भारतलाई प्रधानमन्त्रीको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ

काठमाडौं । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले कालापानी र लिपुलेक नेपाली भूमि भएको ऐतिहासिक प्रमाण नेपालसँग रहेको बताएका छन् ।

आइतबार चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले सीमा सम्बन्धी आफ्नो पछिल्लो अभिव्यक्तिलाई लिएर उठेका प्रश्नहरूको स्पष्टीकरण दिएका हुन् ।

केही समयअघि प्रतिनिधिसभा बैठकमा नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिएपछि उनको आलोचना भएको थियो । सोही विषयमा स्पष्ट पार्दै साहले कालापानी, लिपुलेकलगायतका नेपाली भूभागबारे सरकार तथ्य र प्रमाणका आधारमा आफ्नो अडानमा दृढ रहेको बताए ।

उनले सीमा सम्बन्धी विषयमा छिमेकी मुलुकहरूले आपत्ति जनाउनु स्वाभाविक भए पनि नेपालसँग पर्याप्त प्रमाण रहेकाले त्यसका आधारमा आफ्नो दाबी प्रस्तुत गरिने उल्लेख गरे ।

साहले भने, ‘सीमाको विषयमा पनि चिन्ता लिनुभएको थियो । हामीले सीमाको विषयमा बोल्दाखेरि जुनसुकै देशसँग सीमाको विषयमा कुरा गर्दा उहाँहरूले आफ्नो आपत्ति जनाउनुहुन्छ । आपत्ति जनाउनुभयो, मलाई अचम्म लाग्यो ।’

उनले नेपालसँग कालापानी र लिपुलेक नेपाली भूमि भएको प्रमाण रहेको दाबी गर्दै आवश्यक परे ऐतिहासिक अभिलेखसमेत प्रस्तुत गर्न सकिने बताए ।

साहले भने, ‘तपाईंहरूसँग प्रमाण छ भने ल्याउनुस्, हामीसँग त प्रमाण छ । हामीसँग कालापानी र लिपुलेकको प्रमाण छ । त्यो प्रमाण लिनका लागि ब्रिटिस शासनकालका अभिलेख ल्याउनुपर्छ भने पनि हामी ल्याउँछौँ भनेका हौँ ।’

उनले नेपालले सीमा विवाद समाधानका लागि कुनै तेस्रो पक्ष वा वैदेशिक मध्यस्थकर्ताको खोजी नगरेको स्पष्ट पारे ।

साहले भने, ‘हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेको होइन । हामी आफ्ना छिमेकीहरूसँग आफैँ कुरा गरेर मिलाउँछौँ । हामीसँग प्रमाण छ र हामी त्यो प्रमाण प्रस्तुत गर्छौँ । यसमा कसैले आशङ्का मान्नुपर्दैन । मेरो राष्ट्रियताप्रति कुनै आशङ्का गर्न आवश्यक छैन ।’

महाधिवेशनका क्रममा उनले राष्ट्रियताको रक्षा र नेपाली भूमिको संरक्षणमा सरकार दृढ रहेको उल्लेख गर्दै प्रमाणका आधारमा सीमा सम्बन्धी विषय अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =