पहिरोमा पुरिएर एकको मृत्यु, पाँच बेपत्ता

प्युठान, १८ असार । बाढिपहिराबाट ५८ जनाको मृत्यु भएको एक वर्ष पुग्न नपाउँदै सोही ठाउँमा गए राति परेको अविरल वर्षात्का कारण पहिरामा पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । दुर्गम गाउँ गौमुखी गाउँपालिका–३ रजवाराकी १६ वर्षीया तुलसा घर्ती गए रातिदेखि बेपत्ता भएकामा केही समय पहिला मात्रै मृतावस्थामा फेला पर्नुभएको छ । स्थानीयवासी शेरबहादुर घर्तीको घर पुरिएर किशोरी बेपत्ता भएको रजवाराका स्थानीयवासी जोगेन्द्र मल्लले जानकारी दिनुभयो ।

पहिरामा पुरिएका दुई जनाको उद्धार गरिएको छ । नौबहिनी गाउँपालिकाको लिघास्थित कुर्तिवाङमा गोठमा बसिरहेका बेला पहिरो आउँदा दुई बेपत्ता भएका हुन् । गए रातिदेखि त्यस क्षेत्रमा विद्युत् र सञ्चारक्षेत्रविच्छेद भएकाले विस्तृत विवरण आउन नसकेको प्रहरीले जनाएको छ । घटनास्थल तर्फ प्रहरी जाँदै गरेको प्रजिअ यदुनाथ पौडेलले जानकारी गराउनुभयो । वर्षात्सँगै जिल्लाका अधिकांश बासिन्दा त्रसित भएका छन् । गत वर्षको बाढीपहिराले विस्थापितहरुको हालसम्म व्यवस्थापन हुन सकेको छैन ।

फलेवास (पर्वत) – महाशिला गाउँपालिका– १ होस्राङ्दीमा गए राति वर्षासँगै आएको पहिराले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । साबिकको होस्राङदी गाविस– १ का ६३ वर्षीय तीर्थबहादुर मल्लको घर बस्तीमाथिको डाँडाबाट आएको पहिराले पुरिएको हो । घर पुरिँदा मल्ल र उनकी आमा ८० वर्षीया बेलकुमारी र श्रीमती ५५ वर्षीया यमकुमारी बेपत्ता भएको महाशिलाका अध्यक्ष राजु पौडेलले जानकारी दिनुभयो । घर माथिबाट आएको पहिराले घर र गोठ पूरै पुरिएको हो ।

बेपत्ता भएकाको खोजी र उद्धारका लागि इलाका प्रहरी कार्यालय हुवासबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएको प्रजिअ राजेश पन्थीले जानकारी दिनुभयो । पहिराले सोही ठाउँका तिलबहादुर मल्लको गोठसमेत पुरिएको छ । वर्षाबाट विभिन्न ठाउँको सडकसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *