नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ५५ भन्दा बढी ब्रान्ड, ४० नयाँ सवारी सार्वजनिक हुने

काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी साउन २६ देखि ३१ गते (अगस्ट ११–१६, २०२६) सम्म काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ ।

सोमबार काठमाडौंस्थित द सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत एक्स्पोका मुख्य विशेषताहरू सार्वजनिक गरिएको हो ।

आयोजकका अनुसार नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनीका रूपमा आयोजना हुने एक्स्पोमा ५१ स्टल रहनेछन् भने ५५ भन्दा बढी ब्रान्डको सहभागिता हुनेछ । प्रदर्शनीमा ४० भन्दा बढी नयाँ सवारी तथा प्रविधि सार्वजनिक गरिनेछ ।

दुईपाङ्ग्रे, चारपाङ्ग्रे, व्यावसायिक सवारी, विद्युतीय तथा हाइब्रिड सवारी, मोबिलिटी प्रविधि, सेवा तथा अन्य सम्बन्धित उत्पादनहरू प्रदर्शनीमा समावेश हुनेछन् ।

नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले एक वर्षअघि २१ सदस्य कम्पनीबाट सुरु भएको संस्था अहिले ३६ सदस्य कम्पनीमा विस्तार भएको जानकारी दिँदै यसले अटोमोबाइल उद्योगले नाइमामाथि गरेको विश्वास र एकीकृत नेतृत्वको आवश्यकता झल्काएको बताइन् ।

उनले नाइमाको ‘मोबिलिटीमार्फत समृद्धिको सशक्तीकरण’ भन्ने दृष्टिकोण र ‘सबैका लागि मोबिलिटी’ भन्ने अभियान केवल एक्स्पोमा सीमित नभई रोजगारी, उद्यमशीलता, सार्वजनिक सेवा, पहुँच विस्तार तथा आर्थिक वृद्धिसँग जोडिएको बताइन् ।

राम्रो मोबिलिटीले अवसर विस्तार गर्ने र देशको आर्थिक गतिविधिलाई गतिशील बनाउने उनको भनाइ थियो ।

वैद्यले गत वर्ष नाइमाले पहिलो संस्करणको एक्स्पो सफलतापूर्वक आयोजना गर्नुका साथै ट्राफिक प्रहरीका लागि क्षमता अभिवृद्धि तालिम, ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षासम्बन्धी कार्यक्रम, सरकारी निकायसँग सहकार्य, क्षति पुगेका कार्यालयको पुनर्निर्माणमा सहयोग लगायतका विभिन्न सामाजिक तथा संस्थागत कार्यक्रम सञ्चालन गरेको जानकारी दिइन् ।

उनका अनुसार एक्स्पोबाट प्राप्त टिकट आम्दानीको कम्तीमा १० प्रतिशत रकम अनुसन्धान फेलोसिप र तालिम कार्यक्रममा खर्च गरिनेछ । आगामी दिनमा नाइमाले मोबिलिटी जर्नल, मोबिलिटी कन्क्लेभ तथा सीप विकास र रोजगारी सिर्जनासम्बन्धी कार्यक्रम पनि सञ्चालन गर्ने योजना बनाएको छ ।

पत्रकार सम्मेलनमा नाइमा बोर्ड सदस्य सन्दीप शारडाले निजी क्षेत्र राष्ट्रको अर्थतन्त्रको प्रमुख आधार भएको उल्लेख गर्दै यस्ता प्रदर्शनीले लगानी, व्यापार विस्तार, रोजगारी सिर्जना र आर्थिक गतिविधिमा सकारात्मक योगदान पुर्‍याउने बताए ।

एक्स्पो योजना समितिका संयोजक गौरव शारडाले यस वर्षको प्रदर्शनीलाई अझ व्यवस्थित, समावेशी र आगन्तुकमैत्री बनाइने बताए । मनसुनलाई ध्यानमा राखेर विशेष पूर्वाधार तयार गरिएको, अपाङ्गता भएका व्यक्तिहरूलाई सहज पहुँच सुनिश्चित गरिएको तथा नेपाल पुलिस क्लबमा पार्किङको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

राइड साझेदार पठाओले छुटसहितको यात्रा सेवा उपलब्ध गराउनेछ भने युनियन पेमार्फत क्यूआर प्रयोग गरी टिकट खरिद गर्दा नगद फिर्ता सुविधा पनि प्रदान गरिनेछ ।

यस वर्षको अर्को प्रमुख आकर्षणका रूपमा नेपाल पुलिस क्लबको ब्लु पेभिलियनमा निःशुल्क सिकाइ सत्र सञ्चालन गरिनेछ । ती सत्रहरूमा मोबिलिटी, प्रविधि, सडक सुरक्षा, उपभोक्ता सचेतना, सीप विकास, रोजगारी तथा नेपालको मोबिलिटी क्षेत्रको भविष्यबारे विज्ञहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा सहप्रायोजक ग्लोबल आइएमई बैंकले आगन्तुकका लागि विशेष बैंकिङ तथा सवारी कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ । त्यस्तै रेड बुल नेपालले पेय पदार्थ साझेदारका रूपमा एक्स्पो अवधिभर विभिन्न आकर्षक गतिविधि सञ्चालन गर्ने जानकारी दिएको छ ।

नाइमाले यस वर्षको एक्स्पोमा परिवार, विद्यार्थी, व्यवसायी, नीति निर्माता, सञ्चारकर्मी तथा आम सर्वसाधारणलाई सहभागी भई नेपालको सबैभन्दा ठूलो मोबिलिटी प्लेटफर्मको अनुभव लिन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 4 =