नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुरबाट सिक्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सार्वभौम अस्तित्व जोगाउन ऐतिहासिक नेतृत्व जङ्गबहादुर राणाबाट सिक्नुपर्ने बताएकी छन् ।

आइतबार आयोजित ‘नेपाली राष्ट्रियता र श्री ३ महाराज जङ्गबहादुर राणा’ विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले १९ औँ शताब्दीको औपनिवेशिक विस्तारको चुनौतीपूर्ण समयमा नेपालको स्वतन्त्रता र सार्वभौमसत्ता जोगाउन जङ्गबहादुर राणाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन् ।

भण्डारीले दक्षिण एसियाको ठूलो भूभाग ब्रिटिश साम्राज्यको अधीनमा गइसकेको अवस्थामा पनि नेपाल आफ्नो स्वतन्त्र अस्तित्व कायम राख्न सफल हुनु ऐतिहासिक उपलब्धि भएको बताउँदै त्यसको श्रेय तत्कालीन नेतृत्वलाई दिनुपर्ने धारणा राखिन् ।

उनले भनिन्, ‘जङ्गबहादुरको महत्वपूर्ण पक्ष नेपालको स्वतन्त्र अस्तित्वको रक्षासँग सम्बन्धित छ । १९औँ शताब्दी विश्वव्यापी रूपमा औपनिवेशिक विस्तारको युग थियो । त्यस समयमा दक्षिण एसियाको ठूलो भूभाग ब्रिटिश साम्राज्यको अधीनमा गइसकेको थियो । यस्तो परिस्थितिमा पनि नेपाल आफ्नो सार्वभौम अस्तित्व कायम राख्न सफल भयो । यस उपलब्धिको श्रेय हामीले तत्कालीन नेतृत्वका रूपमा जङ्गबहादुर राणालाई दिनुपर्दछ ।’

पूर्वराष्ट्रपति भण्डारीले जङ्गबहादुरले बेलायत भ्रमणमार्फत अन्तर्राष्ट्रिय शक्ति सन्तुलन बुझ्ने अवसर पाएको र त्यसपछि अवलम्बन गरिएको कूटनीतिक व्यवहारले नेपाल–ब्रिटिश भारत सम्बन्ध व्यवस्थापनमा योगदान पुगेको बताइन् ।

उनका अनुसार नेपाल–ब्रिटिश भारत सीमा व्यवस्थापनका क्रममा निर्माण गरिएका ‘जङ्गे पिलर’हरूले सीमा स्पष्टता तथा प्रशासनिक र कूटनीतिक स्थिरतामा महत्वपूर्ण भूमिका खेलेका थिए ।

भण्डारीले सन् १८५७ को भारतीय विद्रोह दमनमा नेपालले सैन्य सहयोग गरेबापत बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसहित ‘नयाँ मुलुक’ फिर्ता पाउनु जङ्गबहादुरको शासनकालसँग जोडिएको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरिन् ।

उनले भनिन्, ‘तर सन् १८५७ को भारतीय विद्रोह दमनमा सैन्य सहयोग गरेबापत नेपालले बाँके, बर्दिया, कैलाली र कञ्चनपुर क्षेत्र अर्थात नयाँ मुलुक फिर्ता पाउनु उहाँको शासनकालसँग जोडिएको एक महत्वपूर्ण राष्ट्रिय उपलब्धिको रूपमा हामीले स्मरण गर्नुपर्छ ।’

पूर्वराष्ट्रपति भण्डारीले वर्तमान नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा अघि बढिरहेको उल्लेख गर्दै राष्ट्रियताको अवधारणा अब केवल भौगोलिक अखण्डतामा मात्र सीमित नभई लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, समावेशिता, आर्थिक आत्मनिर्भरता र नागरिक अधिकारसँग पनि जोडिएको बताइन् ।

उनले इतिहासका अनुभवबाट सिक्दै सन्तुलित रूपमा राष्ट्रियताको संरक्षण र लोकतन्त्रको सुदृढीकरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिइन् ।

भण्डारीले जङ्गबहादुरद्वारा मुलुकी ऐनमार्फत राज्य सञ्चालनलाई संस्थागत गर्ने प्रयास, सती प्रथा अन्त्यतर्फका पहल तथा तत्कालीन सामाजिक संरचनालाई व्यवस्थित गर्ने प्रयासहरू पनि ऐतिहासिक रूपमा महत्वपूर्ण रहेको उल्लेख गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =