कृषि र किसानका समस्या सम्बोधनमा बजेट उदासीनः नेता दंगाल

काठमाडौं । नेकपा (एमाले) का राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्र र किसानका आधारभुत समस्यालाई सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् ।

शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै नेता दंगालले बजेटले किसानका लागि राहत, बजार पहुँच र कृषि आधुनिकीकरणका ठोस कार्यक्रम ल्याउन नसकेको टिप्पणी गरेका हुन् ।

 

नेता दंगालले किसानलाई आवश्यक पर्ने राहत तथा क्षतिपूर्तिका कार्यक्रमहरू ल्याउन सरकार चुकेको बताए । किसानका उत्पादनलाई विचौलियामुक्त गरी सिधै बजारसम्म पुर्‍याउने संयन्त्र र किसानका लागि सटर वा व्यापारिक क्लबहरु उपलब्ध गराउने योजना बजेटमा नसमेटिएको उनको भनाइ छ ।

कृषि क्षेत्रको यान्त्रिकीकरणका सम्बन्धमा टिप्पणी गर्दै उनले विगतमा कृषि औजार, विशेष गरी ट्याक्टर र थ्रेसरमा दिइँदै आएको भन्सार छुटका कार्यक्रमहरू यस पटकको बजेटमा नदेखिएको बताए । यसले कृषिको आधुनिकीकरणमा बाधा पुग्ने निश्चित रहेको उनको भनाइ छ ।

धान खरिद प्रक्रियाका सम्बन्धमा सरकारको स्पष्ट योजना नभएको भन्दै उनले आलोचना गरे । आगामी आर्थिक वर्षमा पनि चैते धान खरिद गर्ने कुनै ठोस योजना नदेखिएको र वर्षे धान खरिदका लागि नीतिगत रूपमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको क्षमता वृद्धिको कुरा गरिए पनि पर्याप्त बजेट विनियोजन नभएको नेता दंगालले उल्लेख गरे ।

उनले भने, ‘किसानलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने कार्यक्रमहरू पर्याप्त रूपमा अघि बढ्न सकेका छैनन् । त्यस्तै, किसानहरूको बजार पहुँच सुनिश्चित गर्ने र उनीहरूको उत्पादन सिधै बजारसम्म पुग्ने व्यवस्था गर्ने विषय पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन । चालु आर्थिक वर्षको बजेटमा पनि यस विषयले पर्याप्त प्राथमिकता पाएको देखिँदैन, र आगामी आर्थिक वर्षमा पनि यसको निरन्तरतासम्बन्धी स्पष्टता देखिँदैन ।’

बजेटको आकार र विनियोजित शिर्षकमाथि प्रश्न उठाउँदै नेता दंगालले बजेटमा सहुलियत ऋण र ब्याज अनुदानका कुरा गरिए पनि मन्त्रालयगत शिर्षकमा विनियोजित रकम अत्यन्तै न्यून रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 10 =