन लमजुङको दुराडाँडा–६ अर्चल्यानीको बाटेगरामा ब्राम्हाणहरुले सामुहिकरुपमा हलो जोतेका थिए । त्यही दिनको सम्झनामा अर्चल्यानीमा आजका दिन विभिन्न कार्यक्रम गर्ने गरिन्छ । ब्राह्मणबाद तथा जातीय भेदभावसँगै हली प्रथा अन्त्यको लागि पंण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारी लगायत २७ जनाले नेपालमै पहिलो पटक हलो जोतेका थिए ।
तर राणा शासनको विरोधमा हलो जोतेको आरोप लगाउँदै तत्कालिन सरकारले सामुहिक हलो जोत्नेहरुलाई २००७ साल साउन ११ गते पक्राउ गरी जेल हालेको थियो । तर दुराडाँडामो हलो जोतेको शुरु गरेको २ वर्षपछि देखि तनहुँ, कास्की, धादिङ, अर्घाखाँची, गोरखा र स्याङ्जामा पनि हलो जोत्न शुरु भयो ।
त्यसपछि हलोक्रान्तिको धेरैले प्रंशसा गर्न थाले । त्यही सम्झनामा वर्षै पिच्छे लमजुङको दुराडाँडामा हलोक्रान्ति दिवस मनाइन्छ । साउन ११ गते मनाइने यो दिवसलाई राष्ट्रव्यापी बनाउँदै हलोक्रान्तिका अभियन्ताहरुलाई राष्ट्रिय विभुती घोषणा गर्नुपर्ने माग लमजुङबासीको छ । तोयानाथ स्मृति प्रतिष्ठानका सचिव दिपक पौडेल हलोक्रान्तिलाई राष्ट्रिय दिवस र पण्डित तोयानाथलाई राष्ट्रिय विभुती घोषणा गर्नुपर्ने बताउनुहुन्छ ।
“