काठमाडौँ पूर्ण खोप सुनिश्चित महानगर घोषणा

काठमाडौँ । काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित महानगर घोषणा भएको छ ।
शुक्रवार काठमाडौँ महानगरपालिकाले एक कार्यक्रम गरी पूर्ण खोप सुनिश्चित महानगरको रूपमा घोषणा गरेको हो ।
१२ महिनादेखि २३ महिनासम्मका बालबालिकाहरूले पूर्ण खोप पाएको सुनिश्चित भएपछि काठमाडौँ महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता महानगर घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले खोप सबै बालबालिकाको नैसर्गिक अधिकार भएको उल्लेख गरिन् ।
उनले खोप कार्यक्रमलाई अगामी दिनमा अझै प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिन् । उनले बालबालिकाले आफ्नो स्वास्थ्यसम्बन्धी निर्णय आफैँ गर्न नसक्ने भएकाले राज्य र परिवारले उनीहरूको स्वास्थ्य सुरक्षाको जिम्मेवारी वहन गर्नुपर्ने बताइन् । उनले जटिल तथा ज्यानै जान सक्ने रोगबाट बचाउन खोप अपरिहार्य रहेको उल्लेख गर्दै खोप लगाउन यदि कोहीले बालबालिकालाई छुटाएको भए तत्काल स्वास्थ्य केन्द्रमा जान समेत सुझाव दिइन् ।
कार्यवाहक प्रमुख डङ्गोलले खोप अभियानकै प्रभावका कारण पोलियोजस्ता रोगबाट हुने बालमृत्यु उल्लेखनीय रूपमा घटेको बताउँदै अब त्यस्तो जोखिमलाई शून्यमा झार्ने लक्ष्यतर्फ महानगर अघि बढिरहेको बताइन् ।
उनले भनिन् ‘खोप पाउनु सबै बालबालिकाको अधिकार हो । आफूले के पाउनुपर्छ भन्ने कुराको बालबालिका आफैँले निर्णय गर्न सक्दैन । त्यो समयमा राज्यले हेर्नुपर्छ, घरपरिवारले हेर्नुपर्छ । त्यो बुझाइदिनको लागि स्वास्थ्य स्वयंसेविकाको आवश्यकता पर्छ । सोहीअनुसार यहाँहरूले जिम्मेवारी पूरा गर्नुभयो । जटिल र ज्यानै जान सक्ने रोगहरूबाट सुरक्षित बनाउनको लागि खोप लगाइन्छ । हामीले सधैँ भन्ने गर्छौँ, खोप लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिन उचित हुन्छ भनेर र यो खोप कार्यक्रम पनि त्यही नै हो । कतिपय बालमृत्युदर घटाउनको लागि यो प्रजेटिन्ङ अप्रोच हो । पोलियो लागेर बालमृत्यु हुने कुराहरू पहिले हामीहरूले एकदमै धेरै सुन्थ्यौँ । अहिले खोपको प्रभावकारिताको कारणले एकदमै कम भएको छ र हामी छिट्टै शून्यमा झार्दैछौँ । यसलाई सफल बनाउनको लागि महिला स्वास्थ्य स्वयंसेविकाहरूले एकदमै महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ । तपाईंहरुलाई धेरै धेरै धन्यावाद दिन चाहन्छु ।’
उनले बालमृत्युदर न्यूनीकरण तथा खोप कार्यक्रम सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविकाले खेलेको भूमिकाको प्रशंसा गर्दै सम्मानसहित धन्यावाद ज्ञापन गरिन् ।








