रास्वपालाई ज्ञवालीको आग्रहः ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग होस्’

काठमाडौं । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारका प्रारम्भिक निर्णय र गतिविधिमाथि प्रश्न उठाउँदै लोकतान्त्रिक संस्थालाई कमजोर बनाउने प्रवृत्ति दोहोरिए वर्तमान जनमत दीर्घकालीन रूपमा कायम नरहने चेतावनी दिएका छन् ।

चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सरकारका केही प्रारम्भिक कदमप्रति गम्भीर प्रश्न उठेका बताए ।

ज्ञवालीले नेपालजस्तो भूराजनीतिक संवेदनशील मुलुकले गलत निर्णयबाट उत्पन्न हुने दबाब थेग्न कठिन हुने भएकाले राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार अत्यन्त सजग रहनुपर्नेमा जोड दिए ।

उनले भने, ‘एउटा कुनै पनि गलत निर्णयले पार्न सक्ने भूराजनीतिक दबाब नेपालजस्तो देशले थेग्न धेरै गाह्रो हुन्छ । त्यसैले तपाईंहरूको यो जनमत राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षाका लागि सुदृढ हुन सकोस् भन्ने मेरो कामना छ ।’

ज्ञवालीले सरकार गठन भएको सय दिन पनि नपुग्दै केही निर्णय र गतिविधिले प्रश्न उठाएको उल्लेख गर्दै महाधिवेशनमार्फत ती प्रश्नहरूको जवाफ दिन रास्वपालाई आग्रह गरे ।

उनले लोकतन्त्र नियन्त्रण र सन्तुलनमा आधारित प्रणाली भएको उल्लेख गर्दै राज्यका प्रमुख संस्थाहरू कमजोर पार्ने प्रवृत्तिले जनताको समर्थन दीर्घकालीन रूपमा कायम नहुने चेतावनी दिए ।

ज्ञवालीले भने, ‘यदि न्यायालय कमजोर भयो, राष्ट्रपति संस्था कमजोर भयो, संसद कमजोर भयो, आलोचनाका स्वरहरू कमजोर भए र जनताका आलोचनालाई बेवास्ता गर्ने प्रवृत्तितर्फ अघि बढियो भने स्वाभाविक रूपमा त्यो जनमत सधैं रहँदैन ।’

उनले सरकारका प्रारम्भिक गतिविधि र रास्वपाको चुनावी वाचाबीच केही असंगति देखिएको टिप्पणी पनि गरे ।

ज्ञवालीले भने, ‘प्रारम्भिक दिनहरूले लोकतन्त्रलाई बलियो बनाउने तपाईंहरूको आफ्नै वाचापत्रसँग मेल नखाने कतिपय घटनाहरू भएका छन् । हामी चाहन्छौँ ती कुरा अपवाद बनून् ।’

उनले लोकतान्त्रिक संस्थाको सम्मान, आलोचनाप्रति ग्रहणशीलता र जनमतप्रतिको उत्तरदायित्व कायम राख्न रास्वपालाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =