इजरायली फिर्तीमा ट्रम्पसँग लेबनानको आग्रह

एजेन्सी । दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता गराउने, हिजबुल्लाहको निशस्त्रीकरण प्रक्रिया अघि बढाउने र युद्धपछि स्थायी शान्तिको आधार तयार गर्ने उद्देश्यसहित लेबनानका राष्ट्रपति जोसेफ आउनले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वासिङ्टनमा भेटवार्ता गर्दै छन् ।
लेबनान र इजरायलबीच अमेरिकी मध्यस्थतामा प्रत्यक्ष वार्ता जारी रहेका बेला यो भेटलाई युद्धपछिको कूटनीतिक प्रयासको महत्त्वपूर्ण चरणका रूपमा हेरिएको छ ।
लेबनानको अपेक्षा दक्षिणी क्षेत्रमा कब्जा जमाइरहेका इजरायली सेना फिर्ता गराउने, ती क्षेत्रमा लेबनानी सेनाको पूर्ण नियन्त्रण स्थापित गर्ने तथा त्यसका लागि आवश्यक अमेरिकी र अन्तर्राष्ट्रिय सहयोग सुनिश्चित गर्ने रहेको छ ।
लेबनानी सेनाले हिजबुल्लाहको प्रभाव रहेका क्षेत्रहरूमा आफ्नो उपस्थिति विस्तार गर्ने तयारी गरिरहेको छ ।
दुवै देशले गत जुन २६ मा दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता गर्ने र दशकौँदेखि प्रभाव कायम राख्दै आएको हिजबुल्लाहलाई क्रमिक रूपमा निशस्त्र बनाउने लक्ष्यसहित ‘फ्रेमवर्क सम्झौता’ सार्वजनिक गरेका थिए ।
उक्त सम्झौताले भविष्यमा औपचारिक शान्ति सम्झौताका लागि मार्गसमेत खुला गरेको छ । इजरायल स्थापना भएयता करिब आठ दशकदेखि लेबनान र इजरायलबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापित भएको छैन ।
अमेरिकी विदेश मन्त्रालयले सोमबार ‘पाइलट जोन’ अन्तर्गत पर्ने फ्रौन, श्रीफा र जाव्तार अल–घारबियाह गाउँमा कार्यान्वयन प्रक्रिया सुरु भएको जनाएको थियो । यद्यपि त्यसको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
यी गाउँहरू हाल इजरायली सेनाको प्रत्यक्ष नियन्त्रणमा छैनन् । घोषणापछि लेबनान र इजरायलले दुवैले तत्काल औपचारिक प्रतिक्रिया दिएका छैनन् ।
राष्ट्रपति आउनले आइतबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग पनि भेटवार्ता गरेका थिए ।
त्यस क्रममा रुबियोले अमेरिकाले फ्रेमवर्क सम्झौताको पूर्ण कार्यान्वयनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले हिजबुल्लाहको सैन्य संरचना अन्त्य नभएसम्म लेबनानमा दिगो शान्ति सम्भव नहुने धारणा राखे ।
‘देशमा हतियारको एकमात्र वैधानिक शक्ति सरकार हुनुपर्छ । त्यसका लागि हिजबुल्लाहको स्थान बलियो राज्य संरचनाले लिनुपर्छ’, रुबियोले बैठकपछि भनेका थिए ।
उनले शान्ति स्थापना केवल सैन्य विषय नभई लेबनानको पूर्वाधार पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्ने प्रक्रियासँग पनि जोडिएको बताए ।
लेबनानी सेनाले पछिल्ला दिनमा पाइलट जोनमा पर्ने केही क्षेत्रमा गस्ती र सुरक्षा चौकी स्थापना गर्दै आफ्नो उपस्थिति विस्तार गरेको छ । यद्यपि रोममा हालै सम्पन्न वार्तापछि कार्यान्वयन प्रक्रिया छिट्टै अघि बढ्ने अपेक्षा गरिए पनि इजरायली सेना अझै नियन्त्रणमा रहेका क्षेत्रबाट फिर्ता भएका छैनन् ।
उता इजरायली अधिकारीहरूले दक्षिणी लेबनानको तथाकथित ‘सुरक्षा क्षेत्र’ मा लामो समयसम्म सेना राख्ने योजना रहेको जनाएका छन् ।
हिजबुल्लाहले अमेरिकाको मध्यस्थतामा भइरहेको प्रत्यक्ष वार्तालाई अस्वीकार गर्दै आफ्नो प्रमुख सहयोगी इरान र अमेरिकाबीचको वार्तामार्फत युद्ध अन्त्य हुनुपर्ने धारणा राखेको छ । उसले लेबनानमा स्थायी शान्तिका लागि क्षेत्रीय समझदारी आवश्यक रहेको बताउँदै आएको छ ।
सन् २०२५ को सुरुदेखि सुधारवादी एजेन्डासहित सत्तामा आएको लेबनान सरकारले हिजबुल्लाहसहित सबै गैरराज्य सशस्त्र समूहलाई निशस्त्र बनाउने प्रतिबद्धता जनाएको छ ।
सरकारले मार्चमा हिजबुल्लाहले उत्तरी इजरायलमा रकेट प्रहार गरेर देशलाई पुनः युद्धतर्फ धकेलेको आरोप लगाएको थियो ।
यद्यपि त्यसपछि इजरायलले गरेको स्थल आक्रमण र व्यापक हवाई अभियानको पनि बेरुतले आलोचना गरेको छ ।
लेबनानी अधिकारीहरूका अनुसार ती आक्रमणमा चार हजारभन्दा बढी मानिसको मृत्यु भएको तथा करिब १२ लाख नागरिक विस्थापित भएका छन् ।
आन्तरिक राजनीतिक मतभेद, हिजबुल्लाह समर्थक शक्तिको विरोध र आर्थिक सङ्कटबीच लेबनान सरकारले इजरायली सेना फिर्ता, राष्ट्रिय सेनाको सुदृढीकरण र अन्तर्राष्ट्रिय आर्थिक सहयोगलाई दीर्घकालीन सुरक्षा तथा स्थायित्वका लागि अपरिहार्य आधारका रूपमा प्रस्तुत गर्दै आएको छ ।








