उपनिर्वाचनले एमाले जनताको भरपर्दो पार्टी हो भन्ने पुष्टि गर्‍यो : विष्णु रिमाल

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले उपनिर्वाचनले आफ्नो पार्टी नेपाली जनताको सबैभन्दा भरपर्दो शक्ति भएको सन्देश दिएको बताएका छन् ।

इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा एमाले उम्मेदवार विजयी भएलगत्तै उहाँले सो प्रतिक्रिया दिएका हुन् ।

मंगलबार अपरान्ह पार्टी मुख्यालय च्यासलमा संक्षिप्त कुराकानीमा उपमहासचिव रिमालले कोशी प्रदेश नामाकरणको सन्दर्भमा पनि एमालेले लिएको अडानलाई जनताले अनुमोदन गरेको तर्क गरे ।

कोशी प्रदेशको नामाकरण गलत भन्नेहरु, त्यस सन्दर्भमा चपाएर बोल्नेहरु उपनिर्वाचनमा हारेको र कोशी प्रदेश नामाकरण ठिक छ भन्ने एमालेको एजेण्डालाई उपनिर्वाचनमार्फत जनताले अनुमोदन गरेको उनको भनाई थियो ।

उपमहासचिव रिमालले उपनिर्वाचनको मत परिणाम सहज र उत्साहजनक रुपमा आएको उल्लेख गर्दै एमालेले भन्दै आएको एजेण्डाको आधारमा दलहरुलाई जनताले चुन्न पाउनुपर्छ भन्ने अडान पनि उपनिर्वाचनले सही छ भन्ने सन्देश दिएको जिकिर गरे ।

उनले उपनिर्वाचनले सुदूरपश्चिम प्रदेश सरकार स्थिर हुने सम्भावना बढेर गएको र पूर्वमा एकल जातीय पहिचानको अर्थहीन बहस र विवाद अन्त्य हुने अवस्था आएको बताए ।

उपमहासचिव रिमालले भने– ‘पहिलो कुरा त एमालेको शक्ति क्षय भएको छ कि छैन ? भनेर मान्छेले क्वेशन गर्थे । इलाम हामीले जितेको ठाउँ हो । र बझाङ हामीले हारेको ठाउँ हो । दुवै ठाउँमा जित्नुको अर्थ के हो भने इलाममा कम्तिमा पनि हामी जहाँको त्यहीँ छौं भन्ने बुझिनै हालियो । त्यसमाथि बझाङमा हामीले नयाँ प्राप्त ग¥यांै । त्यो हिसावले एमालेको शक्ति वृद्धि भएको त्यसले बुझाउँछ । इलामकै सन्दर्भमा पनि पहिलाको तुलनामा भोटको मार्जिन जुन बढेको छ । त्यसले पपुलर सर्पोट एमालेका पक्षमा छ भन्ने बझाउँछ । यो दुई वटा चाँही सामान्य सन्देश हो । त्यो भन्दा परको सन्देश चाहीँ के हो भने एमालेले सधैंभरी पार्टीहरुले जनतालाई विकल्प दिनुपर्छ । विषयमा आधारित, मुद्दामा आधारित चुनाव लडनु पर्छ । दल छान्ने अधिकार चाहीँ जनतालाई दिनु पर्छ । कुन एजेण्डामा दलहरु चुनाव लड्दैछन ? त्यसको आधारमा चाहीँ भोट हाल्ने वा नहाल्ने भन्ने अधिकार जनतालाई हुनुपर्छ भन्दै आयो । विगत केही समयदेखि चाहीँ दलहरुको सिन्डीकेट खडा गरेर हामी त बलियो भयौ है भन्दै जनतालाई एक किसिमले बन्धक बनाउने तरिकाले मतलाई दिग्भ्रमित गर्ने काम भईरहेको थियो । त्यो चाहीँ यो पटकको चुनावबाट खण्डित भएको छ । र हामीले भन्दै आएको, एमालेले भन्दै आएको यदि एजेण्डा च्वाईस गरेर चुनावमा भोट हाल्न पाए भने जनताले ठिक चयन गर्छन् । र जनताको चयन चाँही सही हुन्छ भन्नेकुरा फेरि पनि पुष्टि भएको छ । तेस्रो विषय चाहीँ भर्खरै सम्पन्न भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पनि एमालेलाई निर्णायक बलियो राष्ट्रिय शक्तिको रुपमा अगाडि बढाउनु पर्छ भनेका थियौं । निर्णायक राष्ट्रिय शक्ति एमालेलाई बनाउनु पर्छ भन्दाखेरी एमाले मात्रैलाई बलियो बनाउनु पर्छ भनेका थिएनौं । एमाले त आफैँमा बलियो छँदैछ । एमालेका वरिपरी केन्द्रितकृत हुन सक्ने र ध्रुवीकृत हुनसक्ने राष्ट्रलाई माया गर्ने शक्तिहरु एक ठाउँमा आउनु पर्छ भन्ने हाम्रो तर्क हो । त्यसो हुँदाखेरी कतिपय ठाउँमा हामी प्रतिस्पर्धामा रहँदारहँदै पनि विभिन्न फरक दलमा रहेका साथीहरुले पनि हामीलाई मत दिनु भयो । र, एमालेलाई जिताउनु उचित हुन्छ भन्ने ठान्नुभयो । जसको कारणले गर्दाखेरी चाहीँ यो परिणाम सहज र एकदम उत्साहजनक आउन गयो । र एमालेले निर्णायक राष्ट्रिय शक्तिमार्फत मुलुकका विकास गर्नसक्ने र राजनीतिक स्थिरता दिनसक्ने भन्ने कुरामा चाहीँ जन अनुमोदन भयो भन्ने हामी ठान्दछांै । त्यस्तै अब कोशीकै सन्दर्भमा हेर्ने हो भने इलामको सन्दर्भमा त यो जनमत संग्रह हो पनि भन्दैथिए मान्छेहरुले । हामीले सबै जातजाति, भाषाभाषीको साझा पहिचानको कुरा गर्दै आएका थियौं । केही साथीहरुले चाँही एकल जातीय पहिचानको कुरा गर्दै आउनुभएको थियो । हाम्रो जस्तो बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक देशमा सबै जातजाति, भाषाभाषी जनजातिहरुको समान सम्मान हुनुपर्छ भन्ने हाम्रो मत सही थियो । त्यसै कारणले गर्दाखेरी कोशी प्रदेश नामाकरणमा हामीले साझा नाम कोशी राखेका थियौं । जसले कोशी गलत छ भन्नुभयो, उहाँहरु धेरै तल पर्नुभयो । जसले कोशीको सन्दर्भमा चपाएर बोल्नुभयो । उहाँहरु पनि हार्नु भयो । जसले कोशी राख्नु ठिक थियो भन्ठान्यो । त्यो चाँही अनुमोदित भयो । त्यो कारणले गर्दाखेरी कोशी प्रदेशको सन्दर्भमा त यो जनमत संग्रहमा पनि एमालेले आफूले पक्षपोषण गरेको विषय चाँही ठिक रहेछ भन्ने पुष्टि गर्नसक्यो । त्यसकारणले गर्दा यो उपनिर्वाचनले २÷३ वटा म्यासेज र २÷३ वटा निर्णायक काम गरेको छ । सुदूरपश्चिममा सरकार स्थिर हुनसक्ने सम्भावना दिएको छ । किनभने एउटा सिटले गर्दाखेरी हामीले एक सिट जित्न साथै सुदूरपश्चिममा सरकारको स्थिर हुने सम्भावना बढेर गएको छ । पूर्वमा हेर्दाखेरी जुन कृतिम ढंगको बहस र विवाद थियो । त्यो अव अन्त्य हुने दिशातर्फ गएको छ । र एमालेले मिसन २०८४ भनिरहँदाखेरी एमालेलाई भर पर्न उचित होला नि नहोला ? अरु पो छन् कि भरपर्दा भन्ने हिसावले जनतामा आउन सक्ने एक किसिमको दुविधालाई चाहीँ यो निर्वाचनले चाहीँ एमाले भरपर्दो शक्ति हो । र, मिशन २०८४ त्यही तरिकाले पूरा गर्नुपर्छ भन्ने कुरालाई चाहीँ यसले दिएको सन्देश हो जस्तो लाग्छ ।’

उपमहासचिव रिमालले काँग्रेस र एमालेबीच तत्काल सत्ता सहकार्य हुने सम्भावना नरहेको बताए । उनले एमालेले चाहने भने भने शेरबहादुर देउवा प्रधानमन्त्री हुने भएपनि त्यसो गर्न जरुरी नरहेको बताए ।

उपमहासचिव रिमालले भने–‘तत्कालका लागि काँग्रेससँग सत्ता सहकार्यको सम्भावना छैन । हामी एउटा समिकरणमा छौं, काँग्रेसहरुले पहिला समिकरण बनाए । अहिले यतिखेर चाँही त्यो सम्भावना छैन । अहिले एमाले र काँग्रेसबीच नयाँ समिकरण बन्दै बन्दैन । अहिले एमालेले चाहेर बनाउने भनेको के हो भने शेरबहादुरजीलाई प्रधानमन्त्री बनाउने हो । त्यो हामीलाई के जरुरी छ र ? त्यो जरुरी नै छैन नि ।’

उपमहासचिव रिमालले एमाले वर्तमान सत्ता समिकरणलाई पूरै कार्यकाल कामयै राखेर अघि बढ्न लागिपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *