विश्वकप विजेता ओटामेन्डीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

काठमाडौं । अर्जेन्टिनाका अनुभवी डिफेन्डर निकोलस ओटामेन्डीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । बिहीबार उनले सन्न्यास घोषणा गरेसँगै उनको १७ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरको अन्त्य भएको छ ।
३८ वर्षीय सेन्टर–ब्याक ओटामेन्डीले अर्जेन्टिनाको सफल पुस्तामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले अर्जेन्टिनालाई सन् २०२२ को फिफा विश्वकप तथा दुई पटक कोपा अमेरिका उपाधि जिताउन योगदान दिएका थिए ।
ओटामेन्डीले अर्जेन्टिनाका लागि कुल १३९ अन्तर्राष्ट्रिय खेल खेले । उनले चार संस्करणको फिफा विश्वकपमा अर्जेन्टिनाको प्रतिनिधित्व गरेका थिए ।
यस वर्षको विश्वकपमा पनि उनी अर्जेन्टिनी टोलीका सदस्य थिए । उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको अर्जेन्टिना फाइनलमा स्पेनसँग १–० ले पराजित भएको थियो ।
सन्न्यास घोषणा गर्दै ओटामेन्डीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत भावुक सन्देश लेखेका छन् ।
‘आज मैले आफ्नो करिअरकै सबैभन्दा कठिन शब्दहरू लेख्नुपरेको छ । संयोगवश मेरो अन्तिम अन्तर्राष्ट्रिय खेल विश्वकपको फाइनल बन्यो । नतिजा हाम्रो पक्षमा आएन, तर टोलीले अन्तिम क्षणसम्म पूरा समर्पणका साथ संघर्ष गरेकोमा मलाई गर्व छ,’ उनले लेखेका छन् ।
उनले विश्व च्याम्पियन बन्ने सपना पूरा गर्ने अवसर दिएको भन्दै अर्जेन्टिनाप्रति आभार व्यक्त गरेका छन् ।
‘विश्व च्याम्पियन बन्ने सपना पूरा गर्ने अवसर दिएकोमा अर्जेन्टिनालाई हृदयदेखि धन्यवाद,’ ओटामेन्डीले भनेका छन् ।
युरोपमा १६ वर्षको सफल यात्रापछि ओटामेन्डी हाल अर्जेन्टिनाको प्रतिष्ठित क्लब रिभर प्लेटमा आबद्ध भएका छन् । युरोपेली फुटबलमा उनले पोर्टो, भ्यालेन्सिया, म्यानचेस्टर सिटी र बेन्फिकाजस्ता क्लबबाट खेलिसकेका छन् ।
ओटामेन्डीको सन्न्याससँगै अर्जेन्टिनी फुटबलले आफ्नो सफल पुस्ताका एक अनुभवी र महत्वपूर्ण रक्षकलाई बिदाइ गरेको छ ।








