ककरोच जनता पार्टीको प्रवक्ताबाट हटाइए विजेता दहिया

काठमाडौं । भारतको ककरोच जनता पार्टी (सीजेपी) ले आफ्ना प्रवक्ता विजेता दहियालाई पदबाट हटाएको छ ।
पार्टीले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै दहियाको ‘असंवेदनशील व्यवहार’को कडा निन्दा गर्दै उनलाई प्रवक्ता तथा अन्य सबै आधिकारिक जिम्मेवारीबाट मुक्त गरिएको जनाएको हो ।
सीजेपीका अनुसार शान्तिपूर्ण प्रदर्शनकारी र पार्टीका कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरिरहेको समयमा दहियाले सार्वजनिक गरेको भिडियो पार्टीका मूल्य र सिद्धान्तविपरीत रहेको ठहर गरिएको छ ।
पार्टीले भनेको छ, ‘हाम्रा प्रवक्ता विजेता दहियाको अत्यन्त असंवेदनशील व्यवहारको हामी कडा निन्दा गर्छौं । शान्तिपूर्ण प्रदर्शनकारी र हाम्रो टोली प्रहरीको बर्बर हिंसाको सामना गरिरहेका बेला उहाँले भिडियो सार्वजनिक गर्नुभयो । यस्तो व्यवहार अस्वीकार्य छ र यसले हाम्रो आन्दोलनका मूल्य र सिद्धान्तप्रति गम्भीर असंवेदनशीलता देखाउँछ ।’
यसअघि सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा दहिया बर्गर खाँदै प्रदर्शनबारे टिप्पणी गरेको देखिन्छ ।
उक्त भिडियोमा उनले भनेका छन्, ‘यो प्रदर्शन मेरो जागिर होइन । मलाई कसैले मतदान गरेर छानेको होइन । म कसैप्रति उत्तरदायी छैन । म बर्गर खान्छु ।’
भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भएको थियो ।








