प्रधानमन्त्रीमाथि नेपालमा राजा चाहिन्छ भन्नेको चाहना पूरा गर्ने जिम्मेवारी पनि छः लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई जनताले व्यक्त गरेका विभिन्न राजनीतिक चाहना र अपेक्षाहरू सम्बोधन गर्ने जिम्मेवारी रहेको बताएका छन् ।

चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजित रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

लिङदेनले पछिल्लो निर्वाचनमा मतदाताले परम्परागत दल र संगठनभन्दा बाहिर गएर नयाँ विकल्पलाई विश्वास गरेको उल्लेख गर्दै राजनीतिक दलहरूको संगठनात्मक संरचनाभन्दा जनताको निर्णय शक्ति अगाडि आएको टिप्पणी गरे ।

उनले भने, ‘यो यस्तो चुनाव भयो, जहाँ राजनीतिक दलको संगठनले काम गरेन, पैसाले काम गरेन । आज झण्डै दुई तिहाइ मत ल्याउने दलले पनि सबै जिल्लामा अधिवेशन गर्न सकेको छैन, सबै वडामा संगठन बनाउन सकेको छैन । तर जनताले उसलाई ठूलो मत दिएका छन् ।’

लिङदेनले जनताको यस्तो विश्वासलाई निराशामा परिणत हुन नदिन रास्वपालाई आग्रह गर्दै यो अवसर गुमे देशले नै धोका पाउने बताए ।

उनले भने, ‘यो अवसर गुमाउनु भयो भने धोका तपाईंको पार्टी र नेतृत्वलाई मात्रै होइन, सिंगो देशलाई हुनेछ । त्यसकारण यो जिम्मेवारी सफलतापूर्वक पूरा गर्न सक्नुपर्छ भन्ने मेरो आग्रह छ ।’

अध्यक्ष लिङदेनले मतदाताहरूले विभिन्न राजनीतिक अपेक्षासहित रास्वपालाई समर्थन गरेको उल्लेख गरे । उनले केही मतदाताले राजसंस्था पुनःस्थापनाको चाहनासमेत बोकेको दाबी गर्दै त्यस्ता विविध अपेक्षालाई पनि राजनीतिक प्रक्रियाभित्र सम्बोधन गर्नुपर्ने बताए ।

उनले भने, ‘नेपालमा राजा चाहिन्छ भन्ने विचार राख्नेहरू पनि छन् । उनीहरूको भोट राप्रपालाई हो तर केहीले रास्वपालाई पनि दिएका छन् । कसैले बालेन आउँछ भनेर, कसैले अर्को आशा गरेर भोट दिएका छन् ।’

लिङदेनले सबै प्रकारका राजनीतिक अपेक्षा र जनभावनालाई सम्बोधन गर्दै अघि बढ्न सके मात्र रास्वपाले ऐतिहासिक अवसरलाई सफल बनाउन सक्ने धारणा राखे ।

उनले रास्वपालाई प्राप्त अवसरलाई गम्भीरतापूर्वक उपयोग गर्न आग्रह गर्दै जनताको विश्वास कायम राख्न विशेष जिम्मेवारी रहेको पनि दोहोर्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + twenty =