नेपालमा प्रेस स्वतन्त्रतामाथि असर पार्ने घटनाप्रति अन्तर्राष्ट्रिय पत्रकार संघको चिन्ता

काठमाडौं । अन्तर्राष्ट्रिय पत्रकार संघ (IUJ)ले नेपालमा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई प्रभावित पार्ने पछिल्ला घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

संघले नेपालको संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन, नागरिकका मौलिक अधिकार तथा लोकतान्त्रिक मूल्य–मान्यतामाथि असर पार्ने गतिविधिहरू चिन्ताजनक रहेको जनाएको छ ।

स्वतन्त्र पत्रकारितालाई नियन्त्रण गर्ने वा सञ्चारकर्मीलाई धम्की दिने उद्देश्यले सरकार वा सरकारसमर्थित व्यक्ति तथा समूहबाट हुने कुनै पनि गतिविधि लोकतान्त्रिक समाजको आधारभूत सिद्धान्तविपरीत हुने संघको भनाइ छ ।

अन्तर्राष्ट्रिय पत्रकार संघले कान्तिपुर मिडिया ग्रुप, अनलाइनखबर र हिमालय टेलिभिजनजस्ता प्रमुख सञ्चार संस्थाहरूको प्रवेशद्वारमा अनधिकृत अवरोध गरिएको भनिएका घटनाहरू, वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई दिइएको धम्की तथा पक्राउ प्रयास र निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने नीतिप्रति आपत्ति जनाएको छ ।

यस्ता गतिविधिले स्वतन्त्र समाचार संकलन र प्रसारणलाई प्रभावित पार्नुका साथै सञ्चार माध्यमको विविधता कमजोर बनाउने वातावरण सिर्जना गर्न सक्ने संघले जनाएको छ ।

संघले नेपाल सरकारलाई विधिको शासन कायम राख्न तथा संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डअनुसार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सम्मान गर्न आग्रह गरेको छ ।

साथै, जनताबाट प्राप्त जनादेशअनुसार बनेको वर्तमान सरकारले लोकतान्त्रिक मूल्य–मान्यता, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताप्रतिको प्रतिबद्धता व्यवहारमै देखाउनुपर्नेमा अन्तर्राष्ट्रिय पत्रकार संघले जोड दिएको छ ।

नेपालका पत्रकार तथा सञ्चार संस्थाहरूमा बढ्दो ‘आत्म–सेन्सरसिप’ को अवस्थाप्रति समेत संघले चिन्ता व्यक्त गरेको छ । धम्की, प्रतिशोध वा अन्य दबाबका कारण पत्रकारहरूले समाचार रोक्न वा सामग्री कमजोर बनाउन बाध्य हुने अवस्था लोकतन्त्र, पारदर्शिता र नागरिकको सूचनाको अधिकारका लागि खतरा हुने उसको भनाइ छ ।

अन्तर्राष्ट्रिय पत्रकार संघले सम्बन्धित सबै निकाय र सरोकारवालालाई पत्रकारहरूले आफ्नो पेशागत जिम्मेवारी स्वतन्त्र, सुरक्षित र निर्भय रूपमा निर्वाह गर्न सक्ने वातावरण सुनिश्चित गर्न आह्वान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 11 =