भेलमा २२ किलोमिटर बगेको गर्भिणी भैँसीको कथा

काठमाडौँ । असार २ गते दिउँसो सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा बगिरहेको एउटा भैँसी देखियो । हरेक वर्ष जसो बाढी आउने सिन्धुपाल्चोकमा यसपाली पनि मेलम्ची फुटेर बाढी आयो । धेरैको जीवनसँगै घर‚ खेत बगायो । यही क्रममा जिउँदो भैँसी पनि बाढीमा बग्दै गरेको देखियो ।

तर उर्लँदो भेलबीचमा भैँसीलाई बचाउन सक्ने स्थिति थिएन । टाढैबाट त्यो दृश्य देखिरहेकाहरू दुखमनाउ गर्दै थिए । कोही चुक्चुकाउँदै भैँसी स्वर्ग पुगोस् भन्दै कामना गरिरहेका थिए । तर‚ अचम्म भयो । नदीको भेलले हुत्याउँदै र बगाउँदै लगेको भैँसी काभ्रेको सिमाना फड्केश्वरमा भेटियो । स्थानीय बासिन्दाले भैँसीको उद्धार गरे । भैँसी धनीलाई बोलाए र जिम्मा लगाए ।

सञ्चारमाध्यममा यो कुरा आयो । कथा यतिमै सकियो । तर, छुटेको सत्यतामा रहेर विष्णु कल्पितले डकुमेन्ट्री ‘भगवानको भैँसी’ बनाएका छन् । ७१ वर्षका होमन सिंह शिव-भक्ति (घर्ती)को गर्भिणी भैँसी थियो, त्यो । होमनले घर र गोठसँगै आफ्नो आम्दानीको एकमात्र स्रोत भैँसी पनि गुमाएका थिए । उनलाई भैँसी भेटिएला भन्ने आशा एक चिम्टी पनि लागेको थिएन । तर‚ रवि खड्काले खिचेको भैँसी बग्दै गरेको भिडिओ अचानक भाइरल भयो, त्योसँगै भैँसी भेटिएको खबर पनि ।

आफ्नो सर्वस्व गुमाएका होमन ५ घण्टा हिँडेर भैँसी लिन पुगे । भैँसी ‘मैले बचाएको’ भन्नेहरूको प्रतिस्पर्धा नै चल्यो । होमन चुपचाप माहौल हेरिरहे । उनको भैँसीलाई आफ्नो ज्यानको बाजी लगाएर बचाएको भन्दै एक स्थानीयले ५० हजार दिएर भैँसी लैजान माग गरे । होमनले रुँदै ‘बरु भैँसी नै राख्नु‚ मसँग पैसा छैन’ भने । बस्ने बास र खाने गाँससमेत नभएको अवस्थामा उनी केही आस बोकेर त्यति लामो यात्रा तय गरी आएका थिए, अरू केही भन्ने स्थिति पनि त थिएन । स्थानीय बुद्धिजीवीले उनलाई साथ दिए । उनको आवाज बनेर बोलिदिए । त्यतिमात्रै होइन‚ भैँसी लैजान गाडीको खर्चसमेत जम्मा गरिदिए । पशु चिकित्सकले बिना कुनै पारिश्रमिक भैँसीको उपचार गरिदिए ।

भैँसी त लैजाने तर कहाँ राख्ने, के खान दिने ? केही चाँजोपाँजो थिएन । एकमात्र आशा थियो छिमेकीको । सोचे झैँ सहयोग पनि पाए उनले । भैँसीले त्यसको भोलिपल्ट नै पाडो पायो तर मरेको । भावुक बनाउने कुरा थियो । तर‚ भैँसी गुनिलो थियो । पाडो नै नभए पनि अझै दूध दिइरहेको छ ।

होमनले जीवनमा भोगेका दुःखको त चाङ नै छ । तर‚ जब यो भैँसी उनको गोठमा आयो, खानका लागि ऋण खोज्नु परेको थिएन । अहिले पनि यही भैँसीको सहारामा बाचिरहेका छन् होमन दम्पती ।

कल्पित आफूले योजना बनाएर डकुमेन्ट्री बनाएको नभई आफू पुगेको ठाउँको परिस्थितिले बनाउन उत्प्रेरणा दिने बताउँछन् । भिडिओ फुटेजका लागि उनलाई स्थानीय युवाले सहयोग गरेका छन् । हाल चलिरहेको १९औँ किम्फमा यो डकुमेन्ट्री प्रस्तुत गरिएको थियो । कार्यक्रममा उनले शिव-भक्ति दम्पतीलाई पनि डकुमेन्ट्री हेर्न बोलाए, आफ्नै खर्चमा । आँखाभरि आँसु पार्दै भैँसीका साहु होमन भन्छन्, ‘यो भैँसी मेरो आमा बराबर छ ।’

भगवानको भैँसीसँगै, जुलुङ्गो, होम, जिउँदो मोडो, सपारूँ, लाहुरेनी, ड्रिम माउन्टेन लगायत डकुमेन्ट्री र लघु चलचित्र किम्फमा ५ दिनका लागि अनलाइन हेर्न सकिनेछ । जसका लागि यो लिङ्कमा जान सकिन्छ ।

Watch God’s Buffalo

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *