मधेसका गृहमन्त्रीद्वारा होटेलहरूको छड्के अनुगमन: अस्वच्छ खाना खुवाउनेलाई लाखौँ जरिवाना र कारबाही

काठमाडौँ । मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले प्रदेशका विभिन्न स्थानमा सञ्चालित होटल तथा रेस्टुरेण्टहरूको आकस्मिक अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा गुणस्तरहीन खाद्य सामग्री फेला परेका व्यवसायीहरूलाई कारबाही गरिएको हो ।

गत १५ गतेदेखि सुरु गरिएको विशेष अनुगमन अभियानका क्रममा बर्दिबास र ढल्केवर क्षेत्रका दर्जनौँ होटेलहरूमा छापा मारिएको मन्त्री महतोले बताए । अनुगमनका क्रममा अधिकांश होटेलहरूमा चरम लापरबाही, अस्वच्छ वातावरण र गुणस्तरहीन खाद्य सामग्री प्रयोग भइरहेको पाइएको उनले बताए ।

बर्दिबासस्थित बौवा होटलबाट अनुगमन सुरु गरिएकोमा त्यहाँ करिब २० देखि २५ किलो सडेगलेको माछा–मासु नष्ट गरिएको उनले बताए । साथै, स्वास्थ्यका लागि अत्यन्तै हानिकारक मानिने र क्यान्सरजन्य रोग निम्त्याउन सक्ने रातो भइसकेको पुनः प्रयोग गरिएको खाने तेल फेला परेपछि उक्त होटललाई पहिलो पटक चेतावनीस्वरूप २५ हजार रुपैयाँ जरिवाना गरिएको पनि उनले बताए ।

अनुगमन टोलीले बर्दिबासकै ‘बाबाको ढावा’ मा छापा मार्दा त्यहाँको अवस्था अत्यन्तै फोहोर र खानेकुराहरू गुणस्तरहीन पाइएकाले ३५ हजार रुपैयाँ जरिवाना गरिएको छ । अनुगमनकै क्रममा प्रख्यात मानिने ‘बाजेको सेकुवा’ मा सबैभन्दा बढी बेथिति र अस्वच्छता भेटिएको मन्त्री महतोले बताए ।

उक्त होटलमा गुणस्तरहीन र अस्वच्छ खाना खुवाउने गरिएको पाइएकाले ७५ हजार रुपैयाँ जरिवाना गरिएको मन्त्रीले जानकारी दिए । अन्य होटलहरूमध्ये बरगज हाउसलाई ३५ हजार, राजु होटललाई ४० हजार र द रोयल स्टारलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । राजु होटलको अनुगमनका क्रममा ग्राहकहरूले खाँदै गरेको अवस्थामा अस्वच्छ वातावरण र फोहोर फेला परेपछि ग्राहकहरू खान छोडेर हिँडेका थिए ।

यस्तै, गौतम होटल, पुकार होटल, थापा होटल, कमल होटल र प्लाजा लगायतका होटेलहरूमा पनि अनुगमन गरी म्याद नाघेका पेय पदार्थ तथा खाद्य सामग्रीहरू नष्ट गरिएको छ ।

मन्त्रीले होटल सञ्चालकहरूलाई सचेत गराउँदै भने ‘नाफा कमाउने नाममा सर्वसाधारणको स्वास्थ्यसँग खेलबाड गर्न पाइँदैन । यो अहिलेका लागि चेतावनी मात्र हो । अर्को पटक यस्तै कैफियत भेटिएमा खाद्य ऐनअनुसार ३ देखि ६ वर्षसम्म कैद सजाय हुनसक्छ ।’

आफू केवल मन्त्रीको भूमिकामा मात्र नभई एक जिम्मेवार नागरिकको हैसियतले जनताको स्वास्थ्य सुरक्षाका लागि सडकमा ओर्लिएको उनले बताए । मधेस प्रदेशका आठै जिल्लामा यो अनुगमन अभियानलाई निरन्तरता दिइने र गुणस्तरहीन खाना खुवाउने जोसुकैलाई पनि कानुनको दायरामा ल्याइने उनले प्रतिबद्धता व्यक्त गरे ।

विगत ९ वर्षदेखिको बेथिति सुधार गर्न र जनताको चाहनाअनुसार स्वच्छ प्रशासन र स्वास्थ्यको प्रत्याभूति दिलाउन आफू कटिबद्ध रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 5 =