संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा रहेका त्रुटि, विरोधाभास र अपूर्णताहरू सच्याउँदै संशोधनमार्फत थप समावेशी, न्यायपूर्ण र समृद्ध बनाउने ऐतिहासिक जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि आएको बताएका छन् ।

चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मुलुक अझै पनि सुशासन, समृद्धि, सामाजिक न्याय र वास्तविक समानताको खोजीमा रहेको बताएका हुन् ।

उनले संविधानसभाबाट जारी गरिएको संविधानमा संघीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षता जस्ता महत्वपूर्ण उपलब्धि संस्थागत भए पनि ती पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको टिप्पणी गरे । संविधानभित्र नै केही विरोधाभास, त्रुटि र अपूर्णता रहेको उल्लेख गर्दै विभेदमा परेका समुदाय, जातजाति र सांस्कृतिक समूहहरूको अधिकार सुनिश्चित गर्न संविधान परिमार्जन आवश्यक रहेको उनको भनाइ थियो ।

यादवले भने, ‘मुलुकमा अहिले सुशासन, समृद्धि र सामाजिक न्यायको खोजी भइरहेको छ । सयौँ वर्षदेखि विभेदमा परेका विभिन्न समुदाय, जातजाति र संस्कृतिका मानिसहरूले समानताको हक र अधिकार खोजिरहेका छन् । विगतमा संविधानसभाबाट घोषणा गरिएको संविधान त्रुटिपूर्ण, अधुरो र अपुरो रहेको छ । संविधान आफैँभित्र विरोधाभास पनि छन् ।’

उनले संविधानमा महत्वपूर्ण पक्षहरू समेटिए पनि धेरै विषय अझै अपूर्ण रहेको बताए ।

यादवले भने, ‘संघीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षता जस्ता महत्वपूर्ण पक्षहरू संविधानमा भए पनि धेरै कुराहरू अपुरा छन् । अहिलेको आवश्यकता संविधान संशोधन र परिमार्जनमार्फत त्यसमा रहेका विकृति तथा विसंगति हटाई थप समृद्ध बनाउनु हो । संविधानलाई सुधार गर्दै मुलुकको राजनीतिक तथा सामाजिक रूपान्तरणलाई नयाँ उचाइमा पुर्‍याउने ऐतिहासिक जिम्मेवारी पनि यहाँहरूमाथि आइपुगेको छ ।’

उनले समावेशी लोकतन्त्रलाई थप सुदृढ बनाउन रास्वपाले अग्रसर भूमिका खेल्नुपर्नेमा जोड दिँदै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 4 =