रास्वपा महाधिवेशनअघि मुकुलको कटाक्ष: ‘पार्टी स्थापना गर्ने म निम्तो सूचीमै परिनँ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक तथा पूर्वमहामन्त्री डा. मुकुल ढकालले भावुक सन्देश सार्वजनिक गर्दै प्रतिनिधिहरूलाई व्यक्तिभन्दा विचार, गुटभन्दा संस्था र पदभन्दा उद्देश्यलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनको अवसरमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ढकालले चार वर्षअघि पार्टी स्थापना गर्दाका संघर्षपूर्ण दिनहरू स्मरण गरेका छन् ।

उनले पार्टी दर्ताका लागि आवश्यक ५०० नागरिकता जुटाउनसमेत कठिन संघर्ष गर्नुपरेको उल्लेख गर्दै छोटो समयमै रास्वपा दुई तिहाइ जनमतसहित सरकारमा पुग्नु ऐतिहासिक उपलब्धि भएको बताएका छन्  ।

यद्यपि, पार्टी स्थापना प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका आफू महाधिवेशनको निम्तो सूचीमा समेत नपरेको भन्दै उनले असन्तुष्टि पनि व्यक्त गरेका छन् । ‘पार्टीलाई ‘Fuc*’ लेख्ने व्यक्ति प्रधानमन्त्री बनिसक्दा, पार्टी स्थापना गर्ने म भने महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ,’ उनले लेखेका छन् ।

ढकालले आफ्नो भौतिक उपस्थिति महाधिवेशनमा नभए पनि विचार, मूल्य र सिद्धान्त नै राजनीतिक व्यक्तिको वास्तविक उपस्थिति हुने उल्लेख गरेका छन् । महाधिवेशनमा आफू उपस्थित नभए पनि यदि त्यहाँबाट सही विचार, सही कार्यदिशा र सही निर्णय आउँछ भने त्यसमा आफ्नो समर्थन रहने उनको भनाइ छ ।

महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले पद प्राप्ति वा व्यक्ति चयनभन्दा पार्टीको वैचारिक दिशा र राजनीतिक लक्ष्य महत्वपूर्ण हुने बताएका छन् । ‘पद वा व्यक्तिमा सीमित हुनु राजनीति होइन, ‘राजव्यक्ति’ गर्नु हो । राजनीति भनेको राज्य सञ्चालनका नीति, सिद्धान्त, विचार र कार्यदिशामाथिको बहस हो,’ उनले उल्लेख गरेका छन् ।

ढकालले महाधिवेशन केवल पद बाँडफाँडको कार्यक्रम बन्न नहुने भन्दै प्रतिनिधिहरूलाई संस्थागत सोचका साथ निर्णय गर्न आग्रह गरेका छन् । ’राजव्यक्ति नगर्नुहोस्, राजनीति गर्नुहोस्,’ भन्दै उनले महाधिवेशनले सही कार्यदिशा, सही विचार र सही निर्णय तय गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =