कांग्रेस रास्वपाको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुश्मन नभई प्रमुख प्रतिष्पर्धी दल भएको बताएका छन् ।
चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले काँग्रेस र रास्वपाबीच राजनीतिक प्रतिष्पर्धा भए पनि शत्रुताको सम्बन्ध नरहेको स्पष्ट पारे ।
थापाले रास्वपाले छोटो समयमै प्राप्त गरेको जनमत र राजनीतिक उचाइप्रति आफूलाई लोभ लागेको उल्लेख गर्दै काँग्रेसलाई रास्वपाभन्दा बलियो र प्रभावशाली बनाउने लक्ष्य रहेको बताए । तर, त्यो लक्ष्य अरूलाई कमजोर बनाएर नभई आफ्नै पार्टीलाई सुधार गरेर हासिल गरिने उनको भनाइ थियो ।
उनले भने, ‘नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइन । हामी प्रतिष्पर्धा गर्ने हो । हामी अग्लो हुनु चाहन्छौँ । तपाईंहरूको अग्लाइ देखेर लोभ लागेको छ । तर हामी तपाईंहरुभन्दा अग्लो हुन चाहन्छौँ । बन्छौँ पनि एकदिन ।’
थापाले काँग्रेसले अरू दललाई कमजोर बनाएर नभई इमानदार राजनीतिक अभ्यासमार्फत आफ्नो उचाइ बढाउन चाहेको बताए ।
उनले भने, ‘तर तपाईंहरूलाई सानो बनाएर, खुट्टा काटेर होइन । मन, वचन र कर्मले इमानदारितापूर्वक काम गरेर हामी अग्लो बन्न चाहन्छौँ । हामी सफा हुन चाहन्छौँ, तर तपाईंहरूलाई फोहोर देखाएर होइन । हामी आफ्नै पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छौँ ।’
उनले संसदमा प्रतिष्पर्धी दलको हैसियतले सरकारका राम्रा काममा समर्थन र कमजोरीमा आलोचना दुवै गरिने स्पष्ट पारे ।
थापाले भने, ‘हामी तपाईंहरूको दुश्मन होइनौँ । हामी संसदमा प्रतिष्पर्धी छौँ । जहाँ प्रश्न उठाउनुपर्ने हो, औँला ठड्याउनुपर्ने हो, त्यहाँ औँला ठड्याउँछौँ । जहाँ ताली बजाउनुपर्ने हो, त्यहाँ ताली बजाउँछौँ ।’
उनले रास्वपाका नेता तथा कार्यकर्ताहरूलाई आफ्नै नेतृत्वको पनि आवश्यकताअनुसार आलोचना गर्न नछाड्न आग्रह गर्दै दलभित्र प्रश्न गर्ने र जवाफदेही बनाउने संस्कार बलियो बनाउनुपर्नेमा जोड दिए ।









