सुशासनका कदम संविधान र विधिभन्दा बाहिर जानु हुँदैन: वर्षमान पुन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले सुशासन र थिति बसाउने नाममा चालिने कुनै पनि कदम विधिसम्मत र संविधानअनुकूल हुनुपर्नेमा जोड दिएका छन् ।
चितवनको भरतपुरस्थित गेष्ट हाउस चौरमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकार र रास्वपालाई सुशासनका अभियान सञ्चालन गर्दा संवैधानिक सीमाभित्र रहेर अघि बढ्न आग्रह गरेका हुन् ।
पुनले भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिताको एजेण्डामा रास्वपा र नेकपाबीच समान धारणा रहेको उल्लेख गर्दै यस्ता विषयमा विगतदेखि नै सहकार्य हुँदै आएको बताए । उनले आगामी दिनमा पनि सुशासनको अभियानमा आफ्नो पार्टीको साथ रहने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, ‘सुशासनको एजेण्डामा हामीबीच समानता छ । हामीले विगतमा सरकारमा रहँदा र बाहिर रहँदा पनि सुशासनको एजेण्डामा सहकार्य गरेका थियौँ । सुशासनको एजेण्डामा नेकपा र रास्वपाको जतिको निकट सहकार्य सायद अरूको बीचमा भएको छैन ।’
पुनले कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य, न्याय र सुशासनको पक्षमा दुवै दलले सहकार्य गरेको उल्लेख गरे ।
उनले भने, ‘आज पनि सुशासन, पारदर्शिता र थिति बसाउने अभियानमा हाम्रो यहाँहरूलाई पूर्ण समर्थन छ । भ्रष्टाचारको अन्त्य र सुशासनको एजेण्डामा हामी सँगै थियौँ, छौँ र रहनेछौँ ।’
यद्यपि, सुशासनको नाममा चालिने कदमहरू कानुनी र संवैधानिक दायराभन्दा बाहिर जान नहुनेतर्फ उनले सरकारको ध्यानाकर्षण गराए ।
पुनले भने, ‘थिति बसाउन चालिएका कदमहरू विधिसम्मत र संविधानभन्दा बाहिर नहोस् भन्ने कुरामा तपाईंहरूको पर्याप्त ध्यान पुग्नेछ भन्ने हाम्रो विश्वास छ ।’
उनले सुशासन, पारदर्शिता र संस्थागत सुधारको अभियानमा रास्वपालाई आफ्नो पार्टीको पूर्ण समर्थन रहने पनि स्पष्ट पारे ।









