मझधारमा माधव

काठमाडौं । गएको जेठ ८ गते मध्यराति दोश्रोपटक विघटित प्रतिनिधि सभालाई पुनःस्थापित गर्नमा सर्वोच्च अदालतको संवैधानिक इजलासको मुख्य भुमिका रह्यो । तर, त्यो फैसलाका पछाडि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सबैभन्दा महत्त्वपूर्ण कारण बन्यो ।

नेपाल समूहका २३ जना सांसदको हस्ताक्षरलाई मुख्य आधार मान्दै, प्रतिनिधि सभा विघटनको ५०औं दिनपछि पुनःस्थापित भएको हो ।
आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक विघटन गरेको प्रतिनिधि सभा ब्युँताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका नेता नेपाल र उनी पक्षको एमालेले अब के गर्छ भन्ने कुराले देशको भावी राजनीतिको मार्ग तय गर्नेछ । अहिले नेपाल आन्तरिक दबाब र द्वन्द्वको मनोदशाबाट गुज्रिएका छन् । एकातिर वर्षौँ बिताएको एमालेको एकताको कुरा र अर्कातिर आफैंले माग गरेअनुसार सर्वोच्चले ब्युँताइदिएको संसद्लाई निरन्तरता दिन अहिलेको सरकारलाई दिनुपर्ने विश्वासको मत । एक रोज्दा अर्को गुम्ने स्पष्ट छ, त्यसैले नेपाल पक्ष अहिले मझधारमा छ ।

नेपालले लिएको जोखिमको गुण तिर्न प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता नेपाल पक्षलाई सरकारमा आउन मनाउन खोजिरहेका छन् । तर, उनले निर्णय गर्न सकेका छैनन् । वरिष्ठ नेता नेपालले देउवालाई प्रधानमन्त्री बनाउने अदालतले गरेको आदेश गरेसँगै गठबन्धनको बैठकमा अब आफू गठबन्धनबाट बाहिरिने बताएका थिए । त्यसअघि नै एमालेका दुवै पक्षका नेता सम्मिलित कार्यदलमा भएको १० बुँदे सहमतिले नेपाललाई थप दबाब सिर्जना गरेको थियो । त्यसैकारण पनि उनले गठबन्धनको बैठकमा भनेका थिए— ‘पार्टीमा अहिले विशेष अवस्था छ । तपाईहरुले मेरो अवस्था बुझिदिनुपर्यो । अब एमाले एकतालाई नै लिएर अघि बढ्नुपर्छ ।’

तर, प्रधानमन्त्रीबाट हटेपछि एमाले अध्यक्ष ओलीले निजी निवास बालकोटको बार्दलीबाट ‘एमालेमा अब माधव नेपाललाई कुनै ठाउँ नभएको’ बताएनन् मात्र नेपाल पक्ष ‘धोकेबाज’, ‘विकाउ माल’ र गद्दार भएको लाञ्छनासमेत लगाए । नेपाल पक्षको आग्रहलाई अटेर गर्दै शुक्रबार बोलाइएको बैठकमा एमालेले सरकारलाई मत नदिने निर्णय गर्यो ।

तर त्यसलगत्तै मकालुखबरसँगको कुराकानीमा नेपाल पक्षका नेता विरोध खतिवडाले आफूहरुलाई पार्टीको ह्वीप नलाग्ने र देउवालाई विश्वासको मत दिनुपर्ने बताए ।

नेपाल पक्षको भनाई भने अहिलेको सरकारलाई विश्वासको मत दिन आफूहरुलाई पार्टीको ह्वीप नलाग्ने दाबी गर्दै आएको छ ।

हुँदाखाँदाको सरकार ढालेको भन्दै नेपालप्रति नेता र कार्याकर्ताको आक्रोश चुलिएको छ । तर, नेपाल पक्ष भने सरकार ढालेको भन्दा पनि संसद्लाई पूरै अवधि चलाउनुपर्छ भन्ने संविधानको मर्मलाई आत्मसाथ गरिएको जिकिर गर्छ । ‘एक हुनुहुँदैन भनेर त कसले सोच्छ र ?,’ एमाले विवाद समाधान गर्नेगरी संस्थापन पक्षको तर्फबाट गठित वार्ता टोलीका संयोजक सुवासचन्द्र नेम्वाङ्गले भने— ‘तर, पछिल्लो पटक सरकार ढाल्ने खेल जसरी भयो । यसले त्यति धेरै फाइदा कसैलाई पनि गर्दैन । अबको अवस्थाले पनि एमाले पार्टी कस्तो बन्छ र कस्तो हुन्छ भन्नेबारे पुष्ट्याइँ गर्छ ।’ नेम्वाङ्गले भनेजस्तै अबको अवस्था के हुन्छ भन्नेबारे भने सायदै कसैलाई थाहा छ । प्रतिनिधि सभा पुनःस्थापनाको सङ्कल्प पूरा भएपछिको मझधारमा रहेका नेता नेपालको मूड र मूभले नै अबको राजनीतिको भविष्य तय गर्नेछ ।

त्यसो त गत जेठ १९ गते बालुवाटारमा संस्थापन पक्षका शीर्ष नेताहरुले माधवकुमार नेपालबिनाको एमालेको परिकल्पना गरेका थिए ।

संस्थापन पक्ष ‘माधवकुमार नेपाल पार्टीमा नआएपनि बाँकी सबै कमरेड आइदिऊन्’ भन्ने ठान्छ । संस्थापन पक्षका एक नेताले मकालुखबरसँग भने— ‘सबै कमरेडहरु अनाएपनि दुईजनाबाहेक अन्य कमरेडहरु चाहिँ आउनुहुन्छ भन्ने हाम्रो रिडिङ् हो ।’ संस्थापक्ष पक्षले नेपाल र उपाध्यक्ष भीम रावललाई भने ‘हार्डलाइनर’का रुपमा बुझ्दै आएको उनले स्वीकारे ।

रणनीति बनाउन व्यस्त
नेपाल रणनीति बनाउनमा व्यस्त रहेको उनीनिकट नेताहरु बताउँछन् । खासगरी गत असार २७ गते एमाले कार्यदलले तयार पारेको १० बुँदे प्रस्तावनालाई ध्यानमा राख्दै विपक्षी गठबन्धनमा नरहने मनस्थिती बनाएका नेपाल पक्ष अवस्थाअनुरुप चल्ने रणनीतिमा रहेको नेता रघुजी पन्त बताउँछन् । भन्छन्– ‘अवस्था हेरेर चल्नुपर्ने हुन्छ, यसै हुन्छ अथवा यसरी नै जानुपर्छ भन्ने भएको छैन । १० बुँदे प्रस्तावको कुरा छ । सबै सबै मिलाएर अगाडि बढ्नै नै हाम्रो प्रयत्न रहन्छ ।’

पछिल्लो २/३ दिनयता आफूसँग पनि छलफल भएको बताउँदै अर्का नेताले भने— ‘उहाँले अबको सरकारमा आफ्नो भूमिका, पुनःस्थापित संसद्मा आफ्नो भूमिका, पार्टी मिलनको सूत्रलगायतका विषयमा गम्भीर विचार/विमर्श गर्दै हुनुहुन्छ ।’

सत्तारुढ गठबन्धन विपक्षी एमालेका २३ जना नै सांसदहरुले विश्वासको मत नदिने हुन् कि भनेर सचेत छ ।

अब मिल्नुहुन्छ कि नयाँ पार्टीमार्फत अघि बढ्नुहुन्छ ? भन्ने प्रश्नमा ती नेताको जवाफ छ— ‘जसरी भएपनि हामी अगाडि बढ्न सक्छौँ ।’ यसअघि नेपालकै साथमा रहेका वरिष्ठ नेता झलनाथ खनालले पनि नयाँ पार्टी खोल्ने बताएका थिए । ओलीले आफूहरुमाथि कारबाही गरेपछि मकालुखबरसँग प्रतिक्रिया दिँदै खनालले भनेका थिए— ‘के हामीले अर्को पार्टी खोल्न सक्दैनौँ र ? जान्दैनौँ र ? हामी जसरी पनि अघि बढ्न सक्छौँ ।’ खनालको बोलीजसरी पनि आफूहरु अघि बढ्न सक्षम रहेको ती नेताको भनाइ छ । भन्छन्— ‘अर्कै पार्टी खोल्न पनि ठूलो विषय होइन ।’ त्यसो त गत वैशाख ७ गते नेपालनिकट विद्यार्थी नेता जीवन राईले नेकपा एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन् । तत्पश्चात् आयोगले राईलाई असार १० गते चुनाव चिह्न कमलसँगै दल दर्ताको प्रमाणपत्र दिइसकेको छ ।

०००
‘सरकारलाई विश्वासको मत नदिने’ एमाले संसदीय दलको निर्णयलाई संस्थापन पक्षले अन्तिम सर्तको रुपमा तेर्स्याउने तयारी गरेको बुझ्न सकिन्छ । प्रवक्ता प्रदीपकुमार ज्ञवालीले मकालुखबरसँग भने— ‘वर्तमान सरकारलाई विश्वासको मत दिँदैनौँ । यदि कसैले दिन्छ भने त्यो दिनदेखि नै ऊ एमाले होइन भनेर पार्टीले चिन्नेछ ।’

तर नेपाल पक्षको भनाई भने अहिलेको सरकारलाई विश्वासको मत दिन आफूहरुलाई पार्टीको ह्वीप नलाग्ने दाबी गर्दै आएको छ ।

सत्तारुढ गठबन्धन विपक्षी एमालेका २३ जना नै सांसदहरुले विश्वासको मत नदिने हुन् कि भनेर सचेत छ । यो भ्रम नहोस् भन्नका लागि प्रधानमन्त्री देउवाले नेपालले पार्टी फुटाउन मिल्नेगरी अध्यादेश ल्याउने देखि नेपाल पक्षका सांसदहरुलाई अनुकूल हुनेगरी चुनावमा वातावरण मिलाइदिनेसम्मको आश्वासन दिलाएको नेताहरु बताउँछन् । यसबारेमा भने छलफल तथा सम्वाद नभएको नेता विरोध खतिवडाको भनाइ छ । भने— ‘त्योबारेमा छलफल तथा सम्वाद भएको थाहा छैन । त्यसै भयो भने पनि समस्या भने हुँदैन । उहाँ (नेपाल) त्यो ल्याकत राख्नुहुन्छ ।’
उसो त नेपालले नयाँ पार्टी निर्माणको आधार गत चैत ५ र ६ गते ललितपुरमा भएको केन्द्रीय कमिटी बैठकमा नै देखाइसकेका छन् ।

अब नेता नेपाल पक्षले चाल्ने कदम जस्तोपनि हुनसक्ने उनीनिकट नेताहरुले बताइरहेका छन् । यसको मतलब यस्तै कदम हुनेछ भन्ने तय भइसकेको छैन । प्रधानमन्त्रीबाट हट्नुपरेका कारण रन्थनिएका ओली र उनलाई हटाइछोड्न कम्मर कसेर लागेका नेपालबीचको अबका केही दिनको सम्बन्ध र सम्वादको यो कुरा तय गर्ने दुवै पक्षका दोश्रो पुस्ताका नेताहरु बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *