मोबिलिटीमा सुधार भए अवसर विस्तार हुन्छ: नाइमा अध्यक्ष वैद्य

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) की अध्यक्ष रितु सिंह वैद्यले नेपालको आर्थिक विकास, रोजगारी सिर्जना र उद्यमशीलताको विस्तारका लागि प्रभावकारी मोबिलिटी प्रणाली अपरिहार्य रहेको बताएकी छन् ।

सोमबार काठमाडौंस्थित द सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नाइमाको ‘मोबिलिटीमार्फत समृद्धिको सशक्तीकरण’ भन्ने दृष्टिकोण र ‘सबैका लागि मोबिलिटी’ भन्ने अभियान केवल अटोमोबाइल क्षेत्रसम्म सीमित नभई देशको समग्र आर्थिक र सामाजिक विकाससँग जोडिएको बताइन् ।

उनले मोबिलिटीमा सुधार हुँदा मानिसको आवागमन सहज हुने, व्यवसाय विस्तार हुने, रोजगारीका अवसर बढ्ने र सार्वजनिक सेवा प्रवाह प्रभावकारी बन्ने उल्लेख गर्दै यी सबै पक्षले अन्ततः मुलुकको आर्थिक वृद्धिमा टेवा पुर्‍याउने बताइन् ।

वैद्यका अनुसार एक वर्षअघि २१ सदस्य कम्पनीबाट स्थापना भएको नाइमा अहिले ३६ सदस्य कम्पनीमा विस्तार भइसकेको छ । यो विस्तारले अटोमोबाइल उद्योगले नाइमामाथि गरेको विश्वास र नेपालको मोबिलिटी क्षेत्रको साझा आवाजका रूपमा संस्थाको बढ्दो भूमिकालाई पुष्टि गरेको उनले बताइन् ।

उनले गत वर्ष नाइमाले पहिलो संस्करणको नेपाल मोबिलिटी एक्स्पो सफलतापूर्वक सम्पन्न गर्नुका साथै ट्राफिक प्रहरीका लागि क्षमता अभिवृद्धि तालिम, ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षासम्बन्धी अभियान, सरकारी निकायसँग सहकार्य र विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरेको जानकारी दिइन् ।

अध्यक्ष वैद्यले आगामी साउन २६ देखि ३१ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी हुने बताइन् । उनका अनुसार एक्स्पोमा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्डको सहभागिता रहनेछ भने ४० भन्दा बढी नयाँ सवारी तथा प्रविधि सार्वजनिक गरिनेछ ।

उनले एक्स्पोबाट प्राप्त टिकट आम्दानीको कम्तीमा १० प्रतिशत रकम अनुसन्धान फेलोसिप तथा क्षमता विकास कार्यक्रमका लागि छुट्याइने जानकारी दिँदै अनुसन्धानमूलक अध्ययनलाई प्रोत्साहन गर्ने उद्देश्यले मोबिलिटी जर्नल प्रकाशनलाई पनि निरन्तरता दिइने बताइन् ।

वैद्यले भविष्यमा मोबिलिटी कन्क्लेभ, सीप विकास तथा रोजगारी सिर्जनामूलक तालिम कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उल्लेख गर्दै सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाबीच सहकार्य बढाएर नेपालको मोबिलिटी क्षेत्रलाई थप सुरक्षित, आधुनिक र दिगो बनाउने लक्ष्य रहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − sixteen =