पार्टी र संसद् दुवैतिर विवेक र तर्क कमजोर बन्दै गयोः भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पार्टी र संसद् दुवैमा विवेक र तर्क कमजोर गएको बताएका छन् । बिहीबार ४४ औँ वीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आङदेम्बेले विवेक हराउँदा अहंकार र तर्क हराउँदा गालीगलौज हाबी हुने अवस्था सिर्जना भएको बताएका हुन् ।

उनले संस्थापन ईतरका नेताहरुले बुधवार आयोजना गरेको कार्यक्रममा नेताहरुले गरेको भाषणतर्फ लक्षित गर्दै कांग्रेस पार्टीभित्र पनि गालीगलौजमा उत्रिने प्रवृत्ति हाबी भएको टिप्पणी गरे । उनले हाल संसद्मा पनि सोही अवस्था रहेको बताए ।

संसद्मा तर्क र विवेकको अभावका कारण मनपरी निर्णय हुने र पछि त्यसलाई सच्याउने गरिएको उल्लेख गर्दै आङदेम्बेले राजनीतिलाई नाफा–घाटाको हिसाब नभई जनताको सेवाको भावनाबाट अघि बढाउनुपर्ने बताए । राजनीति विगतमा व्यवसायजस्तो बनेर नाफा–घाटाको हिसाबमा चल्ने गरेको उनको भनाई छ । उनले राजनीतिलाई निस्वार्थ सेवामा रूपान्तरण गर्नु वर्तमान नेतृत्वको जिम्मेवारी भएको बताए ।

‘४४ औँ वीपी स्मृति दिवसको यो पूर्व सन्ध्यामा काठमाडौंभरि कहीँ कतै आयोजना गरिएका धेरै यस्ता डबलीहरू हामीहरूले देख्यौँ । त्यहाँ व्यक्त भएका विचारहरू हामीहरूले कान भरि भरि सुन्यौँ,’ उनले भने, ‘विवेक र तर्क हराएर अहंकार र गालिमा परिवर्तित भएको त्यो दिन भर्खरै मात्र हिजोको दिन आज मेरो मानसपटलमा आज पनि गुन्जिराखेको छ । यो मेरो पार्टीको यथार्थता हो, आजको । यो आजको यथार्थता हो । त्यस्तै अवस्था संसदभित्र पनि छ । संसदमा न तर्क छ, न विवेक छ ।’

उनले विवेक, तर्क, मर्यादा, इमान्दारिता र निष्ठालाई पुनः स्थापित गर्ने उद्देश्यसहित नयाँ अभियान आवश्यक रहेको बताए । वीपी कोईरालाको फोटो झुन्ड्याउने मात्रै नभई पार्टीलाई उनको आदर्श र सिद्धान्तमा चलाउने पनि उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − ten =