चर्चित हत्याकाण्डका दुईजना पक्राउ

भरतपुर । निर्वाचनको मतगणनाको समयमा भरतपुर २५ शुक्रनगरमा भएको चर्चित हत्याकाण्डमा संलग्न भएको आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी मध्यविन्दु १० अरुणखोलाका वर्ष २१ का लक्ष्मण परियार र सोही ठाउँका वर्ष २० का नारायण विक छन् । जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गरी आरोपितलाई खुनडाँका मुद्दा दर्ता गरिएको जानकारी गरायो । जिल्ला प्रहरी प्रमुख एसपी दिपक थापाले अर्का एक आरोपितको खोजी कार्य भइरहेको बताए । पर्वत घर भएका दिव्यनगर ससुरालीमा बस्दै आएका कृष्ण शाहि ठकुरी भने फरार रहेको प्रहरीले जनाएको छ । ठकुरी भारतमा लुकीछिपी बसेको प्रहरीको भनाइ छ ।

शुक्रनगर चितहीका गंगासागर महत्तोको घरमा हतियारधारी समूह प्रवेश गरी घर परिवारका सम्पूर्ण सदस्यहरुलाई नियन्त्रणमा लिएर लुटपाट गरेका थिए । घटनामा घरधनी गंगासागर महतोलाई गोली प्रहार गरिएको थियो । गोली लागेर घाइते गंगासागरको जेठ ९ गते निधन भएको थियो । घटनामा घाइते आमा साउनी महतो र बहिनी रामकुमारी महतो उपचारपछि घर फर्केका थिए । मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडाको क्षेत्रीय अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुसन्धान टोलीद्वारा गरिएको सुक्ष्म अनुसन्धानपछि आरोपीतहरु ३९ दिनमा पक्राउ परेका थिए ।

आरोपितको साथबाट नगद ८३ हजार एकसय चालीस, पेस्तोल थान १ र सोको गोली ६ थान, घटनामा प्रयोग भएको ह्याम्मर एक, मोटरसाइकलको सकर रड १, खुकुरी १, चक्कु १ र पेचकस बरामद भएको प्रमुख थापाले बताए । बरामद भएका सामानहरु अधिकांश फरार ठकुरीको ससुरालीबाट पत्ता लगाइएको प्रहरीले जनाएको छ । त्यस्तै आरोपीतहरुबाट सुन चाँदीका गरगहनाहरु सुनको सिक्री १, घडी ३, सुनको मंगलसुत्र १, औंठी १, चाँदीको पाउजु २ जोर, नाकमा लगाउने पिन फुली २, तथा भाग वण्डामा परेका सुनका गहनाहरु गालेर प्रतिवादीहरुले बनाएका सुनका गरगहनाहरु पंचरत्न बाला २, सिक्री १, कानमा लगाउने टप १, कानमा लगाउने मुन्द्रा २ र सुनको ढिक्का थान १ बरामद गरिएको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *