हामीले नेतालाई भगवान् र बा बनाएर गल्ती गर्यौंः गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलका नेताहरूलाई भगवान वा ‘बा’ बनाएर पछ्याउने संस्कारका कारण मुलुकले गलत परिणाम भोग्नुपरेको बताएका छन् ।
चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले दलभित्र आफ्नै नेतृत्वलाई प्रश्न गर्न सक्ने लोकतान्त्रिक संस्कार विकास गर्न ढिलाइ भएकाले राजनीतिक दलहरूले त्यसको मूल्य चुकाउनुपरेको बताए ।
थापाले नेपाली काँग्रेसले पनि आफ्ना कमजोरी पहिचान गर्न र सुधारको प्रक्रिया अघि बढाउन ढिलाइ गरेको स्वीकार गर्दै त्यसको राजनीतिक असर अझै भोगिरहेको उल्लेख गरे । उनले विगतका कमजोरीबाट पाठ सिकेर अघि बढ्न रास्वपाका नेता तथा कार्यकर्तालाई सुझाव दिए ।
उनले भने, ‘हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौँ, ‘बा’ बनाएर गल्ती गरिसक्यौँ । तपाईंहरूले त्यो गल्ती नगर्नुहोला । गल्ती गरेको बेला आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला ।’
थापाले दलभित्र आलोचना र प्रश्न गर्ने संस्कार कमजोर हुँदा नेतृत्वमा विकृति मौलाएको बताए ।
उनले भने, ‘हामीले ढिलो गर्यौँ, त्यसैले सजाय पनि पायौँ । हामीले हाम्रो पार्टी लास र दासहरूको पार्टी होइन भन्ने कुरा धेरै अगाडि नै भन्न सक्नुपर्थ्यो, तर सकेनौँ । ढिलो गर्यौँ । त्यसबाट पनि सिक्नुहोला ।’
उनले रास्वपा नीति र नेतृत्व चयनको महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै पार्टीको आगामी यात्राका लागि शुभकामना व्यक्त गरे ।









