कांग्रेस प्रदेश १ को अधिवेशन सुरु

विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर १ को प्रदेश अधिवेशन सुरु भएको छ । केन्द्रीय नेताहरूको उपस्थितिमा अधिवेशन सुरु भएको हो । बिहीबार नै उद्घाटन हुने भनिएको कार्यक्रम नेताहरूको बिचमा आन्तरिक कुरा नमिल्दा स्थगित भएको थियो ।

आज बिहान ८ बजे नै सुरु हुने भनिएको अधिवेशन १० बजेदेखि सुरु भएको हो । सभालाई भर्चुअल माध्यमबाट पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गरेका थिए । उनले वडा अधिवेशन, जिल्लाको नेतृत्व चयन पछि प्रदेश नेतृत्व चयनको क्रममा आइपुगेकोले अधिवेशन सम्पन्न गर्न पार्टी नेता कार्यकर्ताले खेलेको भूमिकाको प्रशंसा गरे ।
प्रदेश १ को अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रीय प्रतिनिधिको रूपमा पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई अधिवेशन प्रतिनिधिको रूपमा जिम्मेवारी दिएर पठाएकोले उनको अध्यक्षतामा कार्यक्रम सुरु भएको हो । तर कार्यक्रममा प्रमुख अतिथि कसैलाई पनि बनाइएन ।

प्रमुख अतिथि कसलाई बनाउने र कसले अधिवेशनको उद्घाटन गर्ने भन्ने बारेमा कुरा नमिल्दा बिहीबार गर्ने भनिएको अधिवेशन शुक्रबारसम्मको लागि स्थगित गरिएको थियो ।









