आक्रोशको दुस्साहसः ‘पुर्कोट दह टु पेन्टिङ’

काठमाडौं । पुल्चोकको आकासेपुलदेखि झम्सीखेलतिर लाग्नुस् । ठ्याक्कै ४८५ मिटर अगाडि सडकको बायाँतर्फ छ, ‘हङ्ग्री आइ आर्ट स्टुडियो’ । दुई ससाना सटरका भित्र र बाहिर टाँगिएका छन्, पेन्टिङ ।

स्टुडियोमा तपाईँलाई स्वागत गर्न हँसिलो अनुहारसहित एक जना तम्तयार देखिन्छन् । औसत कद, गहुँगोरो वर्ण, डोलो मुहार, चिम्सा आँखा, बायाँतिर लर्केको जुल्फी । स्टुडियोमा भेटिनुहुने हँसिला व्यक्ति आक्रोश थापा मगरको औसत हुलिया यही हो ।

नाम र हुलियाको तालमेल मिल्दैन । स्टुडियोका पेन्टिङमा पनि विद्रोह भाव देखिन्न । अझ यहाँ आक्रोशका पेन्टिङ थोरै छन् ।

बरु देखिन्छ, वीरेन्द्रप्रताप सिंह, शशिविक्रम शाह, वत्सगोपाल वैद्य, किरण मानन्धर, कृष्ण मानन्धरजस्ता थुप्रै वरिष्ठ कलाकारका पेन्टिङहरू । कुलीन वर्गले मात्र खरिद गर्नसक्ने आङछिरिङ शेर्पाका पेन्टिङका सक्कल र प्रतिलिपि पनि यहाँ छन् ।

‘तपाईँको नाम र स्वभाव त मिलेन नि, कसरी नाम आक्रोश भयो ?’, स्टुडियोको अघिल्तिरको फिल्स रेस्टुरेन्टमा केही दिनअघि खरबुजाको चिसो जुसको पहिलो घुट्की निलेपछि लेखकले ठट्यौली शैलीमा प्रश्न सोध्दा उहाँको खित्का छुट्यो । ‘यसको कथा लामो छ’, खासै जवाफ आएन । दोहोर्याएर सोधेँ, ‘भनेपछि बुबाआमाले राखेको नाम हैन यो’, फेरि हाँसेरै टारे । ‘तपाईँ सानो हुँदाको खास नाम के थियो ?’, थोरै सुस्ताउँदै प्रत्युत्तर आयो, ‘मैले नै बिर्सिसकेँ ।’ थप सोध्ने धृष्टता गरिनँ ।

आक्रोशको स्थायी थातथलो गुल्मीको मदाने गाउँपालिका–६, पुर्कोट दह हो । घरको कान्छो छोरो, एक दाजु र दुई दिदीमुनिका भाइ । कान्छो भएकैले घरमा अतिरिक्त माया पाउनु नौलो विषय रहेन । बुबा नेपाल प्रहरीको जागिरे ।

आक्रोशलाई भने स्कुले उमेरमै आफूभन्दा जेठोपाकोका किताबमा ध्यान जाने । त्यतिबेला गाउँमा धर्मग्रन्थ र कम्युनिष्ट विचारका किताब प्रशस्त पाइने । भेटेजतिका किताबका पत्रपत्र उधिन्ने आक्रोशको बानी थियो ।

इतिहासका पुस्तकमा उस्तै रुचि । ‘तीन–चार कक्षा पढ्दा नै नेपाल एकीकरणदेखि राजाहरूका इतिहास कण्ठस्थ थियो’, स्मृतिका थैली फुकाउँदै उनले भने, ‘कुन मितिमा, को राजा थिए, कहाँ लडाईँ भएको थियो, मुखाग्रै हुन्थ्यो ।’

सङ्गीतप्रतिको मोह भनी नसक्नु । स्कुले उमेरमै गायक बन्ने रहर । प्रवेशिका उत्तीर्ण गरेपछि सङ्गीत पढ्ने र सिक्ने रहरको पन्तुरो बोकेर २३ वर्षअघि उनी सपनाको सहर काठमाडौँ आईपुगेका थिए । गाउँबाट आउनेका लागि चर्चित थियो, आरआर क्याम्पस ।

त्यहाँ सङ्गीत पनि पढाइ हुने भएपछि आक्रोशलाई अरु क्याम्पसले आकर्षित गर्ने कुरै थिएन । ‘तर सोचेजस्तो भएन, गाउँका दाइहरूले सङ्गीत पढ्न सक्दैनस्, यदि पढिस भनेपनि त्यो पढेर काम छैन भने’, उनले स्मृतिका पत्र केलाउँदै भने, ‘मलाई भने सङ्गीत पढ्नु नै थियो ।’

त्यति नै बेला केही साथीले सुझाव दिए, ‘सङ्गीत पढ्ने भए ललितकला क्याम्पस जानु ।’ अहो ! ललितकला क्याम्पस पुग्दा पो आक्रोशका आँखा खुले । क्याम्पसको भूईँतलामै विद्यार्थीहरू ठूल्ठूला क्यान्भासमा रङ पोतिरहेका थिए । ‘बाहिर सङ्गीतप्रतिको आकर्षण देखिएपनि मेरो अवचेतन मनभित्र त पेन्टिङप्रति पो लगाव रहेछ’, उनले भने, ‘चित्रकलाबारे पनि पढाइ हुन्छ भन्ने मलाई थाहै थिएन ।

मैले तत्काल सङ्गीत छोडेर चित्रकला पढ्ने निधो गरेँ । संयोग कस्तो भने फर्म भर्ने अन्तिम दिन थियो त्यो ।’ अनि ललितकला क्याम्पसबाटै स्नातक र कीर्तिपुरस्थित केन्द्रीय ललितकला विभागबाट स्नातकोत्तर गर्नुभयो । हाल त्रिविबाटै विद्यावारिधिका लागि शोधार्थीका रूपमा अध्ययनरत छन् ।

आदिवासी कलाको भोक

स्नातकोत्तर तहसम्म उहाँले पश्चिमा चित्रकलाबारे ज्ञान आर्जन गरे । अलिअलि काठमाडौँका नेवारी कला, तिब्बतीयन कलाका रूपमा परिचित थाङ्का र केही मिथिला कलाबारे थाहा भयो ।

आक्रोशलाई लाग्थ्यो, पश्चिमा मुलुकका चित्रकला संसारकै उत्कृष्ट हो तर जब उनी भूईँमान्छेका कथा चित्रमा उतार्न मुलुकका ग्रामीण भेग पुगे । त्यसपछि नेपालमा कहिल्यै चर्चामा नआएका आदिवासी कलाका बारेमा थाहा भयो । कर्णाली क्षेत्रमा सयौँवर्ष पुराना त्यस्ता कला रहेछन् ।

सन् १९३० को दशकमै इटालीका लेखक तथा प्राच्यविद् जुजेप्पे तुच्ची नेपाल आएका थिए । उनले सन् १९२९ देखि ३३ बीचमा पश्चिम नेपालको इतिहास र कलाका बारेमा अध्ययन गरेका थिए । तुच्चीले कर्णालीतिरका राजाहरूका इतिहास खोज्ने क्रममा त्यहाँका कलाहरू देखेपछि अभिलेख गरेका थिए । ‘म अहिले त्यही कर्णाली र पश्चिम नेपालका कलाहरू खोज्ने र अध्ययन गर्ने काममा छु’, आफ्नो असली नियत कहँदै आक्रोशले भने, ‘हाम्रो देशका त्यस्ता धेरै कलाहरू युरोप पुगिसके । त्यहाँका आदिवासी सङ्ग्रहालयमा ती कला देख्न पाइन्छ ।’

उनका अनुसार त्यस्ता कला कुनै कलाकारले बनाएको हैन । त्यो त संस्कृतिले निर्माण गरेको हो । आक्रोशको विचारमा कलाकारले बनाएको भन्दा सक्कली कला हो त्यो । पाब्लो पिकासोले बनाएका चित्रहरू पनि अफ्रिकन मुखुन्डो र कलाबाट प्रेरित थिए ।

सोही प्रकृतिका कला सयौँ वर्षअघि नेपालमा पाइन्थ्यो । ‘त्यस्ता कतिपय धातुका मुखुन्डो मेरो सङ्कलनमा पनि छन्’, आफ्ना अध्ययनबारे थप खुले, ‘युरोपियन कलाकारहरू जसलाई आदिवासी कलाबारे राम्रो ज्ञान छ । उनीहरूका पुस्तक, लेख र कुराकानीमार्फत ती कलाका सम्बन्ध खोजिरहेको छु ।’

त्यसक्षेत्रका कला हालको इरान अर्थात पर्सियाली सभ्यतासम्मै पुगेर जोडिने उहाँको दाबी छ । यी विषयमा केही विद्वानले फ्रेन्च र इटाली भाषामा शोधपत्र लेखेका छन् । आक्रोशका अनुसार किराती सभ्यता र संस्कृतिसँग जोडिएका कलाहरूबारे पनि युरोपका लेखकले लेखेका छन् । किराती कलामा पनि मुखुन्डोको प्रयोगबारे व्यापकता थियो तर धेरै किराती संस्कृति र इतिहास अध्येतालाई यसबारे थाहा छैन ।

‘खासमा वास्तविक कला ती हुन्, त्यो बनाउँछु भनेर बनेका होइन, काम गर्दागर्दै बनेका हुन् । जस्तैः कुनै पूजा गर्दा केही रेखाहरू तान्नुपर्यो, भूतप्रेत मन्साउँदा केही वस्तु बनाएर राख्नुपर्यो, त्यसरी नै काम गर्दागर्दै बनेका कलाहरू हुन्’, त्यस्ता कलाबारे उनले थप प्रष्ट पारे, ‘त्यतिबेलाका धातुका कला अहिलेको भन्दा कैयौँ गुणा राम्रा थिए ।’

उनको विचारमा आदिवासी कला वास्तविक कला हो, त्यो जसले बनाए, त्यसमा कलाको जिउ ज्यान नै हालेको छ वा भनौँ आत्मा नै हालेर बनाएको छ ।

त्यस्ता कला देख्दा आफ्नोमात्र नभई कतिपय हस्तीहरूको कला नै फिक्का लाग्छ रे उनलाई । आक्रोशले जाजरकोटतिरबाट निस्किएका धातु कलाबारे अध्ययन गर्ने क्रममा त्यहाँ प्राय फलामका कला धेरै भेटिएको उल्लेख गरे । त्यतिखेर फलाम सस्तो थियो । नेपालमा धातुका खानी धेरै थिए । फलामका कलाहरू विश्वकर्मा र लोहारले बनाएको भेटिन्छन् ।

कलामा विद्रोह चेत

आक्रोशको खास विधा समसामयिक कला नै हो । प्रदर्शनीमा उहाँका कला खासै नदेखिए पनि उनको कलाबारे जानकारलाई दर्शकलाई राम्रोसँग थाहा छ ।

केही महिनाअघि मात्रै ललितकला एकेडेमीले प्रदर्शन गरेको प्रादेशिक कला प्रदर्शनीमा राखिएको आक्रोशको एक तस्बिर त्यसका लागि पर्याप्त थियो ।

उनी बालबालिकासँग सम्बन्धित विषय क्यानभ्यासमा पोत्न रुचाउछन् । स्कुल जान गाउँका विपन्न बालबालिकाले गर्ने सङ्घर्षमाथि रङ पोत्दा उनलाई सन्तुष्टी मिल्छ । ‘आफैँ बच्चा छ, उसले आफ्ना भाइबहिनी पनि बोकेर विद्यालय गइरहेको देख्दा साह्रै भावुक हुन्छु । त्यही ‘सिरिज’मा काम गरिरहको छु’, उनले भने ।

आक्रोश पहिलेदेखि क्रान्तिकारी विचारधारा र कम्युनिष्टका किताबबाट प्रभावित थिए । सशस्त्र सङ्घर्षताका लडाइसँग सम्बन्धित चित्र मात्रै कोरे । ‘अहिले पनि कतिपय विषयबारे चित्तै बुझ्दैन, जस्तै एउटा आमाले बच्चाको लागि ठेलागाडा ठेलिरहेको हुन्छ । त्यसमाथि पनि ती आमाले अनेक अवरोधसँग जुध्नुपर्छ । तराई मूलका बालबालिका दरबारमार्गतिर बिहान बेलुकी खेलौना बेचेर दिउँसो स्कुल जाने रहेछन् । त्यस्ता कुराले मलाई छुन्छ’, उनले भने, ‘तिनै कुरालाई चित्रमा उतार्छु ।’

उनी हाल रुकुम, रोल्पाका विभिन्न कथामा चित्र कोरिरहनुभएको छ । जता पुगे पनि आक्रोशलाई एउटै कुराले बिझाइरहन्छ रे, ‘जताबाट पनि थिचिने तल्लो वर्ग नै रहेछ, चाहे राज्य होस या विद्रोही पक्ष ।’ आक्रोशसँग धेरै योजना छन्, तर लगानी छैन । गर्दै जाँदा उनलाई थाहा भयो कि इतिहास, मानवशास्त्र अध्ययनका काम ‘लक्जरियस’ रहेछ । पुरातत्वको काम त झनै खर्चिलो ।

भारत जस्तो मुलुकले त मोहन्जेदाडो जस्ता स्थलको उत्खनन् गर्न नसकेको अवस्थामा नेपालको तुलना गर्नै नसकिने उनी बताउछन् ।

कुनैबेला आक्रोशलाई रक्तिम सांस्कृतिक परिवारको गीत खुब मन पथ्र्यो । जीवन शर्माका गीत गाउँदै हिँडेका सम्झना मानसपटलमा ताजै छन् । यसले पनि पुष्टि गर्छ कि ‘आक्रोश’ उनको दोस्रो नाम हो ।

नेपालमा पेन्टिङको बजार

आक्रोश आफ्नोसँगै अरु कलाकारका पेन्टिङ पनि बेचे । उनले बेच्ने सक्कली पेन्टिङहरूमा लैनसिंह वाङदेल, लक्ष्मण श्रेष्ठजस्ता कलाकारका समेत छन् । लक्ष्मण श्रेष्ठका पेन्टिङ रतन टाटाका घरदेखि, ताज होटलमा सजाइएका छन् । आक्रोशले थाहा पाउँदा नै श्रेष्ठका एउटा पेन्टिङको मूल्य दुई करोड रुपैयाँसम्म थियो ।

‘हिजोआज म कलाकारभन्दा बढी कलाप्रेमी भा’को छु’, सुन्तलाको जुस सुरुप्प पार्दै उनी मुस्कुराय । उनीसँग चित्रकार समुदायले एक सय वर्षअघि कोरेको परम्परागत चित्र पनि छ ।

आक्रोशले पेन्टिङ बेचेर प्राप्त गरेको अर्थ धातुका कला अध्ययनमा खर्चिरहनु भएको छ । सबैभन्दा दुःखको कुरा त नेपालमा पेन्टिङको बजार छैन । त्यही बजार बनाउन उनी घोटिएका छन् । नेपालमा पेन्टिङको बजार विस्तार हुन अझै केही दशक लाग्ने अनुमान छ, उनको ।

नेपालका कतिपय वरिष्ठ कलाकारहरूको अवस्था दयनीय छ । कतिले त आत्महत्या नै गरेका छन् । व्यवसायिक रूपमा चित्र कोर्नेहरू वा निरन्तरता दिनेहरू सहरका कुलीन वर्गका मात्र छन् । यसको अर्थ कलाकारिता पनि ‘अर्थ’सँगै जोडिन्छ ।

कुनैबेला जङ्गबहादुर राणाले आफ्नो ‘पोट्रेट’ बनाउन कलाकार लिएर बेलायत भ्रमणमा गएका थिए । उतैबाट कलाकार ल्याएर यहाँ मूर्तिहरू बनाउन लगाए । अहिले टुँडिखेलको छेउछेउमा उभिएका मूर्ति तिनै हुन् । ती मूर्तिहरू त्यतिखेरका विश्वप्रसिद्ध कलाकारले बनाएका थिए । ‘नेपालमा पो त्यसको महत्व थाहा नभएर हो, युरोप लैजाने हो भने अझै यो करोडौँ पर्छ’, उनले भने । आक्रोश सन् २०१९ मा सार्कस्तरीय चित्रकला प्रदर्शनीमा नेपालको प्रतिनिधित्व गर्दै माल्दिभ्स पुगेका थिए । उनी कलाक्षेत्रमा आफ्नो प्रचार खासै रुचाउदैनन् । आक्रोशको मुख्य उद्देश्य कलाकार र कलाप्रेमीबीच पुलको रूपमा काम गरौँ भन्ने छ ।

गुल्मीको पुर्कोट दहदेखि सङ्गीत सिक्ने सपना बोकेर सहर छिरेका उनलाई आफू कलाकारितामा लागेको सम्झिँदा कहिलेकाहीँ ठूलै दुस्साहस गरेको महसुस हुन्छ । ‘यो वर्गीय रूपमा पनि मेरो हैसियतले भ्याउने क्षेत्र हैन’, कुराकानीको बिट मार्ने क्रममा उनले भने, ‘कहिलेकाहीँ पहाडका कुनाकन्दरा हिँड्दा ढुङ्गाको पहरामा पीपलको बोट पलाएको देख्छु । त्यसले प्रेरणा त दिन्छ नै, त्यही दुस्साहसी पीपलसँग आफूलाई पनि तुलना गर्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 9 =