राजधानीका ज्यानमारा भ्वाङहरू

काठमाडौं, साउन २ । मुलुककै राजधानी रहेको काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाका जनप्रतिनिधिले नगरलाई अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको बनाउनेलगायत मीठा कुरा गरेका छन् । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

कसैले ‘स्मार्ट सिटी’ र ‘स्याटेलाइट सिटी’ त कसैले ‘मोनोरेल’ सञ्चालन र फ्लाइओभर निर्माण, कसैले निशुल्क वाइफाईको व्यवस्थाजस्ता आश्वासन दिएर नगरलाई सुविधासम्पन्न बनाउने सपना बाँड्न भ्याइसके । तर, काठमाडौं महानगरपालिकाकै बासिन्दा धूवाँ-धूलो, हिलो र ढलबाट मुक्त हुन सकेका छैनन् ।

ढल व्यवस्थित गर्न नसक्दा पानी पर्नासाथ सडक नै पोखरीजस्तो बन्ने अनि यात्रु नालीमा डुब्ने मात्र होइन, ज्यानै जानेसम्मका घटना भइरहेका छन् । सडक निर्माणका क्रममा महिनौंदेखि त्यत्तिकै राखिएका ठूल्ठूला भ्वाङ नागरिकका लागि ‘एम्बुस’जस्ता बनेका छन् । विद्यालयबाट फर्किंदै गरेकी छात्रा सत्या सापकोटा सडककै भेलमा झुक्किएर नालीमा पसिन् । झन्डै सय मिटर परसम्म लेदोपानीसँगै बगेकी सत्याले हात हल्लाएपछि स्थानीयले उद्धार गरे ।

सत्या त बाँच्न सफल भइन् तर खेल्दा-खेल्दै ढलमा परेकी नेपालटारकी ११ वर्षीया विनीता फुयाँलले ज्यानै गुमाउनुपर्‍यो । शुक्रबारका यी दुई घटना राजधानीभित्रका प्रतिनिधि मात्र हुन् । यस्ता दर्जनौं घटना बर्सेनि भइरहेका छन् तर स्थानीय निकायदेखि केन्द्र सरकारसम्म मूकदर्शक बनिरहेका छन् ।

पछिल्लो समय मेलम्ची खानेपानी आयोजनाका लागि सडकमा खन्ने तर तत्काल नपुर्ने वा कालोपत्रे नगरेका कारण घाम लागे धूलोले र पानी परे हिलोले हिँड्न सक्ने अवस्था छैन । यसको असर यति मात्र होइन, उक्त माटो पसेर ढल थुनिने, त्यसपछि सडकभरि पानी जम्ने अवस्था छ । तीनकुने, पुतलीसडक, जमल, बौद्ध, त्रिपुरेश्वर, कालिमाटीलगायत दर्जनौं ठाउँ केही वर्षयता पानी पर्नासाथ पोखरीजस्तै जलमग्न हुने गरेका छन् । मेलम्ची खानेपानीका लागि खनिएका ठाउँमा जम्ने पानीले पनि यात्रु र सवारी साधन थुप्रै पटक समस्यामा परेका छन् ।

त्यस्तै, तीनकुनेबाट माइतीघरसम्म फराकिलो सडक बने पनि बागमती र धोवीखोलाका कारण यात्रु र चालकले सास्ती पाइरहेकै छन् । बागमतीमा हाल बनाइरहेको पुलमा सावधानी अपनाउन नसक्दा एक लेनको सडकसमेत खाल्डो परेको छ । यसै साँघुरो, त्यसमाथि एक लेन सडकमा खाल्डो परेपछि अहिले सवारी जामले यात्रु आक्रान्त छन् । जामका अतिरिक्त रातको समयमा यात्रा गर्नेका लागि सावधान गराउने काम पनि भएको छैन । यसले चालक र यात्रु खाल्डोमा पर्ने खतरा बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *