विश्वकपको नकआउट समीकरण: १९ टोली छनोट, सोमबारदेखि निर्णायक भिडन्त
बाँकी समूहका खेल सम्पन्न भएपछि नकआउट चरणका सबै भेटहरू तय हुनेछन्

काठमाडौं। जारी फिफा विश्वकप २०२६ को समूह चरण अन्तिमतर्फ पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स्पष्ट हुँदै गएको छ। नेपाली समयअनुसार असार १२ गते शुक्रबार बिहानसम्म सम्पन्न समूह चरणका अन्तिम खेलपछि ४८ टोलीमध्ये १९ टोलीले अन्तिम ३२ (नकआउट चरण) मा स्थान सुरक्षित गरेका छन्।
समूह ‘ए’बाट मेक्सिको र दक्षिण अफ्रिका, समूह ‘बी’बाट स्विट्जरल्यान्ड, क्यानडा र बोस्निया एन्ड हर्जगोभिना, समूह ‘सी’बाट ब्राजिल र मोरक्को, समूह ‘डी’बाट अमेरिका र अस्ट्रेलिया तथा समूह ‘ई’बाट जर्मनी, आइभरी कोस्ट र इक्वेडरले नकआउट चरणमा स्थान बनाएका छन्।
यस्तै, समूह ‘एफ’बाट नेदरल्यान्ड्स, जापान र स्विडेन, समूह ‘आई’बाट फ्रान्स र नर्वे, समूह ‘जे’बाट अर्जेन्टिना तथा समूह ‘के’बाट कोलम्बियाले पनि अन्तिम ३२ मा आफ्नो स्थान पक्का गरेका छन्।
नकआउट चरणमा पुगेका टोलीमध्ये हालसम्म आठ टोलीको प्रतिस्पर्धा तय भइसकेको छ। यसअनुसार दक्षिण अफ्रिकाले क्यानडासँग, नेदरल्यान्ड्सले मोरक्कोसँग, अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनासँग तथा ब्राजिलले जापानसँग भिड्ने भएका छन्।
बाँकी समूहका खेल सम्पन्न भएपछि नकआउट चरणका सबै भेटहरू तय हुनेछन्। विश्वकपको नकआउट चरणका खेलहरू आगामी सोमबारदेखि सुरु हुने तालिका छ।










