औसतभन्दा बढी वर्षा : मौसममा सुधार हुन अझै केही दिन लाग्ने

काठमाडौं । यस वर्ष अप्रिल महिनामा औसतभन्दा बढी वर्षा भएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा निरन्तर नेपाल प्रवेश गरिरहेकाले काठमाडौँलगायत देशका अधिकांश भूभागमा अघिल्ला वर्षभन्दा बढी वर्षा भएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा अप्रिल महिनामा सरदर ६१ मिलिमिटर वर्षा हुनुपर्नेमा यस वर्ष ९२ मिलीमिटर वर्षा भएको छ । आकाशको बादल र वर्षालाई हेर्दा मनसुन सक्रिय भएको जस्तो लागे पनि यस वर्षाको प्रकृति भिन्न छ । सामान्यतया नेपालमा जुन १० देखि मनसुन शुरु हुने गर्छ । यस वर्ष मनसुनको समयमा पनि औसत वर्षा हुने मौसमविद्को अनुमान रहेको छ ।

प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित क्षणिक वर्षा हुने गर्छ । अहिले प्रिमनसुनका साथै अन्य प्रणालीको प्रभाव रहेकाले देशको अधिकांश स्थानमा बिहानैदेखि बदलीसहित वर्षा भएको हो । विगत केही दिनदेखि देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै बङ्गालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु लगातार नेपाल प्रवेश गर्ने क्रम जारी रहेकाले मौसममा सुधार हुन अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । दिउँसो देशको अधिकांश भूभाग सामान्य बदली रही पहाडी भूभागका केही स्थान र तराई एक दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान :-

बैशाख ३१ गते (बुधबार)

दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ।पूर्वी र पश्चिमी भू-भागका केही स्थानहरु र मध्य भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पुर्वी र मध्य भू-भाग तथा पश्चिमको पहाडी भू-भागमा सामान्य बदली र बांकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केही स्थानहरु तथा मध्य र पश्चिमका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जेठ १ गते (बिहीबार)

दिउँसोः देशको पुर्वी र मध्य भू-भाग लगायत पश्चिमी पहाडि भू-भागमा सामान्य बदली र बांकी भु-भागमा आंशिक बदली रहनेछ।पूर्वी र पश्चिमी भू-भागका केही स्थानहरु तथा मध्य भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पूर्वी र मध्य भू-भाग लगायत पश्चिमी पहाडि भू-भागमा सामान्य बदली र बांकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका केही स्थानहरु तथा पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जेठ २ गते (शुक्रबार)

दिउँसोः देशको पूर्वी र मध्य भू-भाग लगायत पश्चिमी पहाडि भू-भागमा सामान्य बदली र बांकी भू-भागमा आंशिक बदली रहनेछ।पूर्वी र मध्य भू-भागका केही स्थानहरु तथा पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पूर्वी र मध्य भू-भागमा सामान्य बदली र बांकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका केही स्थानहरु तथा पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *