सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहित गर्ने नीति ल्याउन सकेन: काँग्रेस सांसद थापा

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद सुनिलबहादुर थापाले विद्युतीय सवारी साधनलाई प्रोत्साहित गर्ने नीति ल्याउन सरकारसँग माग गरेका छन् ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले उक्त कुरा बताएका हुन् ।

सांसद थापाले सरकारले विद्युतीय सवारी साधनमाथि लगाइएको करको बोझले त्यसलाई उठ्नै नदिने अवस्था रहेको आरोप पनि लगाए । उनले सरकारको बजेटको व्यवस्था नगर्दा बुढीगण्डकी जलविद्युत आयोजनालगायतका राष्ट्रिय गौरवको आयोजनाहरू अघि बढ्न नसकेको पनि उल्लेख गरे ।

सांसद थापाले भने ‘स्वदेशमा उत्पादन भएको विद्युत्को खपत बढाउन र नेपालको पेट्रोलियम पदार्थको निर्भरता घटाउन विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति आवश्यक छ भन्ने मलाई लाग्दछ । विद्युतीय सवारी साधनमाथि लगाइएको करले स्वच्छ यातायातको हकलाई करको भारी बोझले थिच्ने काम गर्नु हुँदैन भन्ने मेरो मान्यता छ । दुधकोशी जलविद्युत आयोजनाका लागि कुनै ठोस योजना देखिँदैन । बुढीगण्डकी जलविद्युत आयोजना पैसा जुटाउन नसकेको अघि बढ्न नसकेको हो । ऐन नबनाएर होइन । यो बजेटको व्यवस्था नभएर हो । यसमा सरकारले विशेष ध्यान दिनु पर्दछ ।’

सांसद थापाले सरकारले विद्युत् उत्पादन, वितरणको आवश्यक व्यवस्था गर्न नसकेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 16 =