झुट्टा बिल बनाएर विद्यालय भवन निर्माणमा अनियमितता, ४ जनाविरुद्ध मुद्दा

रौतहट । रौतहटको राजपुर नगरपालिका–५ स्थित जनता (नमूना) माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियार आज विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार विद्यालयको टेन्डर तथा भवन निर्माणका क्रममा झुट्टा बिल तथा भरपाई तयार गरी वास्तविकभन्दा बढी मूल्याङ्कन गरेर नेपाल सरकार तथा विद्यालयको कोषलाई गैरकानुनी रूपमा हानि पुर्याइएको पाइएको छ ।
अनुसन्धानबाट राजपुर नगरपालिकाको २०७५ फागुन ३ गतेको निर्णयअनुसार नमूना विद्यालय विकास कार्यक्रमअन्तर्गत बहुवर्षीय गुरुयोजना स्वीकृत गरी विद्यालयका तत्कालीन प्रधानाध्यापकको अध्यक्षतामा भौतिक संरचना निर्माण समिति गठन गरिएको थियो । सोही समितिमार्फत प्रि–स्कुल ब्लक (आठ कोठे भवन) निर्माण कार्य अघि बढाइएको थियो ।
परामर्शदाता डी.बी. मल्टी इन्जिनियरिङ कन्सल्टेन्ट प्रालिले तयार गरेको प्रारम्भिक लागत अनुमान ९७ लाख ३७ हजार ९९४ रुपैयाँ ६२ पैसा रहेकोमा संशोधित लागत अनुमान एक करोड पाँच लाख ७७ हजार ५९६ रुपैयाँ ४० पैसा कायम गरिएको थियो । त्यसपछि निर्माण कार्यको मूल्याङ्कन बिल एक करोड नौ लाख ८१ हजार ५०१ रुपैयाँ १० पैसा बराबर तयार गरी खर्च भएको देखाइएको आयोगले जनाएको छ ।
आयोगले निर्माणस्थलको नापजाँच गर्दा ११ लाख १० हजार ११४ रुपैयाँ ५७ पैसा बराबरको काम वास्तविकभन्दा बढी देखाई नभएको कामको समेत झुट्टा बिल तथा भरपाई बनाई भुक्तानी लिएको निष्कर्ष निकालेको छ ।
यस प्रकरणमा राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर, तत्कालीन इन्जिनियर मोहम्मद शाह फैसल, जनता (नमूना) माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक विजयकान्त मिश्र र विद्यालयका लेखापाल शेख जहिरलाई प्रतिवादी बनाइएको छ।
उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) (ङ) अन्तर्गत ११ लाख १० हजार ११४ रुपैयाँ ५७ पैसा बिगो कायम गरी सोही बराबरको जरिवाना, बिगो असुलउपर तथा कैद सजायको मागदाबी गरिएको आयोगले जनाएको छ ।
यस्तै, तत्कालीन इन्जिनियर मोहम्मद शाह फैसलमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ (२) अन्तर्गतको कसुरसमेत लगाई थप कैद तथा जरिवानाको मागदाबी गरिएको छ ।








