गए रातिको वर्षासँगै परेको चट्याङ लाग्दा एक वृद्ध ठहरै
२०७९ वैशाख ७ गते

काठमाडौँ । हिजो मंगलबार भएको मेघ गर्जन र वर्षाका क्रममा चट्याङ लागेर मकवानपुरमा एक वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जीतबहादुर गोले रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार गए राति वर्षासँगै आएको चट्याङ लागेर गोले गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।
सोही चट्याङमा परी एक वृद्धा समेत घाइते भएकी छन्। घाइते हुनेमा इन्द्रसरोवर गाउँपालिका–२ का ६२ वर्षीया ठूलीमाया रुम्बा हुन्। उनको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको कार्कीले जानकारी दिएका छन्।
२०७९ वैशाख ७ गते
प्रतिक्रिया
सम्बन्धित








