सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्छ: नेकपा सांसद अर्याल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी सांसद उर्मिला अर्यालले राष्ट्रिय चिया लिलाम बजार तत्काल स्थापना गर्न सरकारसँग माग गरेकी छन् ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले उक्त माग गरेकी हुन् ।

सांसद अर्यालले सरकारले उक्त बजार स्थापना नगरेको कारण नै नेपालको चियाको प्रवर्द्धन अन्तर्राष्ट्रिय बजार हुन नसकेको तथ्य पनि औँल्याइन् । उनले चिया निर्यात सम्बन्धी उचित कानुनको तर्जुमा गर्न पनि सरकारलाई सचेत गराइन् ।

सांसद अर्यालले भनिन् ‘नेपालको चिया उद्योगको उचित सञ्चालनका लागि चिया लिलाम बजार स्थापना गर्ने कार्य हालसम्म बाँकी नै छ । यसको विकल्पमा नेपाल चियाले भारतको सिलिगुढी र कलकत्ताका लिलाम बजारमा निर्भर हुनु परेको छ । यसको आफ्नै लिलाम बजार छैन । प्रस्ट छ कि राष्ट्रिय चिया लिलाम बजारविना नेपालको चिया प्रवर्द्धन हुन सक्दैन । त्यसै कारणले हालसम्म विश्व चिया बजार नक्शामा नेपाल उल्लेख भएको छैन । यसप्रकार नेपालले चिया लिलाम बजारमा आफ्नो उत्पादनलाई ब्राण्डसहित राख्नुपर्ने हुन्छ । जुन कार्य गर्न अझै बाँकी छ ।’

सांसद अर्यालले विश्व चिया बजारमा नेपालको उपस्थिति गराउन पनि सरकारले यस सम्बन्धी उचित नीतिहरू निर्माण गरी कार्यान्वयन गर्न आवश्यक रहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eight =