प्रदेशका प्रत्येक अस्पतालमा मानसिक रोग विशेषज्ञ चिकित्सकको व्यवस्था गर्छाैंः मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका प्रत्येक अस्पतालमा मानसिक रोग विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न लागिएको बताएका छन् ।

मधेस प्रदेशसभामा प्रदेश सरकारको प्रदेश विनियोजन विधेयक २०८३ माथि छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री यादवले पछिल्लो समय नागरिकमा मानसिक समस्या बढ्दा आत्महत्या र आत्मदाह जस्ता घटना हुने गरेकाले प्रदेशका प्रत्येक अस्पतालमा मानसिक रोग विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न लागिएको बताए ।

शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आत्मदाह गरेका सर्लाहीका विवेक मण्डलको परिवारलाई राहत उपलब्ध गराइने घोषणा गर्दै मुख्यमन्त्री यादवले मङ्गलबार राति आत्मदाहको प्रयास गरेका रौतहटको गरुडा नगरपालिका–९ का २८ वर्षीय गौतमकुमार सहनीको स्वास्थ्यलाभको कामना समेत गरे ।

यसैगरी मुख्यमन्त्री यादवले मधेस प्रदेशमा अहिले करिब १० हजार मेट्रिक टन चामल भारतबाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य गरी प्रदेशलाई धान र चामलमा आत्मनिर्भर बनाउन प्रयत्नशील रहेको बताए ।

उनले सप्तरी र सिरहामा आँप खेती, सर्लाहीमा गोलभेँडाखेती तथा रौतहत र बारामा केरा खेतीलाई प्रोत्साहन गर्ने गरी प्रदेश सरकारले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएको उल्लेख गरे ।

मधेस प्रदेशमा दुई बाली धान र एक बाली खेतीलाई जोड दिएको बताउँदै मुख्यमन्त्री यादवले बढ्दो फजुल खर्च कटौती गर्न प्रदेश सरकारले हालका १२ मन्त्रालयलाई घटाएर नौ बनाउने र प्रदेश सरकारअन्तर्गत निकाय तथा कार्यालयलाई समायोजन गर्न लागिएको बताए । उनले प्रदेशसभा सदस्यबाट प्राप्त सुझावलाई सरकारले आत्मसात् गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =