जंगलमा चलेको मकैको व्यापार : ‘खाडीमा दुःख गर्नुभन्दा नेपालमै मकै पोलिन्छ’
विराटनगर । बेलवारी नगरपालिका- १० शान्तिचोककी पवित्रा बस्नेत सानी छोरी च्यापेर मकै पोल्दै थिइन् । उनी हरेक दिन बिहान ५ बजे नै बेलवारी नगरपालिकाको वडा नम्बर ८ पर्ने जंगलमा सडक किनारमा आउनेमध्येकी एक हुन् । उनी यसरी यहाँ धाउन थालेको ६ महिना पुग्यो । हरेक दिन बिहानै आउने अनि महेन्द्र राजमार्गको किनारमा आगो बालेर मकै पोल्नु अनि आएका ग्राहकलाई खुसी पारेर बेच्नु उनको दैनिकी हो ।
पवित्रा कहिले श्रीमानसँग आउँछिन् भने अधिकांश दिनहरु उनी एक्लैले छोरी पनि हेर्नुपर्ने र व्यापार पनि धान्नुपर्ने बाध्यता भएको उनले सुनाइन् ।
कानेपोखरी गाउँपालिकाका- ५ की सिर्जना राई पनि हरेक दिन बिहानै आउने र मकै पोल्ने काममा व्यस्त हुन्छिन् । उनले भने गाउँतिरबाट कमै बिहान आउँदा सँगै लिएर आउँछिन् अनि दिनभरी बेचेर साँझ घर फर्किन्छिन् । उनले भनिन्, ‘दुःख गर्न सक्यो भने कमाइ गर्न विदेश जानुपर्ने रहेनछ । जंगलको बिचमा मकै बेच्ने अर्का व्यक्ति हुन् २१ वर्षीय पेमा तामाङ ।
पेमाको दैनिकी पनि मकै बेचेरै बित्छ । पाँचथरको हिलिहाङ गाउँपालिका- १ धुसेनीका पेमालाई शुरुमा यो व्यवसाय गर्छु भन्ने लागेकै थिएन । उनी पाँचथरबाट कामको खोजीमा मधेश झरेका थिए ।
उनले अहिले मकै बेच्दै गरेको ठाउँको पूर्वपट्टी रहेको कानेपोखरी बजारमा केहीले मकै पोलेको देखे । उनलाई पनि यही काम गर्ने की भन्ने लाग्यो । ‘म कामको खोजीमा तराई झरेको थिएँ, सडकका पेटीहरूमा मकै पोलेको देख्दा मलाई पनि यसबाट पनि जीवन चलाउन सकिनेजस्तो लाग्यो,’ पेमाले भने, ‘विदेश जानुभन्दा यहीँ केही गर्न सकिन्छ भन्ने लाग्यो ।’
यो जंगलको बिचमा पुराना मकै बेच्ने केहीमध्येका उनी एक हुन् । उनीसहितका ३-४ जनाले यो जंगलमा मकै बेच्न सकिन्छ भनेर व्यवसाय शुरु गरेको उनले बताए । उनले यसरी मकै बेच्न थालेको ३ वर्ष भइसकेको छ । १८ वर्ष हुँदादेखि मकै पोल्ने र बेच्ने गरेका पेमाले घर खर्च चलाउन समस्या नहुने गरेको प्रतिक्रिया दिए ।
बेलवारी नगरपालिका- १० का मित्रबहादुर बस्नेत ३० वर्षका भए । बस्नेतले सडक किनारमा बसेर मकै पोल्न थालेको १ वर्ष भयो । गत वर्ष कोभिडका कारण मलेसियाबाट नेपाल फर्किएका उनले रोजगारीको कतै सम्भावना नदेखेपछि मकै व्यापारबाट फाइदा हुने देखेर यो व्यवसाय शुरु गरेको सुनाए । ‘म त विदेश बसेर आएको हो‚ विदेशमा गरेजत्तिकै दुःख नेपालमा गर्ने हो भने राम्रो कामाइ गर्न सकिन्छ,’ मित्रबहादुरले भने, ‘खाडीमा दुःख गर्नुभन्दा नेपालमै मकै पोलिन्छ ।’
राम्रो व्यापार भएको दिन ६ सय घोगाभन्दा बढी मकै बिक्री हुने गरेको बस्नेतले सुनाए । ‘कहिले ६ सय घोगा पनि मकै बिक्छ,’ उनले भने, ‘नहुदा पनि २ सय घोगासम्म बिक्छ ।’ कोही खाजा खानका लागि गाडी रोकेर मकै खाएर जानु हुन्छ, कोही सुगर प्रेसरका बिरामीहरू मकैको खोजीमा आउनुहुन्छ‚’ उनले भने ।
मकैको कारोबार
यसरी जंगलको बिच राजमार्गको किनारमा मकै बेच्नेहरुको संख्या ठुलै छ । हरेक दिन १२ देखि १५ जनाले एकै ठाउँमा लाइन लागेर मकै बेच्दै आएका छन् । उनीहरू यो जंगलमा बसेर मकै बेच्न थालेको करिब ३ वर्ष भयो । विदेश जानभन्दा यहीँ कमाउन सकिन्छ भन्नेहरुको जमात धेरै छ । दाह्री सेत्तै फुलेका बादेखि भर्खरका अविवाहित युवाले पनि मकै व्यापारबाट आफ्नो भविष्य खोज्दैछन् ।
यो सिजनमा गाउँका किसानबाट ८ देखि १० रूपैयाँ घोगामा किनेर ल्याइने मकै उनीहरुले पोलेर बेच्दा २० रुपैयाँ पर्छ ।
हरेक व्यक्तिले दिनमा २ सयदेखि ६ सय घोगा मकै बिक्री गर्ने गरेको उनीहरू सुनाउँछन् । दिनमा ६ सयको मकै बिक्दा एउटा व्यक्तिले महिनामा एकलाख ८० हजारसम्म फाइदा लिनसक्ने उनीहरुको अनुभव छ । बिक्री नभएको दिन पनि ३० देखि ६० हजारसम्म महिनामा कमाइ हुने उनीहरुको अनुभवले बताउँछ । ‘१२ महिना नै मकै बिक्री हुन्छ,’ पेमाले भने, ‘निगुरोको सिजन शुरु भएपछि मकैसँगै निगुरो पनि बेच्छौँ ।’