लुम्बिनी कांग्रेस : शाह र पुन प्यानलसहित चुनावी मैदानमा

बुटवल । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समितिको नयाँ नेतृत्वका लागि संस्थापन र संस्थापनइतर समूहबाट दुई प्यानलले उम्मेदवारी दर्ता गराएका छन् । संस्थापन समूहबाट भरतकुमार शाह र संस्थापनइतर समूहबाट अमरसिंह पुनले प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन् ।

शाह रुपन्देहीका सांसद हुन्, उनी सार्वजनिक लेखा समिति सभापतिसमेत हुन् भने पुन रोल्पाको पूर्वसभापति एवम् पूर्वराज्यमन्त्री हुन् ।

शाहको प्यानलबाट दुई उपसभापतिमा राजु खनाल र सुधाकर पाण्डे, दुई महामन्त्रीमा जन्मजय तिमल्सिना र खिमान सिंह रायमाझी र तीन सहमहामन्त्रीमा संस्थापनबाट लक्ष्मीनारायण शाह, सरिता चौधरी र माया पुन उम्मेदवार छन् ।

यसैगरी पुन समूहबाट उपसभापतिमा भुवनप्रसाद श्रेष्ठ र अष्टभुजा पाठक छन् भने महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्रराज आचार्यले उम्मेदवारी दर्ता गरेका छन् ।

यसैगरी तीन सहमहामन्त्रीमा विष्णु खनाल (मुस्कान), खगराज पान्डेय र निमा गिरीले उम्मेदवारी दर्ता गरेका निर्वाचन समितिका प्रमुख डा. बुद्ध थापाले जानकारी दिए ।
प्रदेशका १२ जिल्लामध्ये बाँकेबाहेक ११ जिल्लाको अधिवेशन सकिँदा रुपन्देही र बर्दियाबाहेक ९ जिल्लामा संस्थापनइतरले जिल्ला सभापति जितेको छ । रुपन्देही र बर्दियामा संस्थापन पक्षले जितेको छ ।

यस्तै प्रदेश सदस्य पदमा जिल्लागत रुपमा १२ जिल्लाबाट १२ महिलासहित २४ जना र खुल्लामा ५ महिलासहित १७ जनाका लागि निर्वाचन हुनेछ ।

समावेशी सदस्यमा खस आर्यतर्फ ४ महिलासहित ८ जना, आदिवासी जनजातिमा २ महिलासहित ५ जना, मधेशीमा २ महिलासहित ४ जना, दलितमा २ महिलासहित ४ जना, थारु २ महिलासहित ४ जना, मुस्लिम १ महिलासहित २ जना र अल्पसंख्यक वा अपाङ्गमध्ये १ जनागरी जम्मा ६९ जनाको कार्यसमिति हुने कांग्रेस विधानमा व्यवस्था छ ।

लुम्बिनी प्रदेशमा प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधि गरी १ हजार ६ सय ४८ जना प्रतिनिधिहरू रहेका छन् । नेतृत्व चयनका लागि भोलि शनिबार बिहान ८ बजेदेखि मतदान शुरु हुने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *