ओझेलमा ऐतिहासिक पुस्तकालय

जनकपुरधाम । बिहानको घाम पूर्णरूपमा नउदाउँदै जनकपुरधाम–४ स्थित पुरानो सार्वजनिक पुस्तकालयको ढोका खुल्छ । केहीबेरमै लोकसेवा, शिक्षक सेवा, बैंक, प्रहरी, विश्वविद्यालय तथा अन्य प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहेका युवायुवतीहरूको भीड लाग्न थाल्छ ।

सबैको हातमा किताब भए पनि सबैले बस्ने कुर्सी पाउँदैनन् । कतिपय पालो कुर्छन्, त्यतिकै कतिपय फर्किन्छन् ।

एकातिर अध्ययन गर्ने युवाको उत्साह बढ्दो छ, अर्कोतिर ज्ञानको प्यास मेटाउने ऐतिहासिक पुस्तकालय भने सरकारी उदासीनताले थलिँदै गएको छ । कुनै समय जनकपुरको बौद्धिक केन्द्रका रूपमा परिचित यो सार्वजनिक पुस्तकालय आज पनि अध्ययन प्रेमीहरूको पहिलो रोजाइ बनेको छ ।

शान्त वातावरण, पुस्तकहरूको सङ्ग्रह र एकाग्र भएर पढ्न मिल्ने परिवेशका कारण यहाँ दैनिक ठूलो सङ्ख्यामा अध्यनार्थी पुग्ने गरेका छन् । तर बढ्दो चापअनुसार न भवन विस्तार भएको छ, न अध्ययन कक्ष थपिएका छन्, न पर्याप्त कुर्सी टेबल नै ।

पुस्तकालयको प्रत्येक सिट भरिएपछि विद्यार्थीहरू भूइँमा बसेर पढ्ने, पालो कुर्ने वा निराश भएर फर्किने दृश्य सामान्य बन्दै गएको छ । ‘यहाँ पढ्नको वातावरण त उत्कृष्ट छ, तर बस्ने ठाउँ नपाउँदा समस्या हुन्छ’, पुस्तकालयमा नियमित अध्ययनका लागि आइरहनुभएका विद्यार्थी शिरिष ठाकुर भन्छन्, ‘दैनिक धेरै सङ्ख्यामा यहाँ विद्यार्थीहरू आउँछन् तर कुर्सी टेबुल पर्याप्त नहुँदा कोही पालो कुर्छन् त कतिपय भित्र भुईँमै बसेर पढ्छन् । कतिपय विद्यार्थी भने बाहिरै चौरमा बसेर पनि पढ्ने गर्छन् ।’ पुस्तकालयभित्र पङ्खा नहुँदा गर्मी मौसममा विद्यार्थी उकुसमुकुस गरेर पढ्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

वि.सं २०१२ सालमा स्थापना भएको उक्त पुस्तकालयमा विद्यार्थीको चाप बढ्दै गए पनि पुस्तकालयमा शौचालय र खानेपानी अर्को ठूलो समस्याको रूपमा देखिएको विद्यार्थीहरू बताउँछन् । ‘पुस्तकालय परिसरमा शौचालय छैन, त्यसैले शौचालयका लागि कि त नजिकैको खुल्ला ठाउँमा शौच गर्नुपर्छ कि सार्वजनिक शौचालय नै पुग्नुपर्ने अवस्था छ’, अर्का विद्यार्थी रोहित साह भन्छन्, ‘खानेपानीको पनि अवस्था उस्तै छ, खानेपानीका लागि अन्यत्रै पुग्नुपर्ने बाध्यता छ ।’ पानी परेको बेला त पुस्तकालयमा अझ बिजोग हुने गरेको उनी सुनाउछन् ।

जनकपुरधामको पवित्र धार्मिक पोखरी गङ्गासागर र धनुषसागरको बीच भागमा रहेको यो पुस्तकालय प्राकृतिक रूपमा त्यति नै उपयुक्त रहे पनि पुस्तकालय बाहिरको वातावरणले थप समस्या बनाइरहेको छ । ‘पुस्तकालयभित्रको वातावरण अन्त्यै राम्रो छ तर पुस्तकालय बाहिर सर्वसाधारणहरूले खुल्ला रूपमा गर्ने दिसा पिसाबका कारण पुस्तकालय दुर्गन्धित बनेको छ’, अर्का विद्यार्थी पङ्कज साह भन्नुहुन्छ, ‘गङ्गासागर पोखरीको डिलमा आएर युवाहरूले गाँजा, चरेशलगायतका लागुऔषध प्रयोग गर्ने गरेकाले पनि समस्या भइरहेको छ ।’ यसबारे स्थानीय प्रशासनलाई समेत जानकारी गराए पनि कुनै पहल नभएको उनको दुःखेसो छ ।

वर्षौँको इतिहास बोकेको यो पुस्तकालयमा दुर्लभ पुस्तकहरू सुरक्षित छन् तर भवनको जीर्ण अवस्था, सीमित बजेट, नयाँ पुस्तकको अभाव र आधुनिक सुविधाको कमीले यसको गौरव बिस्तारै खुम्चिदै गएको छ । २००७ सालको क्रान्तिपछि जनकपुरमा राजनीतिक चेतना जगाउन र प्रजातान्त्रिक आन्दोलनको योजना बनाउन युवाहरूले २०१२ सालमासार्वजनिक पुस्तकालय स्थापना गरेका थिए । यसबीचमा नेताहरूले पुस्तकालयको इतिहास र योगदानको उचित मूल्यांकन नगर्दा यी संस्था लथालिङ अवस्थामा पुगेको हो ।

जनकपुरधामको सार्वजनिक पुस्तकालय कुनै सामान्य भवन होइन । दशकौँदेखि यो शहरको बौद्धिक चेतनाको केन्द्रका रूपमा परिचित छ । शिक्षक, साहित्यकार, अनुसन्धानकर्ता, कर्मचारी, विद्यार्थी र पुस्तकप्रेमीको साझा थलोका रूपमा यसले लामो समयदेखि सेवा दिँदै आएको जनकपुरधाम उपमहानगरपालिका–४ का सञ्जिव ठाकुर बताउछन् । ‘धेरै पुस्तकालय नभएको बेला यो पुस्तकालय स्थापना भएको हो, यसको आफ्नो छुट्टै इतिहास छ’, ठाकुर भन्छन्, ‘यसले थुप्रै कर्मचारी, बुद्धिजीवी र श्रष्टा जन्मायो तर यसको अवस्था खासै सुधार हुन सकेनन् ।’ यो सरकारको नजरमा पर्न सकेनन् र यो सरकारी उदासिनताको सिकार भएको उनको भनाइ छ ।

डिजिटल प्रविधिको विस्तारसँगै पुस्तक पढ्ने बानी घट्दै गएको चर्चा भइरहेका बेला पनि इन्टरनेट, ई–लाइब्रेरी र अनुसन्धानमैत्री सेवा विस्तार हुन नसकेको यो पुस्तकालयमा भने दैनिक विद्यार्थीको चहलपहल बढिरहेको छ ।

विशेष गरी प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्ने युवाहरूका लागि यो पुस्तकालय अझै पनि सबैभन्दा भरपर्दो अध्ययन केन्द्र बनेको छ ।

शान्त वातावरण, पुस्तकहरूको विविध सङ्ग्रह र ध्यान केन्द्रित गर्न सकिने परिवेशका कारण धेरै विद्यार्थीले घर वा निजी अध्ययन कक्षभन्दा पुस्तकालयलाई प्राथमिकता दिने गरेको पुस्तकालयमा कार्यरत कर्मचारी रञ्जिता ठाकुर बताउछन् । ‘पुस्तकालयमा आउने विद्यार्थी दैनिक जसो बढ्दै छ, तर पुस्तकालयको भौतिक संरचना भने समयअनुसार विस्तार हुन सकेको छैन’, ठाकुर भन्छन्, ‘एउटै कोठामा पुस्तकालय छ, त्यहीभित्र विद्यार्थीहरू कोचाकोच गरेर पढ्नुपर्ने अवस्था छ ।’ पुस्तकालयका भवन पुरानो भइसकेकोले बर्षायाम चुहिने गरेको ठाकुरको भनाइ छ ।

अध्ययन गर्ने संस्कृतिप्रति युवाहरूको आकर्षण बढ्दै गएको यही समयमा सार्वजनिक पुस्तकालयहरू भने संरक्षणको पर्खाइमा छन् । ज्ञानको मन्दिर मानिने यस्ता संस्थाले पर्याप्त सरकारी प्राथमिकता पाउन सकेका छैनन् ।

तीन वटै तहका सरकारको उपेक्षामा परेको पुस्तकालयलाई विभिन्न व्यक्ति र दाताहरूबाट चन्दा सङ्कलन गरी सञ्चालन गर्नुपर्ने बाध्यता रहेको पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष बलराम मण्डल बताउछन् । ‘अहिले सम्म पुस्तकालयमा न त सङ्घीय सरकारकै आँखा पुग्न सकेको छ, न त प्रदेश सरकार वा स्थानीय सरकारले नै कुनै सहयोग गरेका छैनन्’, अध्यक्ष मण्डल भन्छन्,‘ पुस्तकालयको समस्या सुनाउँदा पनि कुनै सरकारले सहयोग नगर्दा जेनतेन पुस्तकालय चलाइरहेका छौं ।’

‘म आफैँ पनि एउटा प्राकृतिक युग मसाज चिकित्सक हुँ’, अध्यक्ष मण्डल भन्नुहुन्छ, ‘जनताको सेवा गरेर कमाएको पैसाबाट परिवार पनि चलाउँछु र पुस्तकालयलाई पनि सहयोग गर्दै आएको छु ।’ आफ्नै पैसाबाट विद्यार्थीहरूको पढाइमा सहयोग होस् भन्ने उद्देश्यले रु. १५ हजारको लगानीमा पुस्तकालयमा इन्टरनेट वाइफाइ जडान गरेको उहाँ बताउनुहुन्छ । पुस्तकालयको चार कठ्ठा दुई धुर जग्गा भए पनि बजेटको अभावका कारण घेरवार गर्न नसक्दा थप समस्या भइरहेको अध्यक्ष मण्डलको भनाइ छ ।

स्थानीय बुद्धिजीवी दिपेन्द्र तिवारीका अनुसार यो केवल एउटा भवन होइन, जनकपुरको बौद्धिक इतिहासको जीवित दस्ताबेज हो । ‘जनकपुरधाममा यस्ता दुई/तीन वटा पुस्तकालयहरू छन् तर ती पुस्तकालयमा खासै चहल पहल हुँदैन्”, तिवारी भन्नुहुन्छ,’ तर यो पुस्तकालयमा देखिएको विद्यार्थीहरूको आकर्षणले सकारात्मक सन्देश दिएको छ ।’ समयानुकूल विद्युतीय तथा इन्टरनेटमा उपलब्ध हुने पुस्तक तथा ज्ञानगुनका कुरा सिक्ने उपकरण राखेर पुस्तकालयलाई आधुनिक ढङ्गबाट सञ्चालनमा ल्याउनुपर्ने धारणा उनको छ ।

समयमै संरक्षण, आधुनिकीकरण र पूर्वाधार विस्तार गर्नसके यो पुस्तकालय मधेश प्रदेशकै उत्कृष्ट सार्वजनिक अध्ययन केन्द्र बन्न सक्छ । तर बेवास्ता कायमै रहने हो भने यसको ऐतिहासिक पहिचान मात्र होइन, भावी पुस्ताले पाउनुपर्ने ज्ञानको धरोहर पनि सङ्कटमा पर्न सक्ने उहाँको चिन्ता छ ।

पुस्तकालयमा अध्ययन गर्ने युवाको भिडले एउटा सन्देश दिइरहेको छ, पुस्तक पढ्ने संस्कृतिको अभाव छैन, अभाव छ त त्यसलाई साथ दिने पूर्वाधार र सरकारी प्रतिबद्धताको । त्यसैले इतिहास बोकेको पुस्तकालयको अवस्थामा सुधार ल्याउन सरकारको ध्यान पुग्नु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + six =