उद्योगमन्त्रीद्वारा कम्पनी रजिष्ट्रार कार्यालयको अनुगमन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले आज कम्पनी रजिष्ट्रारको कार्यालयको आकस्मिक अनुगमन तथा निरीक्षण गरेकी छन् ।

निरीक्षणका क्रममा कार्यालयका प्रमुख रजिष्ट्रार कृष्णकुमारी श्रेष्ठले मन्त्रीसहितको टोलीलाई स्वागत गर्दै पछिल्लो एक महिनामा कार्यालयले अगाडि बढाएका सुधारबारेमा जानकारी गराएकी थिइन् । प्रमुख रजिष्ट्रार श्रेष्ठका अनुसार सरकारको शासकीय सुधारसम्बन्धी प्रतिवेदनको बुँदा नम्बर ५८ मा उल्लेखित निर्देशनलाई आधार मानेर विगतमा सर्वसाधारणले भोग्दै आएका सास्ती र झन्झटको अन्त्य गर्न पूर्ण डिजिटल प्रणालीको सुरुआत गरिएको छ ।

नयाँ व्यवस्थाअनुसार अब सेवाग्राहीले कम्पनी दर्ताका लागि कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ । घरबाटै अनलाइनमार्फत सम्पूर्ण प्रक्रिया पूरा गर्न सक्ने व्यवस्था गरिएको छ । कम्पनी दर्ता भएपछि स्थायी लेखा नम्बर (प्यान) लिनका लागि सम्बन्धित आन्तरिक राजस्व कार्यालय गइरहनु नपर्ने गरी प्रविधिलाई एकीकृत गरिएको छ । यो व्यवस्थाले सेवाग्राहीको समय र लागत दुवै बचत हुने कार्यालयले जनाएको छ ।

सेवाग्राहीका गुनासा र समस्यालाई तत्काल सम्बोधन गर्न कार्यालयले कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिमा आधारित कल सेन्टरको व्यवस्थासमेत गरेको छ । जसका कारण अब २४सै घण्टा सेवाग्राहीले कम्पनी दर्ता सम्बन्धी जानकारी वा सेवा पाउन सक्ने छन् ।

अनुगमनका क्रममा उद्योग मन्त्रीले कार्यालयका विभिन्न शाखाको अवलोकन गर्दै सर्वसाधारणलाई अझै पनि कुनै प्रकारको सास्ती हुन नदिन र आगामी दिनमा नयाँ प्रविधिको अधिकतम प्रयोगमा ध्यान दिन निर्देशन दिए । सो अवसरमा मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहितका सम्वद्ध अधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 7 =