गलत कामप्रति सबैले व्यंग्य गरौं, कुरीकुरी भनौं

कार्टून (व्यंग्यचित्र) मलाई सानैदेखि मनपर्ने विधा हो । कक्षामा पनि लुकी लुकी कार्टूनचित्र बनाएर बस्थेँ । कहिले त सरहरूकै समेत कार्टून बनाइरहन्थेँ । २०५१ मा मैले बनाएको कार्टून पत्रिकामा छापियो ।

आफूले बनाएको कार्टून खेलाएर बसेको देखिहाल्नुभो बर्माकुमार सरले । ल अब पिटाइ, नभए गालीचाहिँ भेट्ने भएँ भनेर नीलोकालो भएँ ।

तर उल्टो भो । गाली गर्नुभएन, कार्टून लिएर जानुभो । सरको डेरा भीमसेनस्थानको कामना प्रकाशनसँगै रहेछ । भोलिपल्ट महानगर पत्रिकाको अन्तिम पानामा मेरो कार्टून पो छापिएको रहेछ । विद्यालयमा रहेको शौचालयको अवस्था देखेर बनाएको थिएँ‚ त्यो कार्टून । यसै विषयमा विद्यार्थी र पाले दाइबीचको कुराकानीमा आधारित थियो त्यो कार्टून । मेरो खुसीको सीमा रहेन । साथीहरूको बीचमा पनि मेरो क्या फुर्तीफार्ती ।

उबेला गाईजात्रा कार्टूनिस्टका लागि पनि दशैँजस्तै हुन्थ्यो । रंगीचंगी गाईजात्रे पत्रिका छापिन्थे । मेरा कार्टूनहरू पनि कामनाको गाइजात्रे अंकमा छापिए । केही समयपछि त्यसको पारिश्रमिक पनि पाएँ । रहरै रहरमा गरेको काम छापिनु, अनि त्यसबापत पैसा पनि पाइनु । विद्यार्थी केटोलाई के चाहियो ? झन् हौसिएँ । बर्मा सरले उबेला कार्टूनबापत् पिटाइ दिनुभएको भए म आज के हुन्थेँ होला, थाहा छैन ।

रमाइलो लागेर थालेको यो काम, पछि पेशा नै भयो । अनि अहिले त दिनचर्या नै बनेको छ । हरेक दिन जसो कार्टून बनाइन्छ, नबनाएको दिन दिमाग यसैको वरिपरि घुम्छ । समाचार, भाषण सुन्दा, गफगाफ गर्दा व्यंग्यचित्र फुर्छ ।

कार्टूनिस्टले राजनीति र समाजको राम्रो पक्ष कहिल्यै देख्दैन भन्ने पनि बात लाग्ने गर्छ । तर व्यंग्य भनेकै समाज र राजनीतिमा भएका विकृति र नकारात्मकतालाई गर्ने हो । सही कुरालाई होइन । राम्रो कुरालाई त व्यंग्य गर्ने, उडाउने होइन‚ प्रोत्साहन गर्ने हो नि । त्यसैले कार्टूनिस्टका आँखाले यस्तै नेगेटिभ कुरा, भद्रगोल, नेताका मनमौजी पारा र बेलगाम बोली खोजिरहन्छन् ।

कार्टून एउटा शक्तिशाली विधा हो, अभिव्यक्तिको सशक्त माध्यम । मेरो आफ्नै कुरा गर्नुपर्दा लामा लामा समाचार, लेख र कथा पढ्न मलाई झ्याउ लाग्छ । भन्न खोजेको कुरा छोटो छरितो होस् भन्ने चाहन्छु । अरु पाठकलाई पनि यस्तै त होला नि भन्ने मनमा लाग्छ । त्यसैले कमसे कम शब्दको प्रयोगमा हाँस्य र व्यंग्य मिसाएर चित्र बनाउँछु । अतः ला…मो कुरालाई प्रभावकारी ढंगले एउटै चित्रमा उतार्नुपर्ने हुन्छ । थोरै शब्द वा चित्रले मात्र पनि सबै कुराहरू‚ त्यो पनि चोटिलो र हेर्दा/सुन्दा नै मानिस हाँस्ने‚ केही न केही छाप छोड्ने खालको कार्टून बनाउनु चानचुने कुरा होइन । अर्थात् व्यंग्यचित्र बनाउन अरुले देखे/भनेजस्तो सजिलोचाहिँ होइन ।

व्यंग्य र गालीमा फरक छ । त्यसै कारण पनि कार्टून बनाउने काम अति संवेदनशील र रचनात्मक हो ।

हामीले कार्टून बनाउने भनेको पात्र (व्यक्ति)माथि होइन, उसको गलत काम, पद र शक्तिको दुरुपयोगविरुद्ध हो ।

कार्टून बनाउनुको आशय भनेको त्यस्ता विकृति सच्याइयोस् भनेर खबरदारी स्वरुप पनि हो । कुनै व्यक्ति जिम्मेवार पदमा बसिसकेपछि उसले सुम्पिएको जिम्मेवारी कुशलतापुर्वक बहन गर्नुपर्छ, तर त्यो भएन भने कार्टून बन्छ (राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, नेता,सेनापति, प्रहरीको हाकिम वा अरु यस्तै पदमा रहेकाहरुका कार्टून बनाइन्छन्) । पत्रकार जस्तै कार्टूनिस्ट पनि प्रतिपक्ष हो भनिन्छ । हो पनि ।

गाली र व्यंग्यमा फरक छ । यो कुरा कार्टूनिस्टले बिर्सनुहुँदैन । चित्रमा पात्रको व्यक्तिगत कुरा वा उसको शारीरिक असक्तता, मन र आत्मसम्मान तथा आस्थामाथि प्रहार गर्ने तथा होच्याउने काम भने गरिनुहुन्न ।

कार्टूनिस्टको पेशा एउटा शत्रु कमाउने पेशाचाँहिँ हो रहेछ । कसैलाई कार्टून नै बनाइदिँदा नराम्रो त लाग्दो हो नि ।

तर सम्बन्धित व्यक्ति र उसका समर्थकहरूले मेरो कमजोरीबारे औँल्याइदियो भनेर लिँदैनन् । हामीलाई विरोध गर्ने, व्यंग्य गर्ने भन्ने जस्तो तरिकाले हेर्छन्/बुझ्छन् । त्यसैले गालीको वर्षासँगै बेला बेला कार्टूनिस्टलाई धम्की पनि आउने गर्छ भने कुनै बेला कार्टूनिस्टलाई राज्यले नै खेद्न थाल्छ । चार्ली हेब्डोको प्रसंग पुरानो भएको छैन । त्यसैले चुनौतीपूर्ण पेशा पनि हो यो ।

कार्टूनिस्टले पनि पत्रकारले जस्तै नराम्रा र गलत कामप्रति खबरदारी गर्ने नै हो, कार्टूनबाट होस् वा समाचारबाट । त्यसैले यी दुवै पेशा चुनौती र जोखिमपूर्ण नै छन् । सकारात्मक परिवर्तन आओस् भनेर नै हामीले व्यंग्यचित्र बनाउने हो । तर पनि नेता, नेतृत्वमा पुगेको मान्छेले चाहिँ देखेर पनि नदेखेजस्तो गरिदिन्छन् । आफ्नो गलत कामको विरोध भइरहेको रहेछ भन्ने थाहा पाउँदापाउँदै आफूलाई सच्याउँदैनन् । भनिन्छ नि- निदाएकालाई उठाउन सकिन्छ, निदाएजस्तै गर्नेलाई के गर्ने ?

उनीहरुलाई जिम्मेवारीको बोध कम भएको हो । विरोध भइरहेको छ भन्ने थाहा पाएपछि आत्मालोचना गर्ने, सुधार गर्ने प्रतिबद्धता जनाउने र सुधार गर्नुपर्नेमा थाहा नपाएको जस्तो गरी बुझ पचाउने कामले उनीहरूको जिद्दिपना र ‘म नै ठीक हुँ’ भन्ने घमण्डलाई मात्र देखाइरहेको हुन्छ ।

पछिल्लो समय सञ्चारमाध्यममा कार्टूनको माग बढेका छन्‚ यो खुसीको कुरा पनि हो । तर जति हुनुपर्ने हो त्यतिचाहिँ भइसकेको छैन ।

हर मानिसमा व्यंग्य गर्ने भन्नुको मतलब रचनात्मक तरिकाले गलत कामबारे प्रश्न गर्ने, उनीहरुलाई लाज लागोस् भनेर कुरीकुरी गर्ने र लज्जित बनाउने क्षमताको विकास होस् ।

अन्तराष्ट्रिय कार्टूनिस्ट दिवसको धेरै धेरै शुभकामना ।

(कुराकानीमा आधारित)

प्रतिक्रिया