मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग

काठमाडौं । शान्तिका लागि सामूहिक अभियान (कोक्याप) ले मानव अधिकार रक्षकहरूको सुरक्षा तथा संरक्षण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

आइतबार आयोजित मानव अधिकार रक्षकहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै कोक्यापका अध्यक्ष पुष्प भुसालले चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि मानव अधिकार रक्षकहरूले लोकतन्त्र, जवाफदेहिता, विधिको शासन र मानव अधिकार संरक्षणमा महत्वपूर्ण तथा साहसिक भूमिका निर्वाह गरिरहेको बताएका हुन् ।

उनले मानव अधिकार रक्षकहरूको सुरक्षा सुनिश्चित गर्नु राज्य, नागरिक समाज र सरोकारवाला सबै पक्षको साझा जिम्मेवारी भएको उल्लेख गरे । साथै, लामो समयदेखि स्वीकृत हुन नसकेको मानव अधिकार रक्षक संरक्षण नीति तत्काल अनुमोदन गरी प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए ।

भुसालले उक्त नीति देशभर विभिन्न क्षेत्र, भूगोल र समुदायमा कार्यरत मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि महत्वपूर्ण आधार रहेको बताए ।

उनले भने, ‘देशको समग्र राजनीतिक तथा सामाजिक मानव अधिकारको अवस्था जटिल बन्दै गएको र नागरिक स्पेस क्रमशः खुम्चिँदै गएको वर्तमान परिस्थितिमा मानव अधिकार रक्षकहरूले अत्यन्त चुनौतीपूर्ण वातावरणका बाबजुद पनि लोकतन्त्र, जवाफदेहिता, विधिको शासन र मानव अधिकार संरक्षणमा महत्वपूर्ण तथा साहसिक भूमिका निर्वाह गर्दै आएका छन् । यस्तो अवस्थामा उनीहरूको सुरक्षा र संरक्षण सुनिश्चित गर्नु अत्यन्त आवश्यक र साझा जिम्मेवारी हो ।’

उनले मानव अधिकार रक्षक संरक्षण नीति अझै स्वीकृत हुन नसकेको उल्लेख गर्दै त्यसलाई शीघ्र स्वीकृत गरी कार्यान्वयनमा ल्याउन सम्बन्धित निकायहरूले गम्भीरता र तदारुकता देखाउनुपर्ने बताए ।

भुसालले भने, ‘यो नीति देशभर सबै क्षेत्र, भूगोल र विविध समुदायमा कार्यरत मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि अत्यन्त महत्वपूर्ण आधार हो । त्यसैले यसलाई छिटोभन्दा छिटो स्वीकृत गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न मानव अधिकार समुदाय, राष्ट्रिय मानव अधिकार आयोग, नागरिक समाज तथा सरोकारवाला सबैले गम्भीरता र तदारुकता साथ अघि बढ्न आवश्यक छ ।’

उनले न्यायप्रतिको प्रतिबद्धताका बाबजुद मानव अधिकार रक्षकहरू अझै पनि जोखिम, उत्पीडन, प्रणालीगत धम्की तथा कतिपय अवस्थामा भौतिक हिंसाको छायाँमा काम गर्न बाध्य रहेको बताए । डर, त्रास र हस्तक्षेपविहीन वातावरणमा स्वतन्त्र रूपमा मानव अधिकारको रक्षा गर्न पाउने अधिकार सुनिश्चित हुनुपर्नेमा पनि उनले जोड दिए ।

अध्यक्ष भुसालले राष्ट्रिय मानव अधिकार आयोगद्वारा मस्यौदा गरिएको मानव अधिकार रक्षकको संरक्षण, सुरक्षा र पहिचान सम्मानसम्बन्धी नमुना कानुनलाई पनि यथाशीघ्र स्वीकृत गरी कार्यान्वयनमा ल्याउन आग्रह गरे ।

उनले हाल नेपालमा मानव अधिकारको अवस्था थप जटिल बन्दै गएको र नागरिक अधिकारको दायरा क्रमशः खुम्चिँदै गएकोप्रति चिन्ता समेत व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − one =