रास्वपालाई सिके राउतको सुझावः जेनजी आन्दोलनको भावलाई नबिर्सनु

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई जेनजी आन्दोलनको भावना, जनविश्वास र शहीदहरूको सपनालाई नबिर्सन सुझाव दिएका छन् ।
चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष राउतले आफू रास्वपालाई जेन–जी आन्दोलनबाट प्राप्त जनआस्था र विश्वासको मूल्य सम्झाउन महाधिवेशनमा सहभागी भएको बताएका हुन् ।
उनले रास्वपा जनआन्दोलनबाट उदाएको राजनीतिक शक्ति भएकाले आन्दोलनको मूल भावना र शहीदहरूको सपनालाई सधैँ आत्मसात् गर्नुपर्ने उल्लेख गरे ।
अध्यक्ष राउतले भने, ‘जेनजी आन्दोलनको भावलाई नबिर्सनु होला भनेर सम्झाउन पनि म यो महाधिवेशनमा आएको हुँ । त्यही भएर तपाईंहरू जुन आन्दोलनबाट उदय हुनुभएको छ, जुन जनआस्था र विश्वास प्राप्त गर्नुभएको छ, त्यो शहीदको सपना कहिल्यै पनि नबिर्सनु होला भनेर म यहाँबाट भन्न चाहन्छु ।’
उनले आफ्नो पार्टीको देश बनाउने सपना पनि रास्वपामार्फत पूरा होस् भन्ने चाहना रहेको उल्लेख गर्दै रास्वपालाई शुभकामना दिए ।
राउतले भने, ‘हाम्रो पार्टी फरक होला, केही छैन । हामी भन्छौँ– हाम्रो सपना पनि तपाईंमार्फत नै पूरा होस् । हामी त्यो चाहन्छौँ । त्यसका लागि हामी शुभकामना दिन चाहन्छौँ ।’
उनले रास्वपाले जेनजी आन्दोलनका शहीदहरूको सपना र जनताको अपेक्षालाई सम्मान गर्दै अघि बढ्ने विश्वास समेत व्यक्त गरे ।









