अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र साहले सरकारी सम्पत्तिको दोहन र भ्रष्टाचार गर्नेहरूविरुद्धको बारहीमा अख्तियारलाई आवश्यक परे पाँच वर्ष नै सोधपुछ गरिने चेतावनी दिएका छन् ।
आइतबार पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । केही दिनअघि मात्रै सरकारले प्रधानमन्त्री कार्यालय बोलाएर पाँच घण्टासम्म अख्तियारका कर्मचारीलाई थुनेर राखेको भन्दै समाचार प्रकाशित भएको थियो ।
सोही समाचारप्रति लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । कसैसँग निहुँ नखोज्ने तर विगतमा भएका सरकारी सम्पत्तिको दोहन भ्रष्टाचारमा भने निहुँ खोजेरै भएपनि कारबाही गर्ने चेतावनी दिए । आफूहरूले कुनै नियम, कानून नमिच्ने भन्दै नियममै बसेर काम गर्ने प्रतिबद्धता जनाए ।
उनले भने, ‘निहुँ खोज्नुपरे अगाडि बढ्दै गर्दा निहुँ खोजिन्छ । कस्तो केसमा मात्रै भने, विगतका केही दिनमा वा विगतका दिनहरूमा कुनै फटाइँ भएको छ, सरकारी सम्पत्तिको दोहन भएको छ, सरकारी रकमको दुरुपयोग भएको छ भने त्यहाँ निहुँ खोज्न जरुरी हुन्छ । त्यहाँ निहुँ खोज्छौँ हामी । र त्यो निहुँ खोज्दै गर्दा अख्तियारसँग पाँच घण्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने हामी पाँच घण्टा मात्र होइन, पाँच वर्ष पनि गर्र्छौं । पाँच वर्षसम्म अख्तियारसँग सरसल्लाह गरिन्छ । त्यसमा चिन्ता लिइराख्नुपर्दैन । हामीले नियम–कानून मिच्दैनौँ । नियममै बसेर काम गर्छौं । नियमभन्दा बाहिर जाँदैनौँ । हाउभाउ हेर्दाखेरि, सामाजिक सञ्जाल र मिडियाहरूमा हेर्दाखेरि अलिकति अनियन्त्रित देखिएला । त्यो देखिएको मात्रै हो, सबै कुरा नियन्त्रणमा छन् । कुनैपनि कुरा नियन्त्रणबाहिर गएको छैन । कुनैपनि विषयमा चिन्ता लिनुपर्दैन ।’
विगतका दिनहरूमा भएका सरकारी सम्पत्ति र रकमको दुरुपयोगलाई टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए ।
साहले कानुनी प्रक्रिया र अनुसन्धानका लागि संवैधानिक निकायहरूसँग समन्वय गर्न आफूहरू प्रतिबद्ध रहेको समेत बताए ।









