रविको प्रतिवद्धताः थप परिपक्व हुन मिहेनत गर्छु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले समयसँगै आफू थप परिपक्क हुँदै जाने प्रतिवद्धता जनाएका छन् । आज चितवनमा सभापतिको शपथ ग्रहण समारोहमा बोल्दै उनले परिस्थितिले आफूलाई अपरिपक्व हुन छुट नदिएको बताए ।
उनले देशले आफ्नो पार्टीलाई आशा र भरोसा गरेकाले अझै धेरै मिहेनत गर्नुपर्ने बताए । उनले भने, ‘देशले आशा र भरोसा गरेका हुनाले पनि त्यो आशा र भरोसा नटुटोस् भन्नका लागि मैले धेरै मिहेनत गर्नुपर्ने हुन्छ । यसअघि मलाई अपरिपक्वताको आरोप लाग्थ्यो । तर परिस्थितिले मलाई अपरिपक्व हुन छुट दिएको छैन ।’
साथै, उनले लोकतन्त्रका आधारभूत सिद्धान्त र कयौं संस्था भत्कन दिन नहुने पनि बताए ।
चितवनमा ७ असारदेखि शुरु भएको रास्वपाको महाधिवेशन नयाँ नेतृत्व र नीति तय गर्दै सम्पन्न भएको छ । रास्वपाको सभापतिमा लामिछाने र उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका हुन् । महिला उपसभापतिमा सोविता गौतम प्रतिस्पर्धाबाट निर्वाचित भइन् । शुक्रबार भएको दोस्रो चरणको पदाधिकारीको निर्वाचनमा डा. तोसिमा कार्कीलाई पराजित गर्दै महिला उपसभापतिमा गौतम निर्वाचित भएकी हुन् ।
त्यस्तै महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् । महामन्त्रीमा विपिनसँगै मनिष झा, सागर ढकाल र गणेश कार्कीले प्रतिस्पर्धा गरेका थिए । त्यसैगरी सहमहामन्त्री (खुला) तर्फ हरि ढकाल र असिम शाह निर्वाचित भएका छ भने सहमहामन्त्री (महिला)मा निशा डाँगी निर्वाचित भएकी छन् ।










