गल्फुटारमा जुट्यो कांग्रेस इतर समूह, राष्ट्रिय भेला तयारीबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षका नेताहरूको बैठक सुरु भएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा इतर समूहको बैठक शुक्रबार दिउँसो काठमाडौंको गल्फुटारस्थित खड्का निवासमा सुरु भएको हो ।
बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्व महामन्त्रीहरू कृष्ण सिटौला, डा. शशांक कोइराला र प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री महालक्ष्मी डिना उपाध्याय, सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, कर्णाली प्रदेश सभापति ललितजंग शाहीसहित नेताहरू सहभागी भएका छन् । त्यस्तै मीन विश्वकर्मा, एनपी साउद, डा. प्रकाशशरण महत, रमेश लेखक, कृष्णप्रसाद पौडेल, आनन्दप्रसाद ढुंगाना, मोहन बस्नेतलगायत पनि बैठकमा उपस्थित छन् ।
बैठकअघि बिहीबार बिहान खड्का र डा. शेखर कोइरालाबीच खड्का निवासमै छलफल भएको थियो । त्यसपछि खड्का दिउँसो डा. शशांक कोइरालालाई भेट्न महाराजगञ्ज पुगेका थिए ।
उता बिहीबार नै विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइरालाबीच निधि निवास बानेश्वर हाइटमा पनि छुट्टै छलफल भएको थियो ।
इतर समूहले यसअघि नै सातै प्रदेशमा प्रदेशस्तरीय भेला सम्पन्न गरिसकेको छ । ती भेलाहरूमा कोशी प्रदेशको कार्यक्रममा डा. शेखर कोइरालालाई प्रमुख अतिथिका रूपमा सहभागी गराइएको थियो ।
आजको बैठकमा ती प्रदेश भेला कार्यक्रमहरूको समीक्षा गर्ने र आगामी रणनीतिबारे छलफल गर्ने तयारी रहेको छ । नेता खड्काले बैठकका एजेन्डाबारे औपचारिक जानकारी नदिए पनि नेताहरूबीच छलफल र भेटघाटका लागि मात्र बैठक बोलाइएको बताएका छन् ।
स्रोतका अनुसार इतर समूहले अब राष्ट्रिय भेला गर्ने तयारीसमेत अघि बढाएको छ। सोही विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।








