अभिनेता नाजिर हुसेनमाथि दिल्ली विमानस्थलमा केरकार

काठमाडौं । अभिनेता नाजिर हुसेनले भारतको दिल्ली विमानस्थलमा आफूलाई दोस्रो पटक पनि विशेष सुरक्षा जाँचका लागि छुट्टै कक्षमा लगेर सोधपुछ गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सार्वजनिक गर्दै यसको स्पष्ट कारण माग गरेका छन् ।
भारतस्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा आफ्नो चलचित्र ‘गुन्यो चोलो’ को विशेष प्रदर्शनमा सहभागी भएर निर्देशक समुन्द्र भट्ट र जनकदीप पराजुलीसँग नेपाल फर्किने क्रममा दिल्ली विमानस्थलमा आफूलाई फेरि विशेष सुरक्षा जाँचमा राखिएको उनले बताएका छन् ।
हुसेनका अनुसार अन्य यात्रुलाई सामान्य प्रक्रिया अपनाइँदा आफूलाई भने छुट्टै कक्षमा लगेर ‘नेपाल किन जाँदै हुनुहुन्छ ?’ र ‘तपाईंसँग कति पैसा छ ?’ जस्ता प्रश्न सोधिएको थियो । उनले आफू नेपाल फर्किरहेको, भारतीय मुद्रा साथमा नभएको र भारत जानुको उद्देश्यसमेत खुलाएको बताएका छन् ।
त्यसपछि आफूले ‘मलाई किन विशेष सुरक्षा जाँचमा राखियो ?’ भनेर प्रश्न गर्दा सुरक्षाकर्मीले ‘कोई बात नहीं’ भन्ने जवाफ दिएको उनले उल्लेख गरेका छन् । तर त्यो आफ्नो प्रश्नको उत्तर नभएको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।
हुसेनले आफ्नो पूरा नाम ‘मोहमद नाजिर हुसेन’ भएकै कारण हरेक पटक यसरी रोक्ने गरिएको हो भने त्यो गलत भएको बताएका छन् । यदि त्यो कारण होइन भने आफूलाई वास्तविक कारण थाहा पाउने अधिकार रहेको उनको भनाइ छ ।
उनले पासपोर्ट स्क्यान गर्दा यात्रुसम्बन्धी विवरण प्रणालीमा देखिने भएकाले आफूलाई किन विशेष रूपमा छानबिन गरियो भन्नेबारे सम्बन्धित निकायले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन् ।
यद्यपि, नेपाल फर्किने क्रममा नेपाल एयरलाइन्सको जहाजभित्रको स्क्रिनमा गुगल म्यापमा लुम्बिनी देखेपछि आफूले सुरक्षित महसुस गरेको अनुभव पनि उनले सामाजिक सञ्जालमा साझा गरेका छन् ।
यसअघि पनि यस्तै अनुभव भोगेका हुसेनले पहिलो पटक सामान्य रूपमा लिएको भए पनि दोस्रो पटक पुनः उही अवस्था दोहोरिएपछि यसको कारण सार्वजनिक हुनुपर्ने माग गरेका छन् ।








